११ पौष २०७७, शनिवार

स्याङ्जाबाट नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका स्याङ्जा नेकपाका अध्यक्ष सूर्यप्रसाद गैह्रै ‘पारस’ले निकै लामो फेशवुक स्टाटस लेख्दै अहिलेको वर्तमान अवस्थामा किन चुनावमा जानु परयो भन्ने वारेमा अर्थाएका छन ।

 व्यक्तिगत, दलगत र गुटगत स्वार्थका कारणले साधारण शक्ति बांडफांडको विषयलाई लिएर शक्तिशाली, स्वाभिमानी तथा समृद्धिको विशाल “अभियानमा रहेको सरकारलाई फेरबदल गर्न खोज्ने निकृष्ट प्रक्रिया पार्टीमा अगाडि बढाईएकाले चुनावमा जानुको विकल्प नभएको” उनको तर्क छ ।

“विगत जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगाएत सम्पुर्ण आन्दोलनमा योगदान पुर्याएर वर्तमान व्यवस्थाको स्थापना गर्नेहरु फेरि एकपटक एक ठाउँमा उभिऔं ,समृद्ध नेपाल सूखी नेपाली को मार्ग रोज्न लाई समेत उनले सवैमा आग्रह गरेका छन” । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिन्छन ।

हेरौ उनको फेशवुक स्टाटस

सांच्चिकै आग्रह पुर्वाग्रहवाट माथी उठेर ईतिहास देखि वर्तमान सम्मलाई हेरौं । ०१७ सालमा विपी नेतृत्वमा रहेको दुई तिहाई संसदलाई राजा महेन्द्रको कु मार्फत विघटन गरि निरंकुशताको प्रारम्भ गरे । ०५१ सालमा गिरिजाप्रसाद कोईरालाले आफ्नै दलको बहुमत रहेको संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरे । ०५९ सालमा शेरबहादुर देउवाले संसद विघटन गरे । फेरि अहिले हाम्रो पार्टी अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशको लागि निर्वाचनको घोषणा गर्नुभएको छ ।

पछिल्लो आधुनिक राजनीति कालखण्डलाई मात्रै मुल्यांकन गर्दा हाम्रो देशमा जनताको अभिमतद्वारा निर्माण भएका शक्तिशाली सरकारहरु टिक्न सकेका छैनन् । यस्तो गम्भीर चक्रमा हाम्रो देशको राजनीति किन घुमिरहेको छ ? मुख्य समस्या के हो र निवारण कसरी सम्भव छ ? हामीहरु राजनीतिक दल वा विचारमा ध्रुवीकरण हुंदा खडा भएको यक्ष प्रश्नको सत्य एवं बिज्ञानसम्मत राजनैतिक तर्कका साथ भयौं भने मात्रै हामीहरु फेरि-फेरि फोहोरी राजनीतिको चक्रमा फस्नुपर्दैन ।

विगतलाई अध्ययन गरौं । वर्तमान राजनैतिक घट्नाको यथार्थलाई केलाऔं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता समाजवाद उन्मुख राज्यसत्ता निर्माणमा अग्रसर हुंदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को वैचारिक आधारमा उभिएको थियो । नेकपाको विचार र कार्यक्रमलाई नेपाली जनताले चुनाव मार्फत अभिमत जाएर गरि स्वीकृति पनि प्रदान गरे । तर बिडम्बना सत्ताको नेतृत्व प्राप्ति संगै हाम्रो पार्टीमा बिचलन शुरुवात भयो ।

सम्माननिय प्रधानमन्त्रीले आफ्नो कार्यकालमा राष्ट्रमा समृद्धिको आधार तयार गर्ने प्रतिवद्द्ता निरन्तर सार्वजनिक गर्नुभयो । तर पार्टीको नेतृत्व तहमा रहेको ठूलो हिस्साले सरकारलाई जनमुखी र समाजवाद उन्मुख कार्यक्रमको निम्ति सुझाव र दबाब दिनेभन्दा पनि असफलताको प्रतीक्षा गरेर बस्यो । यदि हामीले विगत ३ वर्षको यथार्थलाई बिना पुर्वाग्रह केलायौं भने सजिलै बुझ्न सक्छौं, सरकारमा नभएको नेतृत्वले सरकार समक्ष शक्तिको बांडफांड बाहेक समाजवाद उन्मुख, सुशासन र समृद्धिको खाका कहिल्यै पेश गरेन । सरकारले गरेका राम्रा कामको अपनत्व पार्टीले संस्थागत रुपमा लिने कहिल्यै निर्णय गरेन ।

विगत ३ वर्षको अवधिमा धेरै ऎन/कानुनहरुको निर्माण भए । तर अहिले संविधान र बिधिको सासनको कुरा गर्ने नेतृत्वले समाजवाद उन्मुख एवं कल्याणकारी राज्यले निर्माण गर्नुपर्ने ऎन/कानुनको निर्माणका निम्ति कहिल्यै अडिग नेतृत्व र पहल गरेन ।

वर्तमान राज्यव्यवस्थाको निर्माणमा कम्युनिस्ट एवं प्रजातान्त्रिक कित्तामा रहेका सबै नेतृत्वगणको महत्वपूर्ण भुमिका रहेको कुरालाई ईतिहासले लिपिवद्द गरिसकेको छ । आन्दोलनको क्रममा हामीले करिब ७ दशक बढी समय गुजारिसक्यौं । हामिले सबै प्रकारको मौलिक हक सहितको संघीय लोकतान्त्रिक गणतन्त्र पनि स्थापित गर्यौं । अब प्राप्त राजनैतिक उपलब्धिलाई संस्थागत गर्नको लागि हामी समृद्धिको महान यात्रामा अगाडि बढ्नुपर्दछ ।

व्याक्तिगत, दलगत र गुटगत स्वार्थका कारणले साधारण शक्ति बांडफांडको विषयलाई लिएर शक्तिशाली, स्वाभिमानी तथा समृद्धिको विशाल अभियानमा रहेको सरकारलाई फेरबदल गर्न खोज्ने निकृष्ट प्रक्रिया पार्टीमा अगाडि बढाईयो । जनअभिमत प्राप्त स्वाभिमानी एवं शक्तिशाली सरकारको स्वतन्त्र निर्णयलाई स्वेच्छाचारीताको पगरी लगाईयो ।

बिद्रोह जनताको अधिकार हो । बिद्रोहको नेतृत्व सधैं नै विचार सहितको नेताले नै गर्छ । अहिले पार्टीकै एउटा हिस्साले अराजनीतिक एवं निहित स्वार्थलाई केन्द्रमा राखेर जनताको अभिमतमाथी कुठाराघात हुनेगरी अस्थिरताको अनन्त खेल शुरुवात गर्न खोज्यो । असहमतिमा कुनै बैचारिक एवं दृष्टिकोणको आधार नहुनु नै यसको प्रमाण हो । त्यसैले पार्टी अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री ओलीले स्थायित्व र समृद्धिका खातिर संबैधानिक आधारमा टेकेर बिद्रोहको नेतृत्व गर्नुभएको छ । विगत जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगाएत सम्पुर्ण आन्दोलनमा योगदान पुर्याएर वर्तमान व्यवस्थाको स्थापना गर्नेहरु फेरि एकपटक एक ठाउँमा उभिऔं । ‘समृद्ध नेपाल सूखी नेपाली’ को मार्ग रोजौं ।

प्रतिक्रिया

सम्बन्धित खवर