जिल्ला प्रशासन कार्यालय डोटीले भदौ १४ गते राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञा गएराति १२ बजेदेखि खुकुलो पारेको छ ।आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि समुदायमा कोरोना फैलिने डर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । भदौ १४ गते एक साताका लागि लगाइएको निषेधाज्ञा एक साता पुनः थप गरिएको थियो । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा पारेको जानकारी दिएको छ ।

सोमबारदेखि जिल्लामा हुने व्यापार व्यवसाय स्वास्थ्य साबधानी अपनाएर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म  गर्ने, सिट क्षमता भन्दा ५० प्रतिशत कम यात्रु राखेर र चालक सहचालकले मास्क प्रयोग गरेर मात्र जिल्लाभित्र सवारी साधन चलाउन पाइने विज्ञप्तिमा उल्लेख छ ।

सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालयहरु, निजी तथा गैरसरकारी संस्थाका कार्यालयहरु, बैंक र वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउने बताइएको छ । होटेल, रेष्टुरेन्ट तथा खाजा घर भिडभाड नहुने गरी चलाउनु पर्ने व्यवस्था गरिएको छ ।

अर्को व्यवस्था नभएसम्म शैक्षिक संस्था, भाषा कक्षा, ट्युसन सेन्टर, प्रशिक्षण केन्द्र सञ्चालन नगर्ने, धार्मिक कार्य, मेला महोत्सव नगर्ने र मनोरञ्जनात्मक कार्य नपाइने बिज्ञप्तीमा उल्लेख छ । यस्तै सैलुन पसल, जिमखाना, समूहमा खेलिने खेल, ब्युटिपार्लर, पुस्तकालय सञ्चालन गर्ने, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक मेला पर्व लगाउन नपाइने, सामूहिक भोजभतेर गर्न नपाइने स्थानीय प्रशासनको विप्तिमा उल्लेख छ ।

अनुमति लिन नपर्ने सवारी साधनहरुबाहेक जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनहरुले अनुमति विना प्रवेश गर्न पाउने छैनन् ।

लामो समयसम्मको निषेधाज्ञाले नागरिकको दैनिक जीवन कष्टकर हुँदै जाने, सार्वजनिक सेवा प्रवाहमा कठिनाइ हुने, व्यापार व्यवसाय एवम् आर्थिक गतिविधिहरु सञ्चालनमा समस्या हुने जस्ता समस्याप्रति संवेदनशील भई मौजुदा अवस्थालाई खुकुलो पार्दै सामान्य र सहज बनाउनु पर्ने सुझाव प्राप्त भएकाले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर