
४ माघ २०७७, आइतवार
दोस्रो सिजनका लागि नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जा (इन्टरनेसल नेपाली जर्नालिस्ट एसोसिएसन)ले खोजी पत्रकारिता गर्ने नेपाली पत्रकारहरू खोजिरहेको छ ।
इन्जाले इन्भेस्टिगेटिभ जर्नालिज्म अवार्ड र कम्युनिटी जर्नालिज्म अवार्डको दोस्रो सिजनका लागि नेपाली पत्रकारहरू खोजी गरिरहेको हो ।
एक–एक लाख रुपैयाँ राशि रहेको दुवै पुरस्कारका लागि नेपाली पत्रकारहरूबाट निवेदन माग गरिएको इन्जाले जनाएको छ ।
अमेरिकाको भर्जिनियास्थित इन्जा मुख्यालयबाट जारी सूचनामा इच्छुक नेपाली पत्रकारले ३० जनवरीभित्र निवेदन पेस गर्न आह्वान गरेको छ ।
पत्रकारितासम्बद्ध दुवै पुरस्कारका लागि निवेदन दिन चाहने पत्रकारलाई सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपी वा लिङ्क निवेदनसाथ पेस गर्न इन्जाले सूचित गरेको छ ।
पुरस्कारका लागि निवेदन दिने पत्रकारले आफूलाई उत्कृष्ट लागेका तीनवटा समाचार प्रतिस्पर्धामा समावेश गर्न सक्नेछन् ।

मार्च १ मा इन्जा स्थापना दिवसको अवसरमा काठमाडौंमा एक विशेष समारोह आयोजना पुरस्कारहरू हस्तान्तरण गरिनेछ ।
पत्रकारिता पुरस्कारको निवेदन र साहित्यिक कृतिको सिफारिस info@innja.org, injaglobal@gmail.com इमेलमा पठाउन सकिनेछ ।
गत वर्ष इन्जा इन्भेस्टिगेटिभ जर्नालिज्म अवार्ड हाम्रा कुरा डट कमका प्रधान सम्पादक अजयबाबू सिवाकोटी र इन्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुङ्गाना र बाजुराका प्रकाश सिंहलाई दिइएको थियो ।