९ भाद्र २०७७, मंगलवार

उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ ।
उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले सो निर्णय गरेको हो ।
उपत्यकामा सङ्क्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको पीसीआर निषेधाज्ञाको अवधिभित्रै परीक्षण गर्ने निर्णय भएको फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्नुपर्ने सङ्ख्या बढ्नसक्ने भएकाले बढेका व्यक्तिको उपत्यका नगरपालिकाले तालिका बनाएरै पीसीआर परीक्षण गर्छ भन्नुभयो । काठमाडौँ महानगरपालिकामा १५ हजार, ललितपुर महानगरमा दुई हजार र बाँकी अन्य १६ वटा नगरपालिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्ने योजना फोरमले बनाएको छ ।
उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारबाटै १८ वटा पालिकामा ‘फोकल पर्सन’ तोक्ने छ । फोरमले उपत्यकाका सबै नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस अघिको बैठकले भदौ ९ गतेसम्म उपत्यकाका नगरपालिकाको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
फोरमले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह गरेको छ । भारत बाहेकका अन्य मुलुकबाट नेपाल फर्कने नागरिकलाई तीनै तहको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार एकीकृत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेमा फोरमले जोड दिएको छ । नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा घना बस्ती भएकाले कुनै पनि बेला सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्छ । अत्यन्त घना बस्ती रहेको सङ्घीय राजधानीमा कोरोना सङ्क्रमण समुदायमै फैलियो भने नियन्त्रण गर्न धेरै कठिन हुन्छ भन्नुभयो ।
कोरोना रोकथाम र नियन्त्रण गर्न उपत्यकाका सबै नगरपालिका एकै ठाउँमा उभिएको समेत फोरमले जनाएको छ । उपत्यकाका सबै नगरपालिका प्रमुखले यस अघिदेखि नै कोरोनाको उपचार नपाएर पीडित बन्नुपर्ने अवस्था आउन नदिने बताउँदै आएका छन् ।
महामारीको समयमा कोरोना सङ्क्रमितको उपचार गर्नु स्थानीय सरकारकोे दायित्वभित्रै पर्ने भएकाले उपत्यकाका नगरपालिका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षणमा उच्च प्राथमिकता दिन लागिएको फोरमले जनाएको छ ।
फोरमले अहिले स्थानीय तहको सबै ध्यान समुदाय स्तरमै फैलन लागेको कोरोनाको रोकथाम र नियन्त्रणमा केन्द्रित भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुुभयो ।

गोरखापत्रवाट

प्रतिक्रिया

सम्बन्धित खवर