७ असोज २०७७, बुधवार

पोर्चुगलको दक्षिणी भेकका किसान जोसे सान्तोषले ६ सय १० किलोको फर्सी फलाए । त्यसले नेपाली कामदारलाई तनाव भएको छ । संसारैभरीको फर्सी प्रतियोगितामा भाग लिने गरी सान्तोषले फर्सीको रेखदेख गरेका छन् । तौल बढ्न अझ केही समय बाँकी छ । तीन महिनासम्मको आयू भएको यो फर्सी ७ सय किलो पुग्ला भन्ने अनुमान छ । दिनहुँ तौल लिइरहेका जोजेले दिनको ५ किलोको दरले तौल बढिरहेको बताए ।

उनी अल्बुफेराको एक रेष्टुरेन्टमा बारम्यानको रुपमा जागिरे छन् । फूर्सदका बेला खेतीपाती गर्छन् । खेतीपातीबाट पनि उनलाई वर्षेनी आम्दानी हुन्छ । पोहोर पोर्तोको परेड शहरमा भएको फर्सी प्रतियोगितामा उनको ४५० किलोको फर्सीले पुरस्कार पाएपछि यसवर्ष पनि उनले उन्नत जातको बीउ किनेर फर्सी रोपे । फर्सी फल्दै गए । त्यसमध्ये तीनवटा फर्सी जंगी निस्किए ।

तीनवटा फर्सीको उनले न्वारान पनि गरिदिए । लौरिन्दा, तेरेजा र इजिदोरा भनेर । आफ्नी श्रीमती, आमा र सासू आमाको नामबाट फर्सीको नाम राखे । साँच्चिकै स्याहार सुसार गरे । नियमित स्याहार सुसार गर्दा लौरिन्दा ५४० किलोकी भइन्, तेरेजा ५५० किलोको भने इजिदोरा ६१० किलोको ।

यसपटक पनि उनी फर्सी प्रतियोगितामा भाग लिन उत्तरी शहर पोर्तो जानेछन् । डोजर लगाएर गाडीमा हालेर फर्सी पोर्तो पुग्नेछ । पोर्तोमा हुने प्रतियोगितामा प्रथम हुनसके उनी अन्तर्राष्टिय स्तरको फर्सी प्रतियोगितामा पनि सामेल हुनेछन् । संसारैभरी बढि तौलको हुन सके १० हजार अमेरिकी डलरको इनाम पाइन्छ ।

तर यो खबरले भने खेतीमा काम गरिरहेका किसानहरुलाई तनाब दिएको छ । ठूला ठूला फर्सी बोकेर तिनलाई ठेगान लगाउने काम नेपाली श्रमिकहरुले गर्छन् । एकजना वागलुङका युवा श्रमिक त्यहि फर्सी बोक्दाबोक्दै नराम्ररी ढाड सड्केर बिस्तारामा उपचार गराइरहेका छन् । डाक्टरले स्पाइनल कर्ड इन्जूरी भएको भनेको छ ।

“कम तौल फलेका ४० किलोका फर्सी दिनको आठ आठ घण्टा बेस्सरी बोक्न परेपछि श्रमिकको गति के होला ? कहिले कहिले सानो मानेर उचाल्न खोज्यो, ज्यानजाला सकिन्न”म्याग्दीका थमन पूर्जाले भने ।

“फल्न पनि के साह्रो फलेका हुन् जेमराजहरु । बुल्डोजरले उचाल्न पर्ने पो फल्न थाले । मार्ने भयो यो फर्सीले पनि” टेलीभिजनमा फर्सीको खबर हेरिरहेका उनको भनाइ थियो ।नेपालप्लस अनलाईनवाट

प्रतिक्रिया

सम्बन्धित खवर