१६ पौष २०७७, बिहिवार

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास र समृद्धि देख्न नचाहनेहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाएका छन् ।

हेटौंडाको नारायणी बहुद्देश्यीय सहकारी संस्थाको रजत महोत्सवको बुधबार समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले जनताले जिताएर पठाएकाहरु नै विनाशको बाटोमा लागेको भन्दै अब सही मान्छे चिन्न सक्नुपर्ने बताए । आफूले गृह जिल्लामा बढीभन्दा बढी विकास गरेको भन्दै पौडेलले तैपनि आफ्नै जिल्लाका सांसदहरु आफूविरुद्ध उत्रिएकोप्रति आश्चार्य व्यक्त गरे ।

‘एउटा मकवानपुरे मान्छे यो प्रदेशको मुख्यमन्त्री बनेको छ । तपाई गन्दै जानुस् अरबौं अरबका विकासका कामहरु भइरहेका छन् । हिजो सामान्यभन्दा सामान्य उपचार गर्न नसक्ने हेटौंडा अस्पताल ३ सय शैयासहित आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण भएको छ । अब अर्को वर्षदेखि घरको दालभात खाएर हेटौंडेलीले डाक्टर पढ्नसक्ने हैसियत बनाएका छौं । यदि म यहाँ हुँदैन थेँ भने यी सबैकुरा यहाँ हुँदैनथे । जहाँको मुख्यमन्त्री हुन्थे उतै जान्थ्यो,’ पौडेलले भने, ‘बिसौं वर्षदेखि अलपत्र रहेको गौरीटार रंगशाला अहिले पचास करोडको ठेक्का लाग्न लागेको छ । अन्तर्राष्ट्रिय रंगशाला बने हेटौंडाकै आम्दानी बढ्छ । सिटिईभिटी जो २० वर्षदेखि काम भइरहेको थिएन । अहिले २२ वटा बिल्डिङ बनिरहेका छन् । पुल बाटो घाटो सबै हेर्नुहोस् । यो सबै प्रदेश सरकारले गरेको हो । तर, तपाई हामीले पठाएका मान्छेहरुलाई यो अपच भो ।’
आफूविरुद्ध लाग्ने मकवानपुरे सांसदहरुप्रति लक्षित गर्दै पौडेलले भने–‘मैले गरेका यतिका विकास देख्न चाहेनन् र मेरा विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् ।

मकवानपुरबाट प्रदेश सांसद बनेका मुनु सिग्देल, प्रेमबहादुर पुलामी र कुमारी मोक्तानसहित ४५ जना सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभामा रहेका एकसय १० सांसदमध्ये नेकपाका ८० सांसद छन् । त्यसमध्ये ४५ जना माधव–नेपाल पक्षमा उभिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर