२४ पौष २०७७, शुक्रवार

पूर्वकप्तान स्टिभ स्मिथको शतकको सहयोगमा भारतसँगको तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले २ सय ४२ रनको अग्रता लिएको छ ।


दोस्रो दिनको समाप्तिमा भारत पहिलो इनिङमा ४५ ओभरमा २ विकेट गुमाउँदै ९६ रन बनाएको छ ।

भारतका कप्तान अजिक्या रहाने ५ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् ।

ओपनर रोहित शर्मा र सुभमन गिलले पहिलो विकेटका लागि २७ ओभरमा ७० रनको साझेदारी गरेका थिए ।

जोश हेजलवुडले रोहित शर्मालाई २६ रनमा कट एण्ड बोल्ड आउट गर्दै पहिलो विकेट लिएका थिए । रोहितले ७७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

३३ औं ओभरको पहिलो बलमा अर्का ओपनर सुभमन गिललाई प्याट कमिन्सले क्यामरन ग्रिनबाट ५० रनमा क्याच आउट गराए ।

करिअरको दोस्रो टेष्ट खेलि रहेका गिलले आफ्नो पहिलो अर्ध शतक प्रहार गर्दै पेभिलिएन फर्किए । गिलले १ सय १ बलमा ८ चौका प्रहार गरे ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया १०५.४ ओभरमा ३ सय ३८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रनमा आउट भए ।

अन्तिम विकेटका रुपमा स्मिथ रविन्द्र जडेजाको उत्कृष्ट डाइरेक्ट थ्रो मा रन आउट भएका थिए । स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो ।

७१ औं ओभरमा मार्नस लाबुसेन ९१ रनमा क्याच आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान अजिक्या रहानेबाट क्याच आउट हुँदै लाबुसेन पेभिलिएन फर्केका थिए । शतक नजिक पुगेका लाबुसेनलले १ सय ९६ बलमा ११ चौका प्रहार गरे ।

जडेजालेनै म्याथ्यु वेडलाई ७७ औं ओभरमा जस्प्रित बुमराहबाट १३ रनमा क्याच आउट गरे ।

जस्प्रित बुमराहले युवा अलराउन्डर क्यामरन ग्रिनलाई शून्यमा एलबिडब्लू र कप्तान टिम पेइनलाई १ रनमा बोल्ड आउट गरे । जडेजाले प्याट कमिन्सलाई शून्यमा बोल्ड आउट गरे । मिचेल स्टार्क ३० बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए ।

ओपनर डेभिड वार्नर चौथो ओभरको तेस्रो बलमा मोहम्मद सिराजले चेतेश्वर पुजराबाट ५ रनमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि विल पुकोव्स्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।

डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका पुकोव्स्कीलाई ३५ औं ओभरको दोस्रो बलमा नवदीप सैनीले ६२ रनमा एलबिडब्लू आउट गरेका थिए । पुकोव्स्कीले १ सय १० बलमा ४ चौका प्रहार गरे ।

स्पिनर रविन्द्र जडेजाले १८ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ४ विकेट लिए । नवदीप सैनी र जस्प्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराजको नाममा १ विकेट रह्यो ।

चार टेष्ट खेलको सिरिज दुई खेल सकिँदा १–१ को अवस्थामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर