१६असाेज २०७७/ गुल्मी र पाल्पाका स्थानीय तहका प्रमुखहरूले दाङको देउखुरीमा प्रदेशको राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णयप्रति खेद प्रकट गरेका छन्।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गुल्मीको भौगोलिक अवस्थाको विचार नगरी प्रदेश सरकारले गरेको निर्णय गुल्मेली जनताको लागि दुर्भाग्य भएको बताए।

‘हाम्रो भावनाविपरीत सरकारले गरेको निर्णय खेदजनक छ, म सबै गाउँपालिकाका बासिन्दाको तर्फदेखि सरकारको उक्त निर्णयप्रति खेद व्यक्त गर्छु,’ थापाले  भने।

त्यस्तै, पाल्पाको रामपुर नगरपालिका अध्यक्ष रमण बहादुर थापाले प्रदेश राजधानी दाङमा लगिए रामपुरको विकास पछाडि धकेलिने बताए।

पाल्पा जिल्लामा रहे पनि रामपुर भौगोलिक हिसाबले समेत अत्यन्त दुर्गम र टाढा रहेकाले दाङ राजधानी बनाइए प्रदेश सरकारसँगको सम्बन्ध टुट्ने बताए।

‘दाङ राजधानी लगियो भने हामीहरू अत्यन्त अप्ठ्यारोमा पर्नेछौं, हाम्रो विकासको गति पछाडि धकेलिने छ,’ उनले भने।

देशको आर्थिक अवस्था चरम संकटमा परेको अवस्थामा रुपन्देहीमा भएका संरचना छोडेर शून्यबाट प्रदेश राजधानीको लागि संरचना तयार गर्ने अहिले समय नभएको उनले बताए।

त्यस्तै, पाल्पाकै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले दाङ राजधानी लैजाने सरकारको निर्णयविरूद्ध गाउँपालिकाहरूले विरोध गर्ने बताएका छन्।

उनले रुपन्देहीदेखि राजधानी सार्नैपर्ने भए कपिलवस्तुसम्म ठीकै भए पनि दाङ आफूहरूको लागि अत्यन्त अपायक र छेउ पर्ने बताए।

रुपन्देहीलाई छेउ भन्नेहरूले नै गुल्मी, पाल्पा र नवलपरासीका पालिकाहरूको भौगोलिक अवस्थाप्रति बेवास्ता गर्दै छेउमा राजधानी बनाउने निर्णय गर्नु गलत भएको उनले बताए

प्रतिक्रिया

सम्बन्धित खवर