१० असोज २०७७, शनिवार

शनिवारबाट अभिनेत्री निरुता सिंह उमेरले ४८ वर्षकी भएकी छन् । सन् १९७२ सेप्टेम्बर २६ तारिखका दिन भारतको, दार्जिलिङमा जन्मिएकी उनले एक समय नेपाली चलचित्रमा एकलौटी राज गरेकी थिइन् । तुलसी घिमिरे निर्देशित चलचित्र ‘दक्षिणा’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । पहिलो चलचित्र नै सफल भएपछि उनी सर्वाधिक डिमान्डेड अभिनेत्री बनेकी थिइन्  । तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छाँया’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनको ‘मनमन्दिर’, ‘बन्धकी’, ‘दुई किनारा’, ‘आमाको काख’, ‘आफन्त’, ‘माइली’, ‘सन्तान थरी थरीका’, ‘ठुल्दाई’, ‘अजम्बरी नाता’, ‘नाता रगतको’, ‘लहना’ लगायत दर्जनौं चलचित्र सुपरहिटको सूचीमा छन् ।

नेपालमा जन्मिएर नेपाली भएर बाँच्न पाउने सौभाग्य आफूले नपाए पनि नेपालप्रति आफ्नो अटुट माया रहेको उनी बताउँछिन् । तर, भारतमा जन्मिएका कारण आफूले भोग्नु परेको तिरस्कारले चित्त दुख्ने गरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘भारतको स्वतन्त्रता दिवसको दिन सामाजिक सञ्जालमा केही पोस्ट गर्दा ‘यो धोतिनी हो त्यसैले इन्डियाको समर्थन गर्छ’ भन्दा साह्रै चित्त दुख्छ ।’

हिन्दी गीतमा टिकटक बनाउँदा समेत भारतीय भन्दै आफ्नो खेदो खनिने उनी गुनासो गर्छिन् । निरुता अगाडि भन्छिन्, ‘भारतमा बस्दा हामीलाई नेपाली भन्ने गर्छन् । नेपाल आए भारतीय भन्छन् । हामी के गर्ने ? हामी कसरी बाँचिरहेका छौं भन्ने कुरा हामीलाई मात्र थाहा छ । भारतीय नागरिक भएकाले भारतको विरुद्धमा बोल्न पनि सक्दैनौं । यो कुरा किन बुझ्न नसकेका होलान् र ?’

प्रतिक्रिया

सम्बन्धित खवर