१४ पौष २०७७, मंगलवार

निर्मला कडायत
शिक्षापत्रवाट


कैलाली– खुटिया नदीमा गिट्टी कुटेर जीवन गुजारा गर्दै आएकी गोमा विक अचेल सकसमा छिन् । लकडाउनका कारण विकास निर्माणका काम ठप्प भए । गिट्टी बिक्नै छोड्यो । गिट्टीले मूल्य नपाउँदा गोमालाई खर्च धान्न धौ धौ छ।

‘नुनतेल, बिजुलीको बिल, बालबच्चाको फी सबै गिट्टी बेचेर आएको पैसाबाट तिरिन्थ्यो,’ गोदावरी नगरपालिका बल्मीकी गोमा भन्छिन्, ‘गिट्टी बिक्नै छोडेकाले समस्या भयो ।’
सस्तोमै दिँदा पनि ठेकेदारले गिट्टी नलगेको गुनासो गोमाको मात्र होइन । महिना दिन लगाएर कुटेको गिट्टी बिक्री नहुँदा बल्मीकी सरिता महरा पनि चिन्तामा छिन् । ‘पहिले क्विन्टलको २ हजार रुपैयाँ आउँथ्यो, अहिले एक हजार पनि पाइँदैन,’ महरा भन्छिन्।

गिट्टीले मूल्य नपाएपछि सरिताले उधारोमै ‘राशन’ लिन थालिन् । पहिले त पसलेले पनि उधारोमै दिए । तर अब पसलेले पनि उधारो दिन छोडेका छन् । ‘उता उधारो पनि दिन्नन् यता गिट्टी पनि बिक्दैन,’ सरिताले दुःख पोखिन्, ‘पर्नु समस्या परिगो।’

गिट्टी कुटेरै घर चलाउनु बल्मीवासीको जीवनचर्या हो । यसमै उनीहरूको वर्षौं बितेको छ । अधिकांश बल्मीवासीको आधा उमेरको पसिनाले भिजेको छ, खुटिया नदी । उमेर भएकाहरूले गिट्टी कुटेर २ छाक सहजै जोहो गरिरहेका थिए । तर अहिले गिट्टीको भाउ घटेपछि समस्या भएको हो।

उमेरले साठी कटिसकेका आमाहरू पनि सकीनसकी गिट्टी कुटिरहेका देखिन्छन् । खोलाबाट ढुंगा छानेर किनारासम्म लैजानु र हथौडाले फोर्नु सहज छैन । उमेर ढल्केका आमाहरूलाई १ क्विन्टल गिट्टी बनाउन महिना दिनभन्दा बढी लाग्छ । त्यो गिट्टी बेच्दा आमाहरूले हजार रुपैयाँ मुस्किलले पाउँछन् । त्यो हजारको नोटले महिना दिनको खर्च चलाउन के पुगोस्?

गोदावरी नगरपालिका ९ मा रहेको खुटिया नदी गोमा र सरिताजस्ता निम्न आय भएका श्रमजीवीको गरिखाने आधार हो । यो नदीमा धेरै महिला, पुरुष र बालबालिकासमेत छाक टार्नकै लागि गिट्टी कुट्ने गर्छन्।

 

लकडाउनका बेलामा पनि केही महिनासम्म खुटिया नदी सुनसान थिएन । गिट्टी कुटेको आवाज आइरहन्थ्यो । विकास निर्माणका काम घटेसँगै त्यसको प्रभाव गिट्टी कुट्नेहरूमा परेको हो। केही वर्षयता ठाउँ–ठाउँमा क्रसर उद्योग सञ्चालनमा आएपछि उनीहरूको गिट्टी बिक्री कम हुन थालेको थियो । लकडाउनपछि भने धेरै विपन्न परिवारको बिचल्ली भएको छ।

‘जिन्दगी गिट्टी कुटेरै जाने भो, गिट्टी कुटेर पनि बसरी बाँच्ने भन्ने चिन्ता भो,’ गिट्टी कुटिरहेका आमाहरूको साझा दुखेसो हो यो।

स्थानीय सरकारले केही सीप सिकाइदिए गिट्टी कुट्ने काम छोडिदिने बल्मीकी यशोदा विष्ट बताउँछिन् । एसएलसीसम्म अध्ययन गरेकी यशोदाले सीप नभएकाले अन्य काम गर्न नसकेको बताइन्।

‘भोट माग्न आएका बेला सीप सिकाएर रोजगारी दिन्छौं भनेका थिए, तर गएपछि फर्केर हेरेनन्,’ यशोदा भन्छिन्, ‘नेताका दिन फेरिए तर उनीहरूका सुनौला सपनामा भुलेका हामी जनताका दुुःख उस्तै छन् ।’ स्थानीय तहहरूबाट प्राप्त हुने राहतले एक साताको खान्की पनि नपुग्ने बल्मीवासीको दुखेसो छ।

प्रतिक्रिया

सम्बन्धित खवर