कुमार राउत ( राजधानी दैनिकबाट) बाबा ! मैले त स्कुल जाने बाटो नै बिर्सिसकें । साथीहरू र शिक्षकको अनुहार बिर्सिसकें । स्कुल कहिले खुल्छ ? अनलाइन कक्षा सकिनेबित्तिकै छोरीले प्रश्न गरिन् ।

छोरी ! समय नै यस्तो छ, के गर्ने त ? अनलाइनमा आँखा तानीतानी पढ्दा थाकेकी र साथीहरूसँग उफ्रिएर रमाउन नपाउँदा आत्तिएकी छोरीलाई मैले सम्झाउने कोसिस गरें ।


छोरीका प्रश्नले मेरो मथिंगल झनझनायो । कोरोनाको महामारीको कारण लकडाउन भएर स्कुलहरू महिनौदेखि बन्द छन् । लाखौं विद्यार्थी अन्योलमा छन् । विद्यार्थीहरूलाई स्कुल बोलाउने हिम्मत कसैले जुटाउन सकेका छैनन् । विद्या आर्जनका लागि विद्यार्थी स्कुलमा अनिवार्य रूपमा उपस्थित हुनुपर्दछ । स्कुल होटल रेस्टुरेन्ट, मल, सैलुन, पार्लरजस्तो गए पनि हुने र नगए पनि हुने स्थान होइन । विद्यार्थी जम्मा हुने थलो भएकाले संक्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित मनोविज्ञानमा रहेका छन् । स्कुल खोल्ने र सञ्चालन कसरी गर्ने भन्ने विषयले शिक्षक, विद्यार्थी, अभिभावक, स्कुल सञ्चालक, समुदाय र सरकारलाई अनिदानीय पीडा दिएको छ ।

विद्यार्थीको पीडा : कोरोनाको संक्रमणले च्याप्दै ल्याएपछि देशव्यापी लकडाउन भयो । कक्षा चढ्न परीक्षाहरू मुखैमा आएका थिए । विद्यार्थीहरू परीक्षाको तयारीमा थिए । शैक्षिक संसारमा अनिश्चितताको बादल लामो समयसम्म लागिरको छ । स्कुल बन्द छन् । घरपरिवार समाज कठिन मोडमा खडा छ । त्यसको प्रभाव पनि विद्यार्थीमाथि परेको छ । लामो समय घरभित्र बस्नुपर्दा विद्यार्थीले स्कुलको जीवन सम्झनु स्वाभाविक हो । स्कुलमा गएर सिकेको शिक्षा दिगो पनि हुन्छ । विद्यार्थी साथीहरूसँग खेल्दा र रमाउँदा मानसिक रूपमा स्वस्थ र पढ्न उत्पे्ररित पनि हुन्छन् । स्कुलहरू बन्द भएकाले पाँच वर्षदेखि २१ वर्ष उमेर समूहका विद्यार्थी घरभित्र सीमित भएर बसेका छन् ।

शिक्षकको पीडा : संक्रमणको भयले स्कुलहरू बन्द भएपछि सरकारले दीर्घकालीन सोचबिना अभिभावकलाई स्कुलको फी नतिर्नु भन्यो । सरकार वा सामुदायिक विद्याालयमा पढाउने अभिभावकले विद्यालयको शुल्क खासै बुझाउनुनपर्ने भएकाले त्यसको असर पनि शून्य रह्यो । सामुदायिक स्कुलका शिक्षकले तलबभत्ता महिनैपिच्छे पाइरहे । तर, निजी विद्याालयका अभिभावकलाई छोराछारीको फी तिर्नुपर्छ भन्ने हुँदाहुँदै पनि सरकारले भनेको भनेर उनीहरूले बितेको शैक्षिक सत्रको फी पनि नतिरिकन बसेका छन् । त्यसको असर सोझो रूपमा निजी विद्यालयमा पढाउने शिक्षकमाथि प¥यो । शिक्षकहरूले ५÷६ महिनादेखि तलब पाएका छैनन् । विद्यालय सञ्चालक विद्यार्थीले बुझाएपछि दिउँला भन्दै टारिरहेका छन् । अहिले शिक्षकको दैनिक गुजरा नै जोखिममा परेको छ । सरकारी स्कुलका शिक्षकले तलब पाउने र निजी विद्यालयका शिक्षकले तलब नपाएको असमान विषयमा सरकार भने मौन छ ।

सरकारको अलमल : सरकारले वैकल्पिक शिक्षण विधिको रूपमा सूचना प्रविधि अवलम्बन गरेर विद्यार्थीलाई पढाउने व्यवस्था मिलायो । एसईईको नतिजा प्रकाशित ग¥यो । स्कुलको मूल्यांकनको आधारमा विद्यार्थीहरू कक्षा चढे । ११ को परीक्षा स्कुललाई लिने भन्यो । भारत सरकारले पनि जुन महिनामा नै विद्यार्थीहरूले सामान्य अवस्थामा पढ्ने पाठयक्रमको भार २० प्रतिशतले कम गरेर विद्यार्थीहरूलाई हल्का बनायो । ११÷१२ कक्षाको नतिजा प्रकाशित ग¥यो । तर, हामी शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यक्रम, विद्यार्थी र शिक्षकको बारेमा नीतिगत रूपमा स्पष्ट हुन र १२ को परीक्षा कसरी गर्ने वा गर्ने कि नगर्ने टुंगोमा पुग्न र अनलाइन पढाइलाई मान्यता कसरी दिने भन्ने विषयमा स्पष्ट हुन सकेका छैनौं । १ र ११ मा भर्ना गर्न पनि अलमलिएका छांै ।

अनलाइन र दूरशिक्षाको प्रभावकारिता : १ असार २०७७ बाट स्कुल नगइकन रेडियो टेलिभिजनबाट दूरशिक्षा र अनलाइन कक्षा चलाउने व्यवस्था आरम्भ भएको छ । घरभित्र बस्दाबस्दा आत्तिएका विद्यार्थीलाई अनलाइन पढाइ वा दूरशिक्षाले केही राहत दियो । सरकारी र निजी स्कुल कलेजले नयाँ शैक्षिक सत्रका लागि पनि पढाइ प्रारम्भ गरे । विद्यार्थीहरू अनलाइन र दूरशिक्षाको माध्यमबाट पढने कोसिस गरिरहेका छन् । २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ५१ प्रतिशतको रेडियोमा, ५६ प्रतिशतको टेलिभिजनमा र ५५ प्रतिशत जनसंख्याको मोबाइल फोनमा पहुँच पुगेको थियो भने ३ प्रतिशत जनसंख्या मात्र इन्टरनेट सुविधामा आबद्ध थिए । रेडियो प्रयोगकर्ता गाउँमा ५० प्रतिशत र सहरमा ५४ प्रतिशत थिए भने टेलिभिजन प्रयोगकर्ता गाउँमा ४१ प्रतिशत र सहरमा ११४ प्रतिशत रहेका थिए ।

यसैगरी, मोबाइल फोन प्रयोगकर्ता गाउँमा ६० प्रतिशत र सहरमा ८४ प्रतिशत रहेको थियो भने इन्टरनेट प्रयोग गर्ने जनसंख्या गाउँमा ४ प्रतिशत र सहरमा १३ प्रतिशत मात्र थियो । १५औं योजनाले आर्थिक वर्ष २०७५÷७६ सम्ममा विद्युत् सेवा पुगेको जनसंख्या ८८ प्रतिशत र इन्टरनेट सुविधा पुगेको जनसंख्या ६६ प्रतिशत रहेको देखाएको छ । यसबाट अनलाइन र दूरशिक्षामा विद्यार्थीको पहुँच कम रहेको स्पष्टै देखिन्छ । सहरको तुलनामा ग्रामीण, धनीको तुलनामा गरिब, निजी विद्यालयमा पढ्ने विद्यार्थीको तुलनामा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको अनलाइन शिक्षा र दूरशिक्षामा पहुँच कम छ । यसले भविष्यमा शिक्षा आर्जनमा ठूलो असमानता ल्याउने जोखिम देखिएको छ ।

रेडियो, टेलिभिजन, मोबाइल फोन र इन्टरनेटमा पहुँच बढ्दै गएको भए पनि शैक्षिक गतिविधि चलाउन ती साधनको गुणस्तर पनि उचित हुनुपर्दछ । गाउँदेखि सहरसम्मका निम्नवर्गका जनता एउटै कोठा, कोठा नभएको घरमा ५÷६ जना बस्ने, सँगै टेलिभिजन हेर्ने पढ्ने गरेका हुन्छन् । गरिब विद्यार्थीका लागि दूरशिक्षा वा अनलाइनमा पढ्ने वातावरण छैन । सबै परिवारसँग स्मार्ट मोबाइल पनि छैन । शिक्षाविद्हरू अनलाइन दूरकक्षाको गुणस्तरको हिसाबमा हेर्ने हो भने केवल एक तिहाइ विद्यार्थीले मात्र सिक्न सकेको राय प्रस्तुत गर्दछन् ।

सामान्यतः पाँच वर्षदेखि १७ वर्ष उमेर समूह स्कुले उमेर हो अभिभावक शिक्षकले पढ् भनेर उत्पे्ररित गर्दा पनि पढ्नभन्दा साथीसँग खेल्न रमाउने उमेर हो । मोबाइल, टिभी र सामाजिक सञ्जालले किताब पल्टाउन नै मन नलाग्ने गरी विद्यार्थीलाई भड्काएको छ । घरमा थुनिएर बसेका छोराछोरीलाई बाबुआमाले पढ्पढ् भनेर धेरै कर गर्न सक्ने अवस्था पनि छैन । बाबुआमाको रोजगारी टुटेको र आयआर्जन रोकिएको अवस्थाामा तत्कालै ल्यापटप, रेडियो र टिभी किन्न सक्ने ल्याकत पनि छैन । विद्यार्थीलाई अनलाइन कक्षा र दूरशिक्षामा केन्द्रित गराउन हम्मेहम्मे परिरहेको छ ।

निजी स्कुलहरूले वैशाखदेखि अनलाइन पढाइ सुरु गरेका थिए । निजी स्कुलले चलाएका अनलाइन कक्षाको पहुँच करिब ७०-८० प्रतिशत विद्यार्थीसम्म पुगेको र गुणस्तर पनि राम्रो भएको अनुमान रहेको छ । शैक्षिक सत्रको कोर्स नै सक्न लागेको विद्यार्थी सुनाउँछन् । तर, सरकारी शिक्षकमा देखिएको उदासीनताले सामुदायिक स्कुलको अनलाइन पढाइले गति लिन सकेको छैन । करिब ३ लाख ५० हजार सरकारी शिक्षकमध्ये केवल ३० प्रतिशत शिक्षक मात्र अनलाइन पढाइमा संलग्न रहेको शिक्षाविद्हरूको अनुमान छ । सरकारी शिक्षकको उदासीनता अस्वीकार्य छ भने अनलाइन र दूरकक्षा चलाएर ढुक्क हुने अवस्था छैन ।

शैक्षिक सत्रको संरक्षण
कोरोना कोभिड–१९को संक्रमण विश्वलगायत नेपालमा पनि उच्च दरमा बढिरहेको छ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास संस्थाले कोरोना संक्रमणको अवस्थालाई आशावादी चरण, मध्यवादी चरण र निराशावादी चरण गरी तीन भागमा बाँडेको छ । आशावादी चरण भनेको खोपको आविष्कार र प्रयोगको अवस्था, जहाँ सबै निर्धक्क हिँडडुल गर्न सक्दछन् । दोस्रो, मध्यवादी चरण भनेको खोपको अनुसन्धान भइरहेको र संक्रमणको तीव्रता धिमा भएको र तेस्रो निराशावादी चरण कोरोना संक्रमण उच्च दरमा फैलिएको अवस्था हो ।

शैक्षिक सत्र लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो । हामी निराशावादी चरणमा स्कुल खोल्ने कल्पना पनि गर्न सक्दैनौं भने आशावादी चरणमा स्कुल खोल्न केहिले पनि रोकेको हुँदैन । महामारीको संक्रमण तीव्र भइरह्यो भने स्कुल कलेज बन्द गरेर शैक्षिक सत्र नै गुजार्नुपर्ने अवस्था नआउला पनि भन्न सकिन्न । अहिले विश्व संक्रमणको मध्यवादी चरणमा छ । लकडाउन खुकुलो भएसँगै मानिसहरू मास्क लगाएर, सामाजिक दूरी कायम गरेर, हातमा स्यानिटाइजर दलेर काममा संलग्न हुन थालेका छन् । भ्याक्सिन निर्माणको क्रममा छ । बिस्तारै आर्थिक क्रियाकलाप चल्न थालेका छन् । अफिस कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ । घरबाट पनि अफिसका काम भएका छन् । टेक अवे रेस्टुराँहरू खुलेका छन् । तर, बन्द स्कुल कलेज खुल्न सकेका र विद्यार्थीहरू स्कुल जान पाएका छैनन् । विद्यार्थीको शैक्षिक सत्र कसरी जोगाउन सकिएला भनेर विभिन्न कोणबाट चिन्तन रबहस भइरहेका छन् ।

बहसका लागि प्रस्ताव
विद्यार्थीहरूलाई अनलाइन र दूरकक्षा चलाउने, अनलाइन र दूरकक्षा सञ्चालन गर्न शिक्षकलाई तालिम दिने, सक्ने स्थानीय तहले रेडियो टेलिभिजन बाँड्ने, केही शिक्षकले घरदैलो शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्कुल बोलाएर विद्यार्थीलाई होमवर्क दिएर होमवर्कमार्फत पढाउने गरका छन् । शिक्षक र विद्यालयले भच्र्युअल ल्याब बनाएर विद्यार्थीलाई विज्ञान वा विविध विषयको सीप सिकाउने प्रयास पनि गरिरहेका छन् । सिकाउने शिक्षक र सिक्ने विद्यार्थीलाई यस घडीमा धन्यवाद भन्नैपर्छ । तर, एकातर्फ छुटेका ठूलो मात्राका विद्यार्थीलाई कसरी अनलाइन अध्ययनमा समेट्ने भन्ने प्रश्न गम्भीर छ भने अर्कोतर्फ पढाइ र सिकाइको गुणस्तर कसरी मापन गर्ने भन्ने पनि चिन्ताको विषय बनेको छ । यस पृष्ठभूमिमा संक्रमणको मध्यवादी चरणको अवस्थामा शैक्षिक सत्र जोगाउने, विद्यार्थी स्कुल जान पाउने वातावरण बन्ने र उनीहरूमा कुनै प्रकारको मनोवैज्ञानिक समस्या नआओस् भन्ने उद्देश्य राखी बहसका लागि देहायबमोजिमको रणनीतिक प्रस्ताव प्रस्तुत छ ।
– सरकारले अस्थायी रूपमा पाठ्यक्रमको भार घटाएर सानो बनाउने, १२ कक्षाको परीक्षाको विषयमा तत्काल निर्णय लिने, हरेक कक्षा सातामा पाँच दिन चलाउने, अनलाइन तथा दूरशिक्षाको पढाइलाई मान्यता दिने तथा एक र ११ को भर्ना खुलाउने,
– विद्यालयले विद्यालय शिक्षा र अनलाइन कक्षा सँगसँगै चलाउने । अनलाइन शिक्षणका लागि मार्गनिर्देशिका बनाउने, विद्यालय शिक्षा नभएका दिनमा चार दिन अनलाइन कक्षा चलाउने, विद्यालयमा अनलाइन कक्षा चलाउन कम्प्युटर ल्याब बनाउने र आवश्यक परे शिक्षकलाई तालिम दिने, संक्रमित नभएका जिल्लाहरूमा कम भिड हुने गरी स्कुलमा नै कक्षा चलाउने व्यवस्था गर्ने,
– विद्यालयहरू हरेक साता बिहान ९ बजेदेखि साँढे १२ बजेसम्म र १ बजेदेखि साँढे ४ बजेसम्म गरी दुई सिफ्टमा केवल दुइवटा कक्षा (सेक्सनसहित) सञ्चालन गर्ने,
– एउटा कक्षा (वा सेक्सन)को पढाइ सातामा एक दिन मात्र गर्ने,
– विद्यार्थीको संंख्या हेरेर विद्यालयले कुन सिफ्टमा कुन कक्षालाई बोलाउने निर्णय गर्ने, एउटा कक्षामा १०÷१५ जनाभन्दा धेरै विद्यार्थी नराख्ने, एउटा कक्षाका सानासाना सेक्सन बनाएर पढाउने,
– एक दिनमा सबै विषयको पढाइ गर्न सक्नेगरी कक्षाको समय विभाजन गर्ने, हरेक कक्षामा शिक्षक, विद्यार्थी विद्यार्थीबीचको दूरी कम्तीमा एक मिटर कायम गर्ने, ब्रेकको समयमा विद्यार्थीलाई एकआपसमा छोएर खेल्ने खेल खेल्न वा गफ गर्न मनाही गर्ने,
– विद्यार्थीलाई कक्षाकोठामा जाँदा र निस्कँदा दुई मिटरको दूरी बनाएर हिँड्न लगाउने,
– अभिभावकले नै विद्यार्थी लैजाने र ल्याउने व्यवस्था गर्ने, स्कुल बस प्रयोग नगर्ने,
– विद्यालय र कक्षाकोठा हरेक दिन निसंक्रमित गर्ने र विद्यालयमा स्यानिटाइजर, साबुनपानीको व्यवस्था गर्ने,
– विद्यार्थी र शिक्षकले अनिवार्य रूपमा मास्क लगाउने, स्यानिटाइजर बोकेर हिँड्ने र शिक्षकले विद्यार्थीलाई हरेक कक्षा अगाडि र पछाडि स्यानिटाइजर हातमा लगाउन लगाउने । मास्क लगाए÷नलागाएको अनुगमन गर्ने,
– शिक्षकले विद्यार्थीलाई होमवर्क दिने र सोको जवाफ शिक्षकले कक्षामा बताइदिने । विद्यार्थीको किताबकापी नछुने,
– स्कुलमा पढाइका अतिरिक्त कुनै पनि प्रकारको कार्य नगर्ने र भिडभाड हुन नदिने,
– अभिभावकले छोराछोरी स्कुलबाट फर्केपछि उनीहरूको किताबकापी निसंक्रमित गर्ने र ब्याग तथा ड्रेस धुने व्यवस्था गर्ने,
– विद्यार्थीले स्कुलमा पिउने पानीबाहेक कुनै प्रकारको टिफिन नलैजाने, स्कुल क्यान्टिन पनि नचलाउने र
– एक दिनमा एउटा कक्षाका परीक्षा मात्र सञ्चालन गर्ने वा अनलाइन परीक्षा लिने ।

यी बुँदाहरू मान्नैपर्छ भन्ने होइन । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यकता हो । विद्यार्थीको उमेर र सिकाइबीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । निरन्तर पढ्न नपाएको अवस्थामा पढेको सबै बिर्सने स्थिति आउँछ । वर्ष दिन पढ्न नपाउँदा वा समयमा परीक्षा नहुँदा माथिल्लो तहमा पढ्ने अवसर छुटन् सक्दछन् । स्कुल गएर पढ्न नपाउँदा किशोर किशोरीहरूमा मानसिक समस्या आउन सक्छ । मनोवैज्ञानिक कोभिडको संक्रमणभन्दा विद्यार्थी घरभित्रै बसिरहँदा हुन सक्ने घटनाको जोखिम उच्च हुने तर्क गरिरहेका छन् । एक दिन मात्र स्कुल आउँदा पनि विद्यार्थीमा सिक्ने ऊर्जा बढ्छ । यसकारण विद्यालय खोल्न सबै सरोकारवालाले गम्भीर भएर पहल गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर