१५ असोज २०७७, बिहिवार
अन्नपूर्णपोष्टदैनिक(पत्रपत्रिकावाट)

काठमाडौं : चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल-भारत सीमा विषयमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाईम्सलाई दिएको अन्तर्वार्ता विवादमा परेको छ।

नेपाल-भारत सीमा विवादजस्ता संवेदनशिल विषयमा चिनियाँ सरकारी मुखपत्रलाई विवादित अन्तर्वार्ता दिएर कूटनीतिक अपरिक्कता देखाएको भन्दै राजनीतिक तथा नागरिक तहबाट व्यापक आलोचना भएको छ। कूटनीतिक मर्यादाविपरीत भएको भन्दै विज्ञहरूले त्यसबारे सरकारले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

पाण्डेले ग्लोबल टाईम्सलाई दिएको अन्तर्वार्तामा पाण्डेले भारतीय सञ्चारमाध्यमले नकारात्मक खबर प्रकाशित गरे पनि नेपाल र चीन सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका थिए। पाण्डे पूर्वपरराष्ट्रमन्त्री पनि हुन्।

नेपाल-चीन सीमा क्षेत्रमा पर्ने हुम्लाको नाम्खामा चिनियाँ पक्षले एक पक्षीय रुपमा ११ वटा भवनहरू बनाएको विषय बाहिर आएको बेला राजदूत पाण्डेले दिएको अन्तर्वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाईम्समा गत आइतवार राजदूत पाण्डेको अन्तर्वार्ता प्रकाशित भएको थियो।त्यसमा उनले भारत आफू उपनिवेश भएका बेला पनि नेपाल सार्वभौम देश रहेको भन्दै नेपाल कुनै विचारधारात्मक समूह र शक्तिसँग नढल्किएको उल्लेख गरेका छन्।

उनले भारतीय सञ्चारमाध्यमहरूले पूर्वाग्रह राखेर वा कसैको लहलहैमा लागेर गलत समचार र भ्रामक प्रचार गरिरहेको आशय व्यक्त गरेका थिए। उनले नेपालको चीनसँग कुनै सीमा समस्या नरहेको तर भारतले नेपालको केही भूमि कब्जा गरेको बताएका थिए।

उनले नेपाल र भारतबीचको खुला सीमाका कारण कतिपय अवाञ्छित तत्त्व नेपालमा प्रवेश गरिरहेको र दुई देशको सम्बन्धको विपक्षमा उभिने यथाशक्य प्रयास गरिरहेको उल्लेख गरेका छन्। राजदूत पाण्डेको विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

परराष्ट्रविद् डा. दिनेश भट्टराईले राजदूत पाण्डेको अन्तरवार्ता कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन्। उनले दुवै छिमेकीसँगको सम्बन्ध महत्वपूर्ण र संवेदनशील रहेको बताउँदै भनेका छन् ‘हामीले चीनसँग गएर भारतका कुरा अनि भारतमा गएर चीनका कुरा लगाउने गर्नु हुँदैन। यो सामान्य कुटनीतिक मर्यादा र शिष्टाचारविरुद्ध हुन्छ।’ उनले दुवैतिर केही समस्या रहेको बताउँदै भने, ‘समस्या छन् नभएका हैनन् तर सम्बन्धित देशसँगै कुराकानी गरेर समाधान खोज्नुपर्छ ।

चीनका लागि नेपाली राजदूतले ग्लोबल टाईम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कूटनीतिज्ञको मर्यादा विपरित रहेको कांग्रेसका युवा नेता गगन थापाले बताएका छन्। थापाले राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो होइन भन्ने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस् भनेका छन्।

थापाले ट्‌वीटमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवांछनीय हुन्छ। यतिखेर भारत-चिन,नेपाल-भारत र नेपाल -चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दैगएको छ। यो समयमा राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कूटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ।’

कांग्रेसका अर्का नेता उदय शमशेर राणाले  सामान्य कूटनीतिक मर्यादालाई उपेक्षा गर्दै राजदूत पाण्डेले हलुका अभिव्यक्ति दिएको बताए।  उनले भने, ‘विदेशमा रहेका हाम्रा राजदुतहरुले राष्ट्रिय हितका रुपमा सेवा गर्दै हाम्रो देशको पक्षमा बोल्नुको सट्टा राजदूत भएको देशको पक्षमा बोल्‍नु कूटनीतिक कौशल होइन। यसले सम्बन्धलाई झन् जटिल बनाउँछ।

राणाले एक देशको राजदूत भएर गएको मान्छेले अर्को देशको बारेमा बोल्ने कार्यलाई कुटनीतिक बृत्तमा गैरकूटनीतिक आचरका रुपमा लिने गरिने बताउँदै भने,  ‘जुन देशमा गयो त्यहि देशको राजदूत जस्तो व्यवहार गर्नेकी नेपालको राजदूत भएर बस्ने। उहाँ चीनको राजदूत कि नेपालको राजदूत?

यसअघि पनि हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण भएको विषयमा सरकारले  हतारमा अपरिपक्क प्रतिक्रिया दिएको भन्दै  विज्ञहरुले आलोचना गरेका थिए। फिल्डमा खटिएको टोलीबाट रिपोर्ट नआउँदै सरकारले हतारमा प्रतिक्रिया दिएर दुई देशबीचको सीमाजस्तो संवेदनशील मामिलामा अपरिपक्कता प्रदर्शन गरेको आरोप लगाएका छन्।

हुम्लाको नाम्खामा  चीनले नेपाली भूमी मिचेर ११ भवनहरु निर्माण गरेका खबर बाहिर आउनसाथ  सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  त्यसको खण्डन गर्दै चीनले सिमा नमिचेको प्रतिक्रिया दिएका थिए। काठमाडौंमा परराष्ट्रमन्‍त्रीले चीनले सिमा नमिचेको दाबी गरिरहँदा हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोली स्थलगत अध्ययन गरिरहेको थियो। फिल्डबाट वास्तविक एवं आधिकारिक रिपोर्ट नआउँदै परराष्ट्रमन्‍त्रीले हतारमा प्रतिक्रिया दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर