चितवन राष्ट्रिय निकुञ्‍जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई/दुईवटा गैंडा मरेका हुन् । भदौमा मरेको दुई गैंडामध्ये एउटा गैंडा भने चोरी सिकारीका कारण मरेको रामले जानकारी दिए । “यस आर्थिक वर्षमा मरेका पाँच गैंडामध्ये चारवटा गैंडा कालगतिले मरेका छन्,” निकुञ्‍जका सूचना अधिकारी रामले भने, “भदौ १६ गते मरेको गैंडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो गैंडा चोरी सिकारीको कारण मरेको निकुञ्‍जले निष्कर्ष निकालेको छ ।”

चितवन राष्ट्रिय निकुञ्‍जमा यो आव शुरु भएपछि साउन १७ गते पहिलो गैंडा मृत फेला पारेको थियो । त्यसपछि भदौ ६ मा पनि निकुञ्‍जभित्र मृत गैंडा फेला परेको थियो । रामका अनुसार ती दुवै मृत फेला परेका गैंडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेका हुन् । त्यस्तै निकुञ्‍जभित्र भदौ २१ गते पनि मृत गैंडा भेटिएकामा त्यो गैंडा कालगतिले नमरेको रामको भनाइ छ

त्यस्तै असोजमा १६ र १७ गते गरी दुईवटा गैंडा मृत भेटिएका छन् । असोज १६ गते शुक्रबार चितवन राष्ट्रिय निकुञ्‍जको मुख्य क्षेत्र (कोर एरिया) नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को लामीचौरमा रहेको निकुञ्‍जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैंडा मृत अवस्थामा फेला परेको थियो । शुक्रबार भेटिएको मृत गैंडा एक/दुई महिनाअघि मरेका हुनसक्ने अनुमान गरिएको छ । सडेको अवस्थामा भेटिएको उक्त मृत गैंडाको पनि खाग र खुर सुरक्षित भेटिएको रामले बताए ।

त्यस्तै शनिबार मात्रै पनि नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैंडा त्रिवेणीमा भेटिएको छ । गैंडाको पुरानो बासस्थान निकुञ्‍जको मुख्य क्षेत्रबाट सो गैंडालाई नारायणी नदीले बगाएर त्रिवेणी पुर्‍याएको हुनसक्ने सूचना अधिकारी रामले बताए । निकुञ्‍जबाट नदीमा बग्दै गएका अन्य कम्तीमा दुईवटा गैंडा त्रिवेणी क्षेत्रमा छन् । ती बग्दै गएका गैंडाहरु कहिले सुस्तातर्फको उखुबारीमा त कहिले भारतीय क्षेत्रमा आवतजावत गर्ने गरेको निकुञ्‍जले जनाएको छ ।

दुर्लभ जनावर एकसिङ्गे गैंडाको मुख्य बासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्‍ज रहेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनाअनुसार देशभर ६४५ गैंडा रहेकामा चितवन राष्ट्रिय निकुञ्‍जमा मात्रै ६०५ वटा गैंडा भेटिएका थिए । पहिलो गैंडा गणनापश्चात निकुञ्‍ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैंडा मरेका छन् ।

निकुञ्‍जको तथ्याङ्कअनुसार आव ०७४/७५ मा २६ गैंडा मरेका छन् । त्यस्तै ०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैंडा मरेका थिए । चालु आव ०७७/७८ मा पाँचवटा गैंडा मरिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्‍जले गत वर्ष गैंडा गणना गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण गणना प्रभावित भएको थियो । गत वर्ष हुन नसकेको गैंडा गणना यस वर्ष हुने निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । त्यस्तै निकुञ्‍जमा प्राकृतिक कारणले गैंडा मर्न थालेपछि यसको अध्ययनसमेत भइरहेको बरालको भनाइ छ । -रासस

प्रतिक्रिया

सम्बन्धित खवर