बुधबार, अशोज १४, २०७७

काठमाडौँ– सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो । शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाए । शिम्रन हिटमायरले २१ रन जोड्दा कप्तान श्रेयस आयरले १७ रन बनाए । कागिसो राबडा १५ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ विकेट झारे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए । अब्दुल समाद १२ रनमा अविजित रहदा मनिस पाण्डे ३ रनमा आउट भए । दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २र२ विकेट लिए । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ ।

छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । तर, तीन खेलमा सन्दीपले मौका पाएका छैनन् । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।

अघिल्ला दुई खेलमा दिल्ली अपराजित रहेको थियो । दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र कोलकाता नाइडराइडर्स भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर