१५ भाद्र २०७७, सोमवार
स्थानीय तहसम्मका प्रहरी इकाईहरुका भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने नीति अनुरुप नेपाल प्रहरीले पछिल्लो दुई वर्षमा १ हजार १ सय ७७ वटा नयाँ संरचना निर्माण सम्पन्न गरेको छ ।
नेपाल प्रहरीको नियमित बजेट, राष्ट्रिय पून: निर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट प्रहरीको कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सा लगायत उक्त संख्यामा नयाँ संरचना निर्माण गरिएको हो ।
प्रहरी इकाईका भौतिक संरचनालाई समयसापेक्ष स्तरोन्नति/ नयाँ निर्माण गर्न प्रहरी प्रधान कार्यालयले कार्य योजना बनाई निर्माण कार्यलाई तिव्रता दिए बमोजिम पूर्वाधार बनाउने काम भइरहेको हो । सो बमोजिम पछिल्लो दुई आर्थिक वर्ष (आ.व. २०७५/०७६ र ०७६ /०७७) मा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, ७ सय ५५ वटा शौचालय समेत अन्य संरचना गरी उक्त संख्यामा नयाँ संरचना बनिसकेको छ ।
नेपाल प्रहरी अन्तर्गतका हाल देशभर २ हजार ७ सय ५७ इकाईहरु रहेका छन् । एक स्थानीय तहमा कम्तीमा एक प्रहरी इकाई स्थापना गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप २०७५ साल यता चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म कूल २ सय ५१ नयाँ इकाई र सो अनुरुप दरबन्दी समेत निकासा भइसकेको छ । चालु आवमा नेपाल प्रहरीको नियमित बजेटबाट ३९ नयाँ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र ८ सय ८० वटा शौचालय समेत अन्य संरचना गरी १ हजार १ सय ४ वटा संरचना निर्माणाधिन रहेका छन् । यस्तै पून:निर्माण कोषबाट ४८ र प्रादेशिक बजेटबाट ८ सय १० नयाँ पूर्वाधार निर्माणाधिन अवस्थामा छन् भने प्रादेशिक बजेटबाट चालु आवमा ३० वटा संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
आव २०७४/०७५ मा समेत कार्यालय, ब्यारेक भवन, मेस, शौचालय लगायत अन्य भवन गरी ९४ वटा नेपाल प्रहरीको नियमित बजेटबाट र पून:निर्माण कोषको बजेटबाट ३ सय ४६ वटा नयाँ संरचना निर्माण भएको थियो ।
नेपाल प्रहरीले भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्दै भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई.लोकेश सिंहले भन्नुभयो, ‘अहिले ६९ जिल्लामा नयाँ निर्माण भइसकेको छ । जे जती बनेका छन् वा बनिरेहका छन् ती सबै भवनहरु आधुनिक, अपाङ्ग एवं लैंगिक मैत्री तवरले बनाइएका छन् ।’ उहाँ भन्नुहुन्छ, ‘प्रहरीलाई आधुनिकिकरण गर्दै लाने योजना बमोजिम बिगतदेखि नै निर्माण कार्यलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिदै आइएको छ ।’
बढ्दो संगठन संरचना र स्थानीय तहमा विधिसम्मत तवरबाट स्थापित नयाँ इकाईको पूर्वाधार तत्काल निर्माणमा प्रहरी प्रधान कार्यालयले न्युनतम आधारभूत कुराको व्यवस्था गर्न कुनै कसर बाँकी राखेको छैन् । ७२ जिल्ला प्रहरी कार्यालयमा हिरासत कक्ष, ब्यारेक र थनुवा कक्ष लगायतका सबै संरचना तयार भइसकेको प्र.ना.म.नि. सिंहले बताउनुभयो ।
प्रहरीको जनशक्तिमा वृद्धि एवं समय परिवर्तनसँगै पहिलेका संरचना अहिले अपुग हुनु स्वाभाविक हो । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्नुहुन्छ, ‘कार्यालय समेतको पुर्वाधार बनाउन विशेष ध्यान दिइएको छ । आवश्यक्ता अनुसार संरचना निर्माण र मर्मतसम्भार गर्न प्रहरी प्रधान कार्यालय संवदेनशील रहेको छ ।’ उहाँको भनाई छ, ‘कार्यालय होस् या हिरासत कक्ष अहिले बालबालिका, महिला, जेष्ठ नागरिकको संवेदनशिलता र अन्य विभिन्न कारणले पनि थप छुट्टै संरचना बनाउनुपर्ने आवश्यक्ता छ ।’
यहि यथार्थलाई मनन् गरी नेपाल सरकार र प्रदेश सरकारबाट समेत उपलब्ध भएका र हुने बजेटको उच्चतम सदुपयोग गरी जीर्ण, आधारभूत एवं अपरिहार्य देखिएका चौकीस्तरसम्मका भौतिक पूर्वाधारलाई प्राथमिकीकरण गर्दै निर्णाण सम्पन्न गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर