१० माघ २०७७, शनिवार

कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन सुरू हुने भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए ।

मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए ।

पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् ।

सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित हुने सम्पन्न हुने बताए ।

उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।’

आगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर