
५ माघ २०७७, सोमवार
आगामी बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
निर्वाचन आयोगले मध्यावधि निर्वाचन गराउनको लागि ८ अर्ब रुपैयाँ लाग्न सक्ने प्रारम्भिक अनुमान गरेको हो ।
आइतबार निर्वाचन आयोगले अर्थ सचिव शिशिर ढुङ्गानासँग छलफल गर्दा ८ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने अनुमान छलफलमा भएको बुझिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनका लागि लाग्ने खर्च बारे हिजो छलफल भएको बताए ।
‘हिजो अर्थसचिवसँग निर्वाचन गराउनका लागि कति खर्च चाहिएला भनेर हामीले छलफल गर्यौं, छलफलबाट लगभग ८ अर्बको अनुमान भएको छ, यो हप्ताभित्र आँकलन टुंग्याएर अर्थ मन्त्रालयलाई पत्र पठाउँछौँ, ’ उनले भने ।
२०७४ सालमा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७ अर्ब ७५ करोड ९५ लाख रुपैयाँ खर्च भएको थियो ।
सो समयमा प्रतिनिधिसभा र प्रदेशसभाको एकैपटक निर्वाचन गरिएको थियो ।
दलहरु पारदर्शाी नभएकोले उनीहरुले कति खर्च गरे भन्ने यकिन रकम खुलाउन गाह्रो हुन्छ ।
तर, केही अध्ययनहरुले भने प्रमुख दलहरुले औषतमा प्रतिउम्मेदवार ४० लाख रुपैयाँको हारहारीमा खर्च गर्ने गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको थियो । वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तय गरिएको छ ।
उता, प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसबारे निरन्तर सुनुवाइ भइरहेको छ ।
निर्वाचन आयोगले भने निर्वाचनको तयारी अघि बढाएको छ । आयोगले आइतबार निर्वाचनका विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो ।
आयोगले निर्वाचनका लागि मतदान स्थल र केन्द्र तथा मतदाता नामावली अध्यावधिकको कार्य पनि अघि बढाएको छ ।