
२२ असोज २०७७, बिहिवार
अनसनरत डा. गोविन्द केसी र सरकारबीच आज वार्ता हुँदैछ । सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेपछि केसी पक्षबाट चार सदस्यीय वार्ता टोली बनेको हो ।
केसीको पक्षबाट सोलिडारिटी फर गोविन्द केसीका डा. जीवन क्षेत्रीले नेतृत्व गर्दैछन् । सो टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
सरकारी टोलीको वार्ता टोली संयोजककमा शिक्षा सचिव गोपीनाथ मैनाली रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेका छन् ।
डा. केसीले ६ बुँदे माग राखेर गत भदौ २९ गते जुम्लाबाट आमरण अनसन सुरु गरेका थिए । आठौं दिनको दिनमा केसी नेपालगन्ज हुँदै काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका छन् ।
केसीको जीवन रक्षा र सार्थक वार्ताको माग गर्दै चिकित्सक, पेशाकर्मी लगायत नागरिकस्तरबाट समेत दबाब बढिरहेको छ ।