८ असोज २०७७, बिहिवार

दुई दशक अघिसम्म सुनसान अबस्थामा रहेको सिन्धुली जिल्लाको गोलन्जोर गाउपालिका–७ स्थित खुर्कोट बजार पछिल्लो समयमा काँचुली फेर्दै गएको छ ।

 

खुर्कोट बजार हुदै बीपी राजमार्ग र मध्य पहाडी लोकमार्ग निर्माण भई नियमित यातायातका साधन सञ्चालन भएपछि उक्त बजारले काँचुली परेको स्थानीयको भनाई छ । “पहिलोको खुर्कोट र अहिलेको खुर्कोटमा आकास जमिनको फरक छ,” गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले भन्नुभयो, “खुर्कोटमा अहिले निकै चहलपहल बढेको छ ।”

खुर्कोट व्यापारिक केन्द्र बन्दै गएपछि बैंकहरुले पनि आफ्नो शाखा बिस्तार गरी स्थापना गरेका जानकारी दिदै उहाँले भन्नुभयो, “यसले बित्तिय कारोबार गर्न स्थानीयलाई धेरै सजिलो भएको छ । पहिले बैंकिङ कारोबार गर्न सदरमुकाम सिन्धुलीमाढी र रामेछापको सदरमुकाम मन्थली जानु पर्ने बाध्यता थियो । अहिले स्थानीय स्तरमा नै त्यो सुविधा उपलब्ध छ ।”

चौबिसैं घण्टा यातायातको सुविधा उपलब्ध भएपछि दिनदिनै ठूला होटल एण्ड रेष्टुरेन्ट खुल्दै गएको स्थानीय बान्दिा बताउछन् । “पहिले एक छाक भात खान पनि राम्रो होटल पाईदैनथ्यो,” स्थानीय कृष्णबहादुर राई भन्नुहुन्छ, “अहिले कुन होटलमा कति बेला कस्तो खाना खाने ? खल्तिमा पैसा मात्रै हुनु पर्छ, छानीछानी खान पाईन्छ ।”

खुर्कोट बजार आर्थिक हिसाबले अब्बल बन्दै गएपछि पछिल्लो सममा बित्तिय संस्थाहरु स्थापना हुने क्रम बढेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार खुर्कोट बजारमा पछिल्लो समयमा अस्पताल स्थापना, विभिन्न सरकारी कार्यालयको स्थापना हुदै गएका छन् । पहिले स्वास्थ्य, शिक्षा, सूचना, बिजुली, सडक लगायत मानिसले पाउने न्युनतम सुविधा पाउन मुस्किल पर्ने खुर्कोट बजारमा अहिले त्यो सुविधा बिस्तार हुदै गएको छ ।

स्थानीय बासिन्दाका अनुसार निर्माणाधिन मध्यपहाडी लोकमार्गले छोएका देशका १० स्थानलाई साना सहरको रुपमा विकास गर्ने सरकारी योजना अन्तर्गत खुर्कोट बजार सुविधा सम्पन्न सहर र प्रमुख व्यापारिक केन्द्र बन्दै गएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागले खुर्कोटलाई साना सहरको रुपमा विकास गर्न गुरु योजना निर्माण गरी काम सुरु गरेसँगै पूर्वाधार निर्माणले तीब्रता पाएको नयाँ सहर आयोजना कार्यालय खुर्कोटले जनाएको छ । कार्यालयका अनुसार भित्रि सडकहरु निर्माण, खेल मैदान, रिङ रोड निर्माण, शहरी विकासको भवन, लाईब्रेरी, सभागृह भवन, सौर्य बत्ति जडान, फन पार्क, जग्गा एकिकरण विकास लगायतका पूर्वाधारको काम भई रहेको छ ।

“२०७० सालदेखि खुर्कोटलाई साना सहरको रुपमा विकास गर्न सुरु गरिएको हो,” उक्त वडाका अध्यक्ष सुवास देवकोटाले भन्नुभयो, “६४५ रोपनी जग्गालाई एकिकरण गरि विकास गर्ने कार्य भई रहेको छ । अहिले खुर्कोटको स्वरुप नै फेरिएको छ ।” खुर्कोट नयाँ सहरको रुपमा विकास भएसँगै ठाँउ छाडेकाहरु पुनः फर्केर आउन थालेका उहाँको भनाई छ ।

गाँउपालिकाका अध्यक्ष कार्कीका अनुसार २० बर्षभित्र खुर्कोटलाई नयाँ सहरको रुपमा विकास गर्ने सरकारी लक्ष्य छ । “खुर्कोटमा बसाई सरी आउने क्रम ह्वात्तै बढेको छ,” उहाँले भन्नुभयो, “प्रस्तावित नयाँ सहरमा एक लाख जनसङ्ख्या अट्न सक्ने गरी पूर्वाधार निर्माण हुने बताईएको छ ।” नयाँ सहर अन्तर्गत खुर्कोटमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल, शिक्षण संस्थाहरु, व्यवस्थित बसपार्क, खेलमैदान, कबर्डहल, खानेपानी, भित्री सडक, बैंक, अन्य वित्तिय संस्थाहरुको स्थापना लगायतका पूर्वाधार निर्माण हुने उहाँको भनाई छ ।

खुर्कोट सुविधा सम्पन्न सहर बन्ने क्रमसँगै यस क्षेत्रमा अन्य क्षेत्रबाट बसाँई सरी आउने र घरघडेरी किन्नेदेखि व्यवसाय सञ्चालनका लागि योजना बनाउनेहरुको सङ्ख्यामा समेत बृद्धि हुन थालेको स्थानीय बासिन्दा शरद आचार्य बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सहरीकरणको प्रकृया थालिएसँगै यहाँको जग्गाको मूल्यमा समेत निकै बृद्धि भएको छ । यहाँ नीजि क्षेत्रको समेत लगानी थपिदै गएको छ । ”

सिन्धुली साैगातवाट

प्रतिक्रिया

सम्बन्धित खवर