४ माघ २०७७, आइतवार

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ ।

आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो ।

विसं २०२० मा बनेको अस्पतालको आकस्मिक कक्षमा जम्मा १० शय्या क्षमता रहेको छ ।

समयअनुसार बिरामीको चापलाई ध्यान पुर्याएर नयाँ भवन बनाउन लागिएको उनको भनाइ छ ।

अब बन्ने आकस्मिक कक्षमा ५० शय्या रहनेछन् ।

स्वास्थ्य मन्त्रालयको रु नौ करोडमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।

हाल बोलपत्रमा आकस्मिक कक्षका लागि भुइँतला मात्रै बनाइने भए पनि आगामी वर्ष थप दुई तला बनाउन मिल्ने गरी नक्शाङ्कन गरिएको छ । माथिल्लो तलामा ट्रमा सेन्टर बनाउने योजना रहेको डा अधिकारीले बताए ।

आकस्मिक कक्षमा ट्रमा सेन्टरसहित शल्यक्रिया कक्षसमेत रहने अध्यक्ष अधिकारीले जानकारी दिए ।

उनले भने, “आकस्मिक कक्ष बनेपछि शय्या अभावमा बिरामी बाहिर जानुपर्ने बाध्यता रहँदैन ।” आकस्मिक कक्षका परीक्षणका उपकरणसहित बिरामीलाई सबै सुविधा त्यसैभित्र हुने उनको भनाइ छ ।

बिरामी आएलगत्तै जटिलताका हिसाबले छुट्याएर बिरामीको उपचार गर्ने व्यवस्था गरिनेछ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष हुनेछ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार आकस्मिक कक्षमा वार्षिक ४० हजार हाराहारी बिरामी आउने गर्दछन् । शय्या थप गरेसँगै यो सङ्ख्या बढ्ने उनले बताए ।

उनले भने, “ठूलो दुर्घटना हुँदा आकस्मिकरूपमा धेरै बिरामी राखेर उपचार गर्न सकिएको थिएन । नयाँ भवन बनेसँगै अब त्यो सम्भव छ ।”

राजधानी भित्रिने र बाहिरिने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पूर्वपश्चिम राजमार्गलगायतका धेरै सडक सञ्जालसँग जोडिएकाले यहाँ दुर्घटना धेरै हुने गर्दछन् ।

सरकारी अस्पतालको आकस्मिक कक्ष सानो र सुविधा नहुँदा अधिकांश दुर्घटनाका घाइते निजी मेडिकल कलेजमा लैजानुपर्ने बाध्यता छ ।

अहिलेको प्रशासनिक भवनको पछाडि रहेको खाली ठाउँमा आकस्मिक भवन बनाइँदैछ ।

देशकै मध्यभागमा रहेकाले यहाँ देशका १९ जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् ।

भूकम्पको समयमा पहाडी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी यहाँ ल्याएर उपचार गरिएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर