८ भाद्र २०७७, सोमवार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरूले होटल क्‍वारेन्टाइनमा बस्नुनपर्ने स्पष्ट पारेका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्‍वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पिसिआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट परेका हुन् ।

सरकारले विभिन्‍न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्‍वारेन्टाइनमा ७ दिन राख्‍ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पिसिआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरूले पिसिआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्‍वारेन्टाइनमा बस्नुनपर्ने उनले बताए ।

‘जहाँ पिसिआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ, त्यस्तो ठाउँबाट पिसिआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने । त्यसका लागि नियमित उडानहरु खोल्ने तयारी भएको छ भदौ १६ (सेप्टेम्बर १) बाटु, उनले भने,’ कुन कुन देशहरु भन्‍ने भोलि फाइनल सूची सार्वजनिक हुन्छ। मलेसिया युएई, दक्षिण कोरिया, जापान, हङकङ लगायत हुन सक्छन् । उनले विदेशमै पिसिआर गरेकाले सरकारले वेबसाइटमा उपलब्ध गराउने फर्म भर्नुपर्ने बताए ।’

‘पिसिआर गरेका यात्रुहरुले सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छु, उनले भने, ‘नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ । र, नेपाल आइसकेपछि एयरपोर्टमा नेगेटिभ रिपोर्ट देखाएपछि १४ दिन आफ्नो घरमा होम क्‍वारेन्टाइनमा बस्‍ने प्रतिवद्धतासहित घर जान दिइन्छ ।’ पिसिआर परीक्षण सहज नभएका मुलुकका लागि उद्धार उडान गरिने उनले बताए । पिसिआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्‍वारेन्टाइनमा बस्‍नुपर्ने उनले प्रष्ट पारे । अर्को देशबाट आएर क्‍वारेन्टाइनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्‍वारेन्टाइनमा बस्‍न सकिने बताए ।

‘सात रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ। यदि एक कोठामा २ जना बस्‍ने हो भने । सिंगल बस्दा १७ हजार ५ सय हुन्छ। दिनको १५ सयको हाराहारीमा हुन्छु, उनले थपे, ’ होटलहरु स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्छ, गेट र कम्पाउन्ड भएको होटल, खुला ठाउँ, सफा भएको, कोठामा टिभी र वाईफाई हुनुपर्छ । एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्छ । तातोपानी पिउने व्यवस्था गर्नुपर्छ। ४ पटक खाजा र खाना दिनुपर्छ । त्यो भन्दा महंगोमा बस्छौँ भन्‍नेका लागि २५ सय र ४ हजार भन्दा बढीका होटलहरु पनि छन्।’ विदेशमा अलपत्र स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए ।

‘मान्छेहरुले भन्छन् सरकारले खर्च व्यहोर्नुपर्छ भनेर हो सरकारले व्यहोर्ने हो । तर कसका लागि भन्दा सक्दै नसक्नेका लागि । विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छु, उनले भने, ‘यहाँ आएर होटल क्वारेन्टाइनको विषय पनि सरकारले व्यहोर्छ र पिसिआर खर्च पनि सरकारले व्यहोर्छ। त्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको कुटनीति नियोगसँग समन्वय गरेर सूची फाइनल गर्छ।’ मन्त्री भट्टराईले कुनै कम्पनीले आफ्नो मान्छे पठाउँछ भने उनीहरुले टिकट पनि काट्नुपर्ने बताए।

‘कम्पनीले नै क्‍वारेन्टाइन बस्दा लाग्ने खर्च व्यहोर्नुपर्छु, उनले भने, ‘ पिसिआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार पनि उद्धार गर्छ ।’ पिसिआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरूको क्‍वारेन्टाइन खर्च व्यहोर्नुपर्ने उनले बताए ।

नेपाल घुम्‍न आउने पर्यटकका लागि नभएर विदेशमा अलपत्र नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी र विकास साझेदार संस्थाका कर्मचारी मात्रै आउन पाउने उनले बताए । परिस्थिति अनुकूल भएपछि अन्य देशको समेत अवस्था हेरेर नियमित उडान सुरु गरिने मन्त्री भट्टराईले प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर