७ भाद्र २०७७, आइतवार

एजेन्सी – जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार दोस्रो हार बेहोर्ने क्रममा गुयाना एमेजन वारियार्ससँग १४ रनले पराजित भएको छ ।

नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद टोलीले जित हासिल गर्न सकेन । गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रनमात्र जोड्न सक्यो ।

टोलीले ब्याटिङमा निकै खराब सुरुवात गरेपछि जितको आधार तय हुन सकेन । इनिङको पहिलो बलमा नै कप्तान क्रिस ग्रिनले च्याडविक वाल्टनलाई एलबीडब्लु धरापमा पारे । दोस्रो ओभर इमरान ताहिरले मेडन राखे । तेस्रो ओभरको दोस्रो बलमा ग्रिनले क्रोमा बोनरलाई ४ रनमा एलबीडब्लु आउट गरे । उक्त ओभर पनि मेडन नै रहयो ।

चौथो ओभरको पहिलो बलमा डेब्यु गरिरहेका अस्मिड नेडले ग्लेन फिलिप्सलाई शून्यमा पेभेलियन फर्काए । फिलिप्सले सर्ट बललाई पोइन्टको माथिबाट प्रहार गर्न खोज्दा किमो पलले उफ्रदै एक हातले उत्कृष्ट क्याच लिँदै जमैकालाई ४-३ को दयनीय अवस्थामा पुर्याए ।

आसिफ अली र कप्तान रोभमान पावेलले इनिङ सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् । दशौं ओभरको तेस्रो बलमा अली लामो सट खेल्ने धुनमा बाउन्ड्रीनजिक समातिएपछि जमैका ३३-४ को स्थितिमा पुगेको थियो । हेमराजको बलमा हेटमायरबाट समातिनुअघि उनले २१ बलमा १४ रन जोडे ।

१३ औं ओभरको चौथो बलमा पलले ब्रेथएटलाई बोल्ड गरेपछि जमैका थप समस्यामा परेको थियो । ब्रेथवेटले १४ बलमा मात्र ५ रन जोडे । १५ औं ओभरमा कप्तान पावेल क्याच आउट भएपछि जमैका ५०-६ को स्थितिमा पुग्यो । नविन उल हकको बलमा ग्रिनबाट क्याच हुनुअघि पावेलले ३० बलमा २३ रन जोडे ।

१६ औं ओभरको अन्तिम बलमा इमरान ताहिरले सन्दीपलाई शून्यमै रहँदा एलबीडब्लु आउट गरे । ताहिरकै १८ औं ओभरमा आन्द्रे रसलले २ छक्का र १ चौकासँगै १७ रन जोड्दै जितको झिनो आशा कायम राखे । रसेलले नविन उल हकको १९ औं ओभरको सुरुवाती दुई बलमा छक्का र चौका प्रहार गरेपनि त्यसपछि लगातार चार बल डट खान पुगे ।

अन्तिम ओभरमा जितका लागि २२ रन आवश्यक रहँदा जमैकाले ७ रनमात्र जोड्न सक्यो । कसिलो बलिङ गरेका किमो पलले रसेललाई खुलेर खेल्ने अवसर नै दिएनन् । रसेल ३७ बलमा ४ चौका र ५ छक्कासहित ५२ रनमा नटआउट रहे । गुयानाका लागि क्रिस ग्रिनले २ विकेट लिए । ताहिर, नेड, पल, हेमराज र नविन उल हकले पनि १-१ विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको गुयानाले उत्कृष्ट सुरुवात पाएपनि स्पिनरको सामना गर्न नसक्दा अपेक्षित स्कोर खडा गर्न सकेन । गुयानाले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रन जोड्यो । सुरुवाती ओभरदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको गुयानाका लागि ओपनरले राम्रो सुरुवात दिलाएका थिए ।

ओसेन थोमसको दोस्रो ओभरमा २४ रन जोड्दै उत्कृष्ट सुरुवात पाएको गुयानाका लागि ब्रेन्डन किङ र चन्द्रपाल हेमराजको सुरुवाती जोडीले पाँचौ ओभर पूरा नहुँदै अर्धशतकीय साझेदारी पूरा गरेका थिए । ५ ओभरको समाप्तिमा ५५-० को स्थितिमा रहेको गुयानाले त्यसपछि लगातार विकेट गुमाउँदै दबाबमा पर्यो ।

छैटौं ओभरको चौथो बलमा मुजिब उर रहमानले किङलाई बोल्ड गरे । किङले १९ बलमा ३ चौका र २ छक्कासहित २९ रनको योगदान दिए । लगत्तै अर्को बलमा मुजिबले पहिलो बलको सामना गरिरहेका शिम्रन हेटमायरलाई पनि बोल्ड गर्दै पेभेलियन फर्काए । त्यस ओभरमा मुजिबले जम्मा २ रन दिएर महत्त्वपूर्ण २ विकेट हात पारे ।

सातौं ओभरको पहिलो बलमा नै आन्द्रे रसलले अर्का ओपनर हेमराजलाई मुजिबको हातबाट क्याच गराए । उनले ब्याकवार्ड पोइन्टमा समातिनुअघि १७ बलमा ३ चौकासहित २१ रन जोडे । लगत्तै अर्को ओभरको तेस्रो बलमा मुजिबले निकोलस पुरनलाई कट बिहाइन्ड गराए । पुरनले ग्लेन फिलिप्सको हातबाट समातिनु अघि ५ बलको सामना गर्दै ४ रनमात्र जोड्न सके ।

११ औं ओभरको दोस्रो बलमा सन्दीपले रदरफर्डलाई पेभेलियन फर्काए । सन्दीपको गुगलीमा ठूलो सट खेल्ने धुनमा एज लाग्दै बल सर्ट थर्ड म्यानमा रहेका मुजिबको हातमा पुगेको थियो । रदरफर्ड ९ बलमा १ चौकाको मदतले मात्र ६ रन जोड्दै पेभेलियन फर्कंदा टोली ७६-५ को स्थितिमा पुग्यो ।

१४ औं ओभरको तेस्रो बलमा कार्लोस ब्रेथवेटले किमो पललाई आउट गरे । ठूलो सट खेल्ने धुनमा टप एज लागेपछि १० बलमा ३ रन जोडेका पल विकेटकिपर फिलिप्सको हातबाट समातिए । १५ औं ओभरको चौथो बलमा सन्दीपले क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरे । लेग साइडमा सट प्रहार गर्न खोजेका ग्रिनको लेग स्टम्प उडाउँदै सन्दीपले दोस्रो विकेट हात पारे । १५ ओभरको खेल सकिंदा स्कोर ९४-७ को स्थितिमा थियो ।

१६ औं ओभरको पाँचौ बलमा रस टेलर २१ रन जोड्दै क्याच आउट भए । ३० बलमा २ चौका प्रहार गरेका टेलर ब्रेथवेटको बलमा डिप मिडविकेटमा रहेका पावेलको हातबाट समातिए । १९ औं ओभरमा नेड १ रन जोड्दै रनआउट भए । नविन उल हक अन्तिम ओभरको पहिलो बलमा क्याचआउट भए । उनले १७ बलमा १४ रन जोड्दै १ सय रनको आँकडा पार गराएका थिए ।

सन्दीपले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । मुजिबले १८ रन खर्चेर ३ विकेट लिँदा ब्रेथवेटले पनि ३ विकेट हात पारे । रसलले १ विकेट लिए ।

यस्तो रहयो सन्दीपको ओभर :

नवौं ओभरमा स्पेल सुरु गरेका सन्दीपको पहिलो बलमा रदरफर्डले १ रन लिए । दोस्रो बल रस टेलरले डट खाए र तेस्रोमा सिंगल लिए । चौथो बलमा रदरफर्ड बिट भए । पाँचौ बलमा सट सिधै फिल्डरको हातमा जाँदा अन्तिम बल पनि डट नै रहयो । पहिलो ओभरमा सन्दीपले २ रन मात्र खर्चिए ।

११ औं ओभरको पहिलो बलमा टेलरले एक रन लिए । दोस्रो बलमा सन्दीपले रदरफर्डलाई पेभेलियन फर्काए । सन्दीपको गुगलीमा ठूलो सट खेल्ने धुनमा एज लाग्दै बल सर्ट थर्ड म्यानमा रहेका मुजिबको हातमा पुगेको थियो । त्यसपछि क्रिजमा आएका किमो पललाई लगातार चार बल डट खुवाउँदै सन्दीपले दबाब थपेका थिए । उनले यस ओभरमा मात्र १ रन खर्चेर १ विकेट हात पारे ।

१३ औं ओभरको पहिलो बलमा टेलरले डिफेन्स गरे । दोस्रो बलमा पनि टेलरले रन जोड्न सकेनन् । तेस्रो बलमा भने टेलरले सिंगल लिँदै पललाई स्ट्राइक दिए । चौथो बलमा पलले डिप मिड विकेटतर्फ ठूलो सट खेलेपनि मूजिबले उत्कृष्ट फिल्डिङ गर्दै २ रन मात्र दिए । पाँचौ र छैटौं बलमा पल बिट हुन पुगे । तेस्रो ओभरमा सन्दीपले मात्र ३ रन खर्चिए ।

१५ औं ओभरको सुरुवाती दुई बलमा टेलरले रन जोड्न सकेनन् । तेस्रो बलमा टेलरले थर्ड म्यानतर्फ कट गर्दै १ रन जोडे । चौथो बलमा सन्दीपले क्रिस ग्रिनलाई बोल्ड गरे । लेग साइडमा सट प्रहार गर्न खोजेका ग्रिनको लेग स्टम्प उडाउँदै सन्दीपले दोस्रो विकेट हात पारे । पाँचौ बलमा नविन उल हकले डट खाए । छैटौं बल गर्ने क्रममा सन्दीपले वाइड फ्याँके । त्यसपछि अर्को बल डट गर्दै सन्दीपले अन्तिम ओभरमा मात्र २ रन दिँदै विकेट लिए ।

समग्रमा उनले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट हात पारे । सन्दीपले आफ्नो स्पेलमा १८ बल डट फ्याँके ।

प्रतिक्रिया

सम्बन्धित खवर