२८ पौष २०७७, मंगलवार
नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उहाँको जन्म भएको थियो ।
उहाँले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गर्नुभएको थियो ।
सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील हुनुहुन्थ्यो ।
उहाँ रेडियो देवघाटको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
नेपाल रेडक्रश सोसाइटीलगायत सामाजीक सङ्घ संस्थामा उहाँ सङ्लग्न हुनुहुन्थ्यो ।
उहाँका दुई छोरा र दुई छोरी छन् ।
सभापति श्रेष्ठले नेता तिमिल्सिनाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
उहाँको आजै निवास भरतपुर–५ बाट शवयात्रासहित देवघाटमा अन्त्येष्टि गरिदैँछ ।