सागर भण्डारी,गुल्मी भाद्र २१ । सामान्य विरामी पर्दा समेत धेरै खर्च गरेर पाल्पा, र बुटबलका अस्पतालमा उपचार गराउनुपर्ने बाध्यताबाट आजित मुसिकोटबासीले अहिले वामीमै एमबीबीएस डाक्टर सहितको सेवा पाउन थालेका छन् । नगरपालिकाको वडा नं ७ वामीमा रहेको वामीटक्सार स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको छ ।

स्वास्थ्यचौकीमा आवश्यक प्रविधी सहितका मेसिनहरु नगरपालिका मार्फत आउँदै गरेकाले अहिले चेकजाँच र औषधोपचारको काम भईरहेको स्वास्थ्य चौकी प्रमुख त्रिविक्रम केसीले बताउनुभयो । उक्त मेसिनहरु आए पश्चात एमबिबिएस डाक्टरद्वारा बिरामीको चेक जाँच तथा उपचार सगैं ओ.पी.डी. सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, भिडियो एक्स–रे अल्ट्रासाउण्ड, ईसीजि सहितको सेवा थप हुने उहाँले बताउनुभयो ।

अहिले स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरहरु रवि सुब्बा र राजन ओलियाले सेवा दिईरहनुभएको छ । यसअगाडी पनि वामीटक्सार स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर सहितको सेवा सुरु गरिएको भएपनि विविध कारणले नियमित भने हुन सकेको थिएन । मुसिकोट नगपालिकाको आफ्नै व्यवस्थापनमा एम.बि.बि.स डाक्टर मार्फत स्वास्थ्य सेवा सुविधा सुचारु गरिएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । नगरबासीहरुलाई स्वास्थ्य सेवामा पहँुच बढाउने र सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै सेवा सुरु गरिएको भन्दै उहाँले स्वास्थ्यचौकीमा आवश्यक उपकरण खरिदका लागि कार्यपालिकामा छलफल भैसकेको र केही दिनमै टेण्डर आह्वान हुने उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत ३ लाख मुल्य बराबरका निशुल्क ल्याब परीक्षणका सामग्रीहरु उपलब्ध भएपछि यसअगाडी नै ल्यावको सेवा समेत सञ्चालनमा आएको थियो । एमबिबिएस डाक्टर सहितको सेवा सुरु भएपछि स्वास्थ्य चौकीबाट मुसिकोट नगरपालिका सहित छिमेकी जिल्ला बाग्लुङको बडिगाड गाउँपालिका र गुल्मीकै मालिका गाउँपालिकाका ह्वाङ्दी, नेटा, दर्लिङ लगायतका क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

मुसिकोट नगरपालिकाले आफ्नै बजेटबाट २ जना डाक्टरहरुलाई पारिश्रमिक दिनेछ । नगरपालिकाका स्वास्थ्य संयोजक डिबि जिसीले लामो समयदेखि यस क्षेत्रका जनताको सपना पुरा भएको बताउनुभयो । छिमेकी जिल्लाका सेवाग्राही समेत प्रत्यक्ष लाभान्वित हुने भन्दै उहाँले एमबिबिएस डाक्टर सहितको सेवा थप हुनुले यस क्षेत्रका विरामीहरुलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाका ९ वटा वडामा अहिले १२ वटा स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । यसैबिच स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल भवन निर्माणका लागि १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सघिंय सरकार मार्फत स्वास्थ्यचौकीलाई स्तरोन्नतीका लागि उक्त बजेट विनियोजन भएको र यही आर्थिक वर्षमा टेण्डर आह्वान गरि निर्माण कार्य सुरु हुने नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । भवन निर्माणका लागि आवश्यक जग्गा खोज्ने काम भईरहेकाले छिट्टै निर्माण कार्य सुरु हुने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर