कर्णालीका जनताले डाक्टरको अनुहार देख्न ठूलै संघर्ष गर्नुपर्छ : डा. प्रकाश बुढाथोकी, उपचारात्मक सेवा महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभाग

२०७७ असोज ६ मंगलबार(नयाँ पत्रीका दैनिक )

राष्ट्रिय अनुपातमा कर्णालीको औसत आयु ६ वर्ष र प्रतिव्यक्ति आय आधा कम छ, राष्ट्रिय औसतमा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर हजारमा ३९ छ भने कर्णालीमा ५८


चिकित्सा शिक्षा सुधारसहितका विभिन्न माग राख्दै डा. गोविन्द केसीले अहिले र यसअघिको सत्याग्रह कर्णालीमा थाल्नुको कारण थियो– स्वास्थ्यका अधिकांश सूचकांकमा पछाडि रहेको कर्णालीका समस्यामाथि राज्यको आँखा परोस् । र, कर्णालीवासीका स्वास्थ्य समस्याप्रति सरकार गम्भीर बनोस् । उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पु¥याएर तत्काल एमबिबिएसलगायतका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने प्रमुख माग नै बनाएका छन् ।

कर्णालीमा कुल प्रजनन दर (प्रतिमहिलामा जीवित जन्म हुने बच्चाको संख्या) दुई दशमलव आठ छ । नवजात शिशुको मृत्युदर (जन्मेको २८ दिनभित्र) प्रतिहजारमा २९ छ । शिशु मृत्युदर (जन्मेको एक वर्षभित्र) प्रतिहजारमा ४७ छ । पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा ५८ छ । त्यस्तै, उमेरअनुसार उचाइ नपुगेका (पुड्का) पाँच वर्षमुनिका बालबालिका ५५ प्रतिशत छन् । अस्पतालमा सुत्केरी हुने महिला ३६ प्रतिशत मात्रै छन् । दक्ष स्वास्थ्यकर्मीसँग गर्भवती सेवा पाउने १५ देखि ४९ वर्षका विवाहित महिला ७३ प्रतिशत र सबै आधारभूत खोप पाउने बालबालिका ७५ प्रतिशत मात्रै छन् । राष्ट्रिय औसत आयु ७१ प्रतिशत हुँदा कर्णालीका बासिन्दाको औसत आयु ६५.६ वर्ष मात्रै छ ।

यस्तो दयनीय स्वास्थ्य अवस्था रहेको कर्णालीमा डाक्टरहरूको दरबन्दी भने ६१ जनाको मात्रै छ । तीमध्ये पनि कार्यरत ३३ जना मात्रै छन् । उनीहरू पनि परेको वेला जिल्लामा भेटिँदैनन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त निकाय भएकाले त्यहाँ कार्यरत चिकित्सकको संख्या स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छैन । प्रतिष्ठानमा १५ विशेषज्ञ चिकित्सक र २९ जना अन्य मेडिकल डाक्टर कार्यरत छन् ।

कर्णालीका दश जिल्लामा प्रादेशिकदेखि जिल्लासम्मका गरी १५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र तीन सय ३६ स्वास्थ्य चौकी छन् । त्यस्तै, प्रदेशस्तरमा एक, जिल्लास्तरमा नौ र स्थानीय तहमा १८ वटा आयुर्वेद औषधालय छन् । देश संघीय संरचनामा गएपछि ७७ वटै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गरिएकाले तिनीहरूको संख्या र अवस्थाबारे स्वास्थ्य मन्त्रालय अनभिज्ञ छ ।

विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्याका लागि एकजना चिकित्सक हुनुपर्ने मापदण्ड बनाएको छ । तर, कर्णालीमा २२ हजार जनसंख्याको भागमा एक चिकित्सक पर्छ । प्रदेशमा १७ लाख ६९ हजार जनसंख्या छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार नौ सय ७८ चिकित्सकको दरबन्दी छ । तर, करिब एक हजार चार सय चिकित्सक मात्रै कार्यरत छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा कम दरबन्दी कर्णालीमा छ । नेपाल मेडिकल काउन्सिलको रेकर्डअनुसार देशमा २६ हजार तीन सय ४६ चिकित्सक उत्पादन भएका छन् ।

नेपाल चिकित्सक संघका पूर्ववरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलका अनुसार देशमा हाल करिब १५ हजार चिकित्सक सक्रिय छन् । उनीहरूमध्ये १४ सयको संख्यामा मात्रै सरकारी सेवामा छन् । बाँकी चिकित्सक प्रतिष्ठान, निजी अस्पतालसँग आबद्ध भएको उनले बताए । ‘देशभर कार्यरत चिकित्सकमध्ये पनि ८० प्रतिशत काठमाडौं, विराटनगर, भरतपुर, धरान, पोखरालगायतका सहरमा मात्रै छन् । २० प्रतिशत चिकित्सकले मात्रै दुर्गमका करिब १ करोड जनतालाई सेवा दिइरहेका छन्,’ डा. पौडेलले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा.मंगल रावलले एमबिबिएससहित सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न सकेमा प्रतिष्ठानलाई नमुना बनाउन सकिने बताए । ‘स्वास्थ्य क्षेत्रमा अहिले पनि निकै पछाडि परेको छ कर्णाली । तर, विगतमा भन्दा केही अगाडि पनि बढेको छ,’ उनले भने । प्रतिष्ठानलाई हाल चिकित्सा शिक्षा आयोगले एमडी÷एमएसको तीनवटा सिट दिएको छ । यसै वर्षबाट पठनपाठन सुरु हुने डा. रावलले बताए ।

कर्णालीका जनताले डाक्टरको अनुहार देख्न ठूलै संघर्ष गर्नुपर्छ : डा. प्रकाश बुढाथोकी, उपचारात्मक सेवा महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभाग

कर्णाली प्रदेशका जिल्लामा चिकित्सक नभएपछि त्यहाँको नेतृत्व कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानका विशेषज्ञ चिकित्सक गएर जिल्लामा शल्यक्रियासहितको सेवा दिँदै आएका छन् । कर्णालीमा चिकित्सकको पहुँच सजिलो छैन । कर्णालीका जनताले चिकित्सकको अनुहार देख्न ठूलै संघर्ष गर्नुपर्छ । काठमाडौं र हुम्लामा बस्ने चिकित्सकको सेवा–सुविधा एउटै भएपछि चिकित्सक दुर्गम जान मानेका छैनन् । विगतमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि अवसर पाउने भएकाले दुर्गम जान चिकित्सकले नै मरिहत्ते गर्थे । तर, चिकित्सा शिक्षा आयोगले विशेषज्ञ चिकित्सक अध्ययनका लागि ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिकको व्यवस्था गरेपछि चिकित्सक दुर्गम जान छाडे । जब कि बढी नम्बर पाइन्छ भनेर तिनै चिकित्सकले विगतमा दुर्गम रोज्थे । खुला प्रतिस्पर्धामार्फत पढ्न पाउने भएपछि सरकारी चिकित्सक सुगममै बस्न थाले । कर्णालीमा चिकित्सकको पहुँच बढाउन तीन तहको सरकारले सोच्नुपर्छ । कर्णाली दुर्गम हो, त्यहाँका जनतालाई उच्चस्तरको स्वास्थ्य सेवा दिनुपर्छ भन्ने सोच्न जरुरी छ ।

……

जुम्ला छाडेका डा. केसी नेपालगन्जमा 

आज काठमाडौं आउँदै, अनशन जारी

डा. केसी नेपालगन्जस्थित भेरी अस्पतालमा

स्वास्थ्य सेवा सुधारको माग गर्दै आठ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी ‘हिंसाको भय’ले काठमाडौंका लागि प्रस्थान गरेका छन् । सोमबार नेपालगन्ज आएका डा. केसी मंगलबार काठमाडौं पुग्दै छन् । उनलाई भेरी अस्पतालको आइसियूमा राखिएको छ ।

सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा. केसीलाई भेरी अस्पतालमा राखिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । मंगलबार साढे ११ बजेको उडानबाट काठमाडौं पुग्ने योजना छ ।

डा. केसीले सत्याग्रह काठमाडौंमा पनि जारी राख्ने जनाएका छन् । उनले भनेका छन्, ‘राज्यले हिंसा र आक्रमण गर्न सक्ने लागेर सत्याग्रहलाई निरन्तरता दिने योजनासहित जुम्लाबाट काठमाडौं जान लागेको छु ।’ दुई वर्षअघि असारमा पनि उनी जुम्लामा सत्याग्रहमा बसेका थिए । सत्याग्रहमै रहेको वेला ४ साउन ०७५ मा सरकारले बलजफ्ती काठमाडौं लगेको थियो ।

डा. केसीले काठमाडौं नजाने अडान लिएका थिए भने स्थानीय बासिन्दा र विद्यार्थी उनको समर्थनमा उभिएका थिए । जसले गर्दा स्थानीय प्रशासनले बल प्रयोग गरेपछि विद्यार्थी र स्थानीय बासिन्दा घाइते भएका थिए भने अस्पतालमा तोडफोडसमेत भएको थियो । ‘यसपटक त्यस्तो अवस्था आउन नदिन डा. केसीले काठमाडौं जाने निर्णय लिनुभएको हो,’ उनका सहयोगी हिमालय कार्कीले नयाँ पत्रिकासँग भने ।

अनशन बसेको आठ दिन भए पनि डा. केसीका मागका विषयमा सरकारले सरोकार राखेको छैन । ‘स्वास्थ्यकर्मीले उहाँको स्वास्थ्य र प्रशासनले उहाँको सुरक्षाको विषयमा सकारात्मक चासो राखेका छन् । तर, मागका विषयमा सरकारबाट कुनै सरोकार राखिएको हामीलाई जानकारी छैन,’ कार्कीले भने ।

डा. केसी २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मष्टो मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिन थालेपछि स्थानीय प्रशासनले शनिबार राति धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सारेको थियो । उनले यसको विरोध गरेका थिए । आइसियूमा राखिएका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको थियो । प्रदेश र संघीय सरकारमाथि उनलाई काठमाडौं लग्न दबाब पर्दै आएको थियो भने स्थानीय सरकारले पनि त्यहीअनुसार पहल बढाएको थियो ।

डा. केसीको स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकको निगरानीमा भेरी अस्पतालमा राख्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । आइसियूमा राखिएका डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून देखिएको चिकित्सकले बताएका छन् । जसले गर्दा उनको शरीरका प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने खतरा चिकित्सकले औँल्याएका छन् ।

आयल निगम, वाइडबडी जहाज, सेक्युरिटी प्रेस, दरबारमार्गको जग्गा, ओम्नीको औषधि खरिदलगायतका विषयमा भएका भ्रष्टाचारका विषयमा दोषीलाई कारबाही गर्न उनको माग छ । त्यस्तै कर्णाली र राप्तीका स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेजलाई व्यवस्थित बनाई सञ्चालन गर्न उनले माग गरेका छन्  । त्यस्तै प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न पनि सरकारसँग माग राख्दै उनी सत्याग्रहमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर