२१ पौष २०७७, मंगलवार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई कमजोर पार्नेलाई जनताले कहिल्यै माफी नदिने बताएका छन् । नेकपा धनुषाद्वारा मंगलबार जनकपुरधामको मिथिला भवन परिसरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकता कमजोर गर्ने काम स्वीकारयोग्य हुन नसक्ने धारणा राखेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले भने, ‘पार्टी एकता प्राणभन्दा पनि प्यारो छ, म अन्तिम क्षणसम्म पनि पार्टी एकताकै पक्षमा दृढ रहनेछु ।’ उनले जनता विभाजनका पक्षमा नरहेकाले पार्टी एकताविरुद्ध लाग्ने तथा पार्टी र सरकारलाई गतिहीन बनाउन आकाङ्क्षा राख्नेलाई जनताले दृढताका साथ सामना गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको आवश्यकताको मर्मअनुरूप प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे । शहरी विकासमन्त्री प्रभु साहले विद्यमान अवस्थाप्रति जिम्मेवार भई सत्यको बाटामा लाग्न आवश्यक रहेको बताए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्रीले देशलाई आधुनिक युगमा प्रवेश गराएको विचार राखे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले पार्टीविरुद्ध भ्रमको खेती गर्नेप्रति सजग रहन आग्रह गरे । रासस

प्रतिक्रिया

सम्बन्धित खवर