५ भाद्र २०७७, शुक्रवार
२ दशकदेखि फिल्म अभिनयमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । यसपटक हिन्दू नारीहरुले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तीजको दिन उनको जन्मदिन परेको छ । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी उनले आफ्नो उमेर गोप्य राख्दै आएकी छन् । विकिपिडिया भने उनको उमेर ३८ वर्ष उल्लेख छ ।
चर्चा र विवादमा आइरहने रेखा अभिनेत्रीसँगै निर्देशक, निर्माता, संगीतकार र गायिका पनि हुन् ।  ‘हिरो’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले २ दशक लामो अभिनय करिअरमा २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो रिलिज फिल्म ‘मालिका’ हो, जसलाई उनी आफैंले निर्देशन गरेकी थिइन् । फिल्ममा आफूलाई सधैं हिरोको रुपमा प्रस्तुत गरेकी उनले नायिकाले पनि आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्छन् भन्ने मानक स्थापित गरेकी थिइन् ।

 एकताका पर्दामा उनको प्रतिस्पर्धा हिरोसँग भयो । एक समयका स्टार कहलिएका निखिल उप्रेती र विराज भट्टसँग उनको राम्रै वाक युद्ध चलेको थियो ।
पर्दामा निकै सफल रहेकी रेखाको वैवाहिक जीवन भने सुखद रहन सकेन । फिल्म ‘हिरो’ खेले लगत्तै उनले निर्माता छविराज ओझासँग लगनगाँठो कसेकी थिइन् । तर, वैचारिक मतभेदका कारण करीब १२ वर्षपछि उनीहरुले छुटिने निर्णय लिए । छविसँग छुटिएपछि उनले आफ्नो नाममा दर्ता भएको कम्पनी ‘रेखा फिल्मस्’ बाट प्रत्येक वर्ष एउटा फिल्म निर्माण गर्दै आइरहेकी छन् ।
फिल्म करिअरको उत्कर्षमा रहँदा उनी तत्कालीन एमाओवादीमा प्रवेश गरेकी थिइन् । केही वर्षपछि उक्त पार्टी त्याग गर्दै राप्रपा नेपालमा प्रवेश गरिन् । तर, उनको राजनीतिक यात्रा सुखद देखिएको छैन । एक समय फिल्ममा छोटा पहिरन लगाएका कारण उनको निकै चर्चा हुने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर