
८ पौष २०७७, बुधवार
हालसम्म कोभिड १९ मुक्त रहिआएको अन्टार्कटिका महादेशमा पनि कोरोनाभाइरस पुगेको छ । चिलेको सेनाले अन्टार्कटिका महाद्वीपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको पुष्टि गरेको हो ।
सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक तथा १० जना मर्मतसम्भार गर्ने कामदार रहेको जनाइएको छ । अधिकारीहरूका अनुसार सङ्क्रमित सबैलाई उद्धार गरी चिले पुर्याइएको छ । बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको सेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा सङ्क्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशमा आएको हो । त्यहाँ सङ्क्रमण पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोनाभाइरस फैलिन पुगेको छ ।
सार्गेन्टो एल्डीआ नामक पानीजहाज गत २७ नोभेम्बरमा बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिले फर्केको थियो । ताल्कावानोस्थित चिलेको सैनिक केन्द्र फर्केका चालक दलका तीनजना सदस्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो । चिलेले अन्टार्कटिकामा खडा गरेका चारवटा स्थायी केन्द्रमध्ये बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र एउटा हो जसलाई सेनाले सञ्चालन गरिआएको छ ।
कोरोनाभाइरसबाट ल्याटिन अमेरिकी मुलुकमध्ये चिले छैटौँ सबैभन्दा नराम्ररी प्रभावित मुलुक हो । त्यहाँ अहिलेसम्म ५,८५,००० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्रिटिश अन्टार्कटिक सर्भेले कोरोनाभाइरस महामारीलाई दिएर अनुसन्धान कार्य रोक्न लागेको गत अगस्ट महिनामा घोषणा गरेको थियो।