१४ पौष २०७७,मंगलवार

लण्डन, बेलायतमा एक वर्षे अध्ययन सकेर गत डिसेम्बर २५ क्रिसमसकै दिन नेपाल फर्किने तयारीमा थिए डाक्टर सुभाष रेग्मी ।

तर बेलायतमा नयाँ प्रकृतिको भाइरस फैलिएको कारण देखाउँदै बेलायतबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएपछि अहिले उनी बेलायतमै अलपत्र जस्तै बनेका छन् ।

चितवन भरतपुरका रेग्मी नेपालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् । विगतमा पाल्पा मिसन अस्पताल, बुटवल चौराहा अस्पताल लगायतमा काम गरिसकेका उनी ‘मास्टर्स इन अर्थोपेडिक्स’ कोर्सका लागि गत वर्ष बेलायत आएका थिए । बेलायतको चेस्टर विश्वविद्यालयमा सन् २०१९ को अक्टोबरमा शुुरु भएको उनको पढाइ गत अक्टोबर अन्त्यतिरै सकियो । तर नतिजा केही ढिलो गरी यही डिसेम्बरमा मात्र प्रकाशित भयो ।

अध्ययन पूरा भएलगत्तै नेपाल फर्किने योजना थियो रेग्मीको । ‘शुरुमा टर्किस एअरवेजको टिकट लिएको थिएँ । तर उनीहरुले बेलायतबाट उडानहरु स्थगित गरेपछि फेरि डिसेम्बर २५ का लागि इमिरेट्स एअरवेजको अर्को टिकट काटें’, उनले नेपाली लिंकसंग भने, ‘टर्किस एअरवेजबाट टिकटको रिफण्ड आइसकेको छैन । यता इमिरेट्सको टिकट पनि ओपनमा राखेको छु । नेपाल सरकारले कहिले प्रतिवन्ध हटाउँछ र घर फर्किन पाइन्छ भन्ने पर्खाइमा छु ।’

क्रिसमसको दिनलाई टिकट लिएका डा रेग्मीले डिसेम्बर २२ मा एक सय पाउण्ड बुझाएर पिसिआर टेस्ट समेत गराइसकेका थिए । तर त्यही दिन नेपाल सरकारले बेलायतबाट जाने यात्रुलाई रोक लगाउने निर्णय आयो । ‘नेपाल जान त रोकियो नै, पिसिआर टेस्टलाई बुझाएको रकम पनि व्यर्थैमा गयो’, उनले सुनाए ।

नेपाल जाने योजना अचानक स्थगित गर्नुपर्दा डा रेग्मीलाई अर्को समस्या पनि थपिएको छ । विश्वविद्यालयनजिकैको क्षेत्रमा उनी बस्दै आएको घरको सम्झौता पनि यही डिसेम्बर ३१ मा सकिन लागेका कारण त्यसपछि कहाँ बस्ने भन्ने समस्या सिर्जना भएको छ ।

‘जनवरी १ पछि के गर्ने अझै अन्योलमा छु’, उनले भने, ‘फेरि बेलायतको चलनअनुसार केही साता वा एक महिनाको लागि मात्रै सम्झौता बढाउन पनि नमिल्दो रहेछ । कम्तीमा तीन महिनाको सम्झौता गर्नुपर्ने नियम हुंदोरहेछ ।’

प्रतिवन्ध हटाउने विकल्प खोज्न सरकारलाई सुझाव

नेपाल सरकारले लगाएको यात्रा प्रतिवन्धको कारण अहिले बेलायतमै रोकिन बाध्य डा रेग्मी नेपाल फर्किन पाउने अवसरको पर्खाइमा छन् ।

नेपाल सरकारले बेलायतमै अलपत्र बनेका आफूजस्तै अन्य नेपाली नागरिकको लागि विशेष व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

‘आम रुपमा प्रतिवन्ध लगाएको ठीकै होला । तर मजस्ता अस्थायी रुपमा बेलायतमा रहेका नेपाली नागरिकलाई परेको व्यवहारिक कठिनाई पनि सरकारले हेरिदिनुपर्यो’, डा रेग्मी भन्छन्, ‘कोभिड १९ परीक्षणको नगेटिभ नतिजा देखाउन सक्ने र नेपाल पुगेर अनिवार्य क्वारेन्टिनमा बस्न तयार हुने आफ्ना नागरिकलाई देश प्रवेश गर्न सक्ने व्यवस्था गरियोस् भन्ने मेरो माग छ ।’

बेलायतमा नयाँ भाइरस देखियो भनेर कयौं मुलुकले लगाएका प्रतिवन्ध अहिले फुकुवा भइसकेको उदाहरण दिंदै उनले भने, ‘नेपाल सरकारले पनि आवश्यक सतर्कता र सुरक्षासहित प्रतिवन्ध फुकुवा गर्ने विकल्प खोज्नुपर्छ ।’

नेपाल पुगेर काममा फर्किन आतुर डा रेग्मीले आफ्नो समस्यालाई संवेदनशील ढंगले हेरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

‘अहिले महामारीको बेला मजस्ता डाक्टरको अझै बढी खाँचो छ नेपालमा । त्यसकारण पनि जतिसक्दो चाँडो काममा फर्किन म आतुर छु’, आफ्नो नेपाल फिर्तीलाई सहज पार्न सरकारलाई आग्रह गर्दै उनले प्रश्न गरे, ‘अहिले बेलायतमा भेटिएको यो नयाँ भाइरस महिनौंसम्म पनि हराएन भने के यसरी नै प्रतिवन्ध जारी राख्न सम्भव हुन्छ त ? समाधानको अरु विकल्प खोज्न आवश्यक छैन र ?’नेपाली लिकंवाट

प्रतिक्रिया

सम्बन्धित खवर