१५ असोज २०७७, बिहिवार
कान्तिपुर दैनिक(पत्रपत्रिकावाट)
सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि ! यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो ।’
‘नेपालको आर्थिक वृद्धिदर माइनसमा गएको छैन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले गरेका राम्रा काम नदेखेको र विरोध मात्रै गरेको भन्दै प्रधानमन्त्रीले सञ्चारमाध्यमको आलोचना गरेका हुन् ।

यसअघि पनि पटकपटक सरकारका गलत कामको सञ्चारमाध्यममा समाचार आउँदा मिडिया र सम्पादकहरूमाथि असन्तुष्टि पोखेका उनले यसपटक पनि त्यो कुरा दोहोर्‍याएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारलाई सचेत गराउने र राम्रा कामको प्रशंसा गर्ने भन्दा पनि आलोचना मात्रै गरेको भन्दै सञ्चारमाध्यमप्रति आफ्नो असन्तुष्टि पोखेका हुन् ।

वर्तमान सरकार सञ्चारमाध्यमको विरोधी भएको जसरी प्रचार गरिएको भन्दै ओलीले आफू ५५ वर्ष स्वतन्त्रता, गणतन्त्र, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको पक्षमा, जनता र राष्ट्रको स्वाधिनताका लागि लडेको प्रधानमन्त्रीले बताए । जेलदेखि भूमिगत जीवन आफूले स्वतन्त्रताका लागि व्यतित गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले सञ्‍चारमाध्यममा आएका पछिल्ला रिपोर्टिङतिर संकेत गर्दै भने, ‘एउटा चर्चा चलाउन खोजिएको छ कि अहिलेको सरकार मिडियासँग चर्चा गर्दैंन, दुस्मनी गर्छ । त्यो तपाईंहरूले देख्नुभएको छ । संविधान दिवसका दिन सञ्चारमाध्यममा कत्तिको चर्चा गरिएको थियो ? संविधान दिवस सरकारको विषय मात्रै हो ?’

असोज ३ गते टुँडिखेलमा मनाइएको संविधान दिवसको विषयमा भएका रिपोर्टिङतर्फ उनको संकेत थियो । जहाँ खुलामञ्चमा कोरोनाको कहरले सडकमा आहारा खोज्नेहरू दाताले दिएको खानाले पेट भर्ने बेला आकाशमा संविधान दिवस मनाइरहेको हेलिकोप्टरले फूल फालिरहेको थियो । र, संविधान दिवस मनाउन राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्व आउने हुनाले ती खानाको आशमा पुगेकाहरूलाई सुरक्षाकर्मीले लखेटेका थिए । प्रधानमन्त्रीले उक्त दिनको रिपोर्टिङलाई लिएर असन्तुष्टि पोखेका हुन् ।

त्यस्तै, आफूले भनेका कुरालाई सञ्चारमाध्यम र केही नेताहरूले गलत रूपमा लिने गरेको पनि प्रधानमन्त्रीको गुनासो थियो । उनले भने, ‘हाम्रो देशमा सत्य बोल्यो भने, भएको कुरा गर्‍यो भने कतिपय नेताहरू किन यसो भन्यो भन्छन् ! सही कुरा, इतिहासका तथ्यले प्रमाणित गरेका कुराहरू कतिपयले मलाई सुझाव दिन्छन् ।’

सञ्चार क्षेत्रलाई केही भन्यो भने आफूविरुद्ध लाग्ने गरेको पनि प्रधानमन्त्रीको भनाइ थियो । सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरूमा देखिएको उनले बताए । सरकारलाई सुझाव दिने र सरकारको आलोचना गर्ने सञ्चारमाध्यमले पनि अरूले भनेको सहनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि ! यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो,’ प्रधानमन्त्रीले भने, ‘अलि अगाडि मसँग सञ्चारकर्मीहरू, सम्पादकहरूले भेट्नुभयो । तर, उहाँहरूले मलाई ‘हामीलाई यसो किन भन्नुभयो ?’ भनेर भन्नुभयो । मैले भने तपाईंहरूले दिनरात गाली गर्दा हुन्छ । मैले अलिकति भने भने तपाईंहरू दिनरात गाली गर्ने । मैले किन यसो गर्‍यौ भन्दा सहनुपर्छ भनेर सिकाउने । अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ?’

प्रधानमन्त्रीले थपे, ‘आफूले भनेको भन्यै गर्ने, यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्ने ? मैले अलिकति सुझाव दिएँ भने सहन्नँ भनिहाल्ने ?’

नेपालमा अगाडि बढ्न चाहनेहरूको खुट्टा तान्ने प्रवृति रहेको प्रधानमन्त्रीको भनाइ थियो । बाकसमा रहने भ्यागुताको उदाहरण दिँदै उनले कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृत्ति नेपालमा रहेको बताए ।

सञ्चारमाध्यमको ‘निगाह एकातिर र निशाना अर्कैतिर’ हुन नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

सरकार र सञ्चारमाध्यम ‘गुड अन्डरस्ट्यान्डिङ र गुड फेथ’का साथ अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव थियो । सञ्चारमाध्यमले गल्ती गरेको देखेमा आलोचना गर्न पाउने उनको भनाइ थियो । सञ्चारमाध्यमले गर्नुपर्ने कामबारे उनले भने, ‘जनतालाई सुसूचित गर्ने, सरकारलाई छिटो काम गर्न अभिप्रेरित गर्ने, गल्ती नगर्न खबरदारी गर्ने ।’

सरकारले गल्ती नगर्दा पनि सञ्चारमाध्यमलाई गल्ती भएको भ्रम हुने गरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले सरकारले सही ढंगले सूचना सम्प्रेषण नसक्दा कतिपय तत्वले भ्रम सिर्जना गरेका हुनसक्ने भन्दै समाचार सम्प्रेषणमा सचेतता अपनाउनुपर्ने बताए । उनले कुनै माध्यमले भनेको समाचार जनतामा सही हो भन्ने पार्ने गरी सत्य रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

एक घण्टाभन्दा लामो समय आफ्ना भनाई राखेका प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले सही समाचार दिँदा जनताको विश्वास बढ्ने बताए । उनले मिडियाले उत्पादन, कृषि, समृद्धिका समाचारलाई प्रामथिकताका साथ प्रसारण गर्नुपर्ने सुझाव दिएका थिए ।

आफू ‘म्यान अफ एक्सन’ भएको भन्दै ओलीले विगतमा गरेका रेल, पानीजहाज लगायतका कुरा पूरा हुँदै गएको दाबी गरे । उनले कागजका डुंगा बालुवाटारअगाडि ल्याएर आफ्नो खिल्ली उडाएको पनि स्मरण गराएका थिए ।

पछिल्लो समय सरकारले गरेका उपलब्धिप्रति सबैले गर्व गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले आफू अर्थ र सञ्चारमन्त्री समेत रहेकाले सञ्चारमाध्यमलाई सहयोग गर्त तयार रहेको पनि प्रतिबद्धता जनाए ।

त्यसैगरी, विज्ञापन बोर्डको गठन छिट्टै हुने ओलीले प्रतिबद्धता जनाएका छन् । बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट विज्ञापन बजारको नियमन गरिने गरिने पनि उनको भनाइ थियो ।

‘नेपालको आर्थिक वृद्धिदर माइनसमा गएको छैन’

अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण ठूल्ठूला अर्थतन्त्र तहसनहस हुँदा पनि नेपालको अर्थतन्त्र त्यति तल नपुगेको बताए ।

उनले भने, ‘अहिले कोभिड- १९ को कारणले निकै अप्ठ्यारो स्थितिमा छौं । दुनियाँ नै अप्ठ्यारो अवस्था छ । अमेरिकाको आर्थिक वृद्धिदर माइनस ३२, भारतको माइनस २४, चाइनाको माइनस ७ मा गयो । नेपाल माइनसमा गएको छैन । सन्तोषको कुरा हो ।’

कोरोना भाइरस नियन्त्रणमा आइनसकेकाले अझै चुनौती रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर