१९ भाद्र २०७७, शुक्रवार

नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा गरिदिएको छ ।

वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले विमा गरिदिएको हो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

विमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको विमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका कांस्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बिन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको विमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका छन् ।

पूर्व बक्सर ओमनारायण श्रेष्ठले ३८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बीमा गरिदिएका छन् । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले आफ्नै खर्चमा रेफ्री जर्जको एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन् ।

श्रेष्ठले आईबा अन्तर्राष्ट्रिय रेफ्री जर्ज रामचन्द्र थापामगर, तारामान श्रेष्ठ, राजन प्रजापतिलगायत ३८ जनाको कोरोना बीमा गरिदिएका छन् । जसमा १६ जना अन्तर्राष्ट्रिय रेफ्री जर्ज र २२ जना राष्ट्रिय जर्ज रहेका छन् । पूर्वबक्सर श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बीमाको पोलिसी आठौं दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण विजेता रामचन्द्र थापा मगर र राष्ट्रिय रेफ्री जर्जको पोलिसी सुवर्ण सापकोटालाई हस्तान्तरण गरे ।

श्रेष्ठले यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको पनि एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर