अनिता लामा

मेरो लागि, अझ हाम्रो लागि त केही पनि चाहिँदैन । यो प्रधानमन्त्री पद पनि केही होइन, हामीलाई दुःख र चिन्ता भनेको आजको भन्दा पनि भोलिको पुस्ताको हो ।

‘वास्तवमा भन्ने हो भने हामी दुइजनाको लागि त केही पनि चाहिँदैन । अब उहाँले ५५ वर्षदेखि राजनीतिमा होमेर अनेकौं दुःखकष्ट गर्नुभयो र त्यसको परिणाम स्वरूप जनताको अपार माया पनि पाउनुभयो । त्यो भन्दा वढी अरु के चाहियो ? हामीलाई तनाव छैन । तनाव जो जो ले नेगेटिभ सोचेर आक्रमण गरीरहनुभाछ, उहाँहरुलाई नै छ । अहिले प्रधानमन्त्रीमाथि भइरहेको कुरा नै गरौं हाम्रा नेताहरु । कहिले कता कहिले कता मिटिङ गर्नुभएको सुन्छु । त्यो कुदाई अनुसार जनताको राम्रो हुने भए त कुदाईको मतलब हुन्छ । जनताको लागि केही नहुने कुरामा किन यसरी कुद्न्भयो भन्ने लाग्छ । बुढो, बुढो भइसक्नु भयो, बुढो दिमाग सृजनात्मकताको लागि कुदाएको राम्रो । मेरो लागि, अझ हाम्रो लागि त केही पनि चाहिँदैन । यो प्रधानमन्त्री पद पनि केही होइन, हामीलाई दुःख र चिन्ता भनेको आजको भन्दा पनि भोलिको पुस्ताको हो ।’

 

 

यो अभिव्यक्ति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी आदरणीय राधिका शाक्यको हो ।

२०७७ असार २१ गतेको दिन आमा राधिका (म सम्मानले आमा भन्छु) ले बोल्नुभएको माथि उल्लेखित सोही अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलियो । धेरैले हेरे, सेयर गरे ।

त्यो भिडियो साहित्यकार झमक घिमिरेका लागि नेपाल सरकारले बनाइदिइरहेको घरको प्राङ्गणमा झमक घिमिरेको जन्मदिनको अवसरमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमको थियो ।

घरको बाहिरी बनावट पूर्ण निर्माण सम्पन्न भएपनि भित्रको फिनिसिङको काम हुँदै गरेको बेला थियो, प्रतिष्ठान सम्बद्ध व्यक्तिहरु र घर निर्माणको लागि जमिन खोज्ने, जमिन हस्तान्तरण गर्ने र घर निर्माण गर्ने कार्यसम्मका लागि अत्यन्तै स्नेहपूर्वक लाग्नुभएका आदरणीय आमाले पनि घरको निरीक्षण त्यही बेलामा गर्नेगरी कार्यक्रम बनाएका थियौं ।

उहाँ सार्वजनिक कार्यक्रममा बिरलै मात्रै बोल्नुहुन्छ, कारण प्रचार उहाँको रूचि होइन । त्यसैले उहाँ यदाकदा भन्नुहुन्छ– केपी शर्मा ओली हुनुभएन भने के होला भनेर सबैभन्दा वढी चिन्ता मलाई पत्रकारको लाग्छ । किनभने उहाँहरुको जागिर र सृजनशीलता सबै यतिबेला केपी ओली भएका छन् ।

एक फरक प्रसङ्गमा थियौं हामी ।

९४ वर्षका कम्युनिष्ट योद्धा हर्ष स्याङ्बो जो कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका समकक्षी हुनुहुन्थ्यो । उहाँले पुष्पलालसँगै पार्टी सदस्य लिएर पार्टीको गण्डकी प्रान्तको जिम्मेवारी भएर काम गर्नुभएको थियो ।

संगठनको काम गर्दागर्दै काठमाडौकी राणा परिवारकी छोरी संगठनको कामबाट प्रभावित भएर प्रेममा परेपछि पुष्पलालसँगको सल्लाह अनुसार जनवादी विवाह गर्नुभएको थियो । उनै जीवित योद्धा हर्ष स्याङ्बोलाई उहाँको इच्छा अनुसार हामीले सम्माननीय प्रधानमन्त्रीलाई भेट गराइदिएका थियौं । (यस विषयमा पछि छुट्टै श्रृङ्खला लेख्नेछु)

यही प्रसङ्गमा आमा राधिकाले भन्नुभयो – “यहाँ कतिजना मलाई भेट्न भन्दै भेट्न आउनुहुन्छ । यस्तै सेवाको काम होला भन्ने ठान्यो, जागिरको कुरा, सरुवा बढुवाको कुरा हुन्छ । म त सबैलाई भन्ने गर्छु, आफ्नो क्षमताले भ्याएसम्म आफैले गर्ने हो, यस्तो भनसुन गरेर काम गर्ने काम म बाट हुँदैन । मेरो त आफन्त नातेदारहरूलाई प्रष्ट भन्ने गरेकी छु कि यतिबेला आफ्नो मान्छे पदमा छ भनेर मौका खोज्ने होइन, आफ्नो मान्छे ठान्ने हो भने त्याग गर्ने हो यतिबेला, आफू पक्षपात नभइकन काम गर्ने हो, असल चरित्र देखाउने हो । हामीलाई त के चाहिएको छ र ? देश बनोस्, समाज बनोस् भन्ने न हो । उहाँको मूल मन्त्रै छ, ‘भ्रष्टाचार कहिल्यै गरिन्न, गरेको पनि सहन्न ।’ हैन भ्रष्टाचार के को लागि कसको लागि गर्ने ? अबको काम सेवामा लाग्ने भनेर घोषणा नै गरिसक्नुभयो उहाँले । हामीसँग जनताको माया भन्दा वढी केही छैन, त्यो भन्दा वढी केही चाहिएको पनि छैन ।”
––––––––––––––––––––––––– ––––––––––––––––––––– –––––––––––––––––––––––––––
कीर्तिपुरको भत्केको पाटीमा एकजना बेसाहारा सडक मानवको उद्दार गर्नुपर्ने खबर मानव सेवा आश्रमलाई आयो । खबर हेल्लो सरकारबाट थियो । मानव सेवा आश्रमसँगै कीर्तिपुर भत्केको पाटीमा जाँदैगर्दा आमा राधिका शाक्यको फोन आयो । हामी उद्दारको लागि जाँदैछौं भन्ने सुन्नुभएप्छि खुशी हुनुभयो र के, कसो हुन्छ अद्यावधि गर्नेगरी फोनबाट छुट्टियौं ।

मानव, मानवीयता र हरेक घटनाहरुको जाँचबुझ तथा उद्दारमा आमा राधिका शाक्यको गहिरो लगाव छ । स्थानीय कीर्तिपुर नगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले ज्येष्ठ नागरिक बुवाको उद्दार त भयो तर उद्दार भएको केही घण्टामा नै कीर्तिपुर अस्पतालमा बा को दुःखद् निधन भयो । दिनभर दिमाग उद्धेलित भयो, राधिका आमालाई जानकारी गरायौं ।
‘कमसेकम नुहाइधुवाई औषधोपचार सहित सफा भएर मृत्यु हुनु लेखेको रहेछ, झुप्रोमै सडेगलेको अवस्थामा यदि उहाँको मृत्यु भएको भए शरीर सडुन्जेल थाहा पाउँदैनथियो कसैले । त्यसैले यति गर्नसकियो, यतिमै सन्तुष्ट लिने र सेवाकार्यमा अर्को उर्जा लिने गर्नुपर्छ । मेरो सबैलाई यही सन्देश सुनाइदिनु ।’ राधिका आमाको फोनबाट प्राप्त यो प्रेरित सन्देश मैले यहीँ राखें ल प्रिय सेवक,सेविका मानव सेवा आश्रम !
––––––––––––––––––––– ––––––––––––––––– ––––––––––––––
बालुवाटारमा सम्माननीय प्रधानमन्त्रीको बैठक, भेला, भेटघाट त यसै भइरहन्छन् नै, आमा राधिका शाक्यको पनि समानान्तर गतिमा भेटघाट, छलफल, बैठक भइरहेकै हुन्छ ।

पछिल्लोपटक महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयसँग सम्बन्धित विभिन्न निकायहरू बाल कल्याण परिषद्, बाल संगठन, समाज कल्याण परिषद् र रेडक्रस सोसाइटीसँग सम्बन्धित पदाधिकारीहरूसँगको बैठक भएको थियो ।

‘करिब ५ घण्टाको छलफलमा हामी सबैले आ–आफ्नो संगठनको ढाँचा, उद्देश्य, समस्या, चुनौति, आगामी कार्ययोजनाका विषयमा प्रतिनिधिमूलक प्रस्तुती दियौं । सबैजना हालसालै नियुक्त पदाधिकारीहरू भएको कारणले व्यक्तिगत र संस्थागत परिचय तथा सेवा सहकार्य एवं सह कार्यनीतिका विषयमा व्यवस्थित छलफल भयो ।  यो पहिलोपटकको बैठक थियो, अर्को पटक विषयको महत्व सहित थप बस्नेछौं । प्रथम महिला राधिका शाक्य कार्यक्रम अवधिभरि बस्नुभयो र छलफलमा सकृय सहभागी हुनुभयो । यो हाम्रो लागि पनि ठूलो हौसला हो;’ बाल संगठनका अध्यक्ष विद्या न्यौपानेले बताउनुभयो ।
––––––––––––––––––– –––––––––––––––––––––– –––––––––––––––
‘महिला बालबालिका र ज्येष्ठ नागरिकहरु अलपत्र परेको, विभिन्न घटनाहरुले पीडामा परेको विषयहरु सञ्चारमाध्यममा आइरहन्छ, तर सत्य आएको हो कि होइन भन्ने लाग्दथ्यो । हाम्रो सञ्चार पनि यस्तै छ । जब मैले सञ्चारमा आए अनुसार घटनाको सत्यतथ्य बुझ्ने कोशीस गरें तब मलाई सत्य लाग्न थाल्यो । यस्ता घटनाहरु किन यति धेरै भइरहन्छ ? किन यति अशान्त छ हाम्रो समाज ? अब सञ्चारमा आए जति सबैको सम्बोधन त गर्न सकिंदैन । मेरो पनि व्यक्तिगत सीमा र स्रोतले भ्याएसम्म गर्ने हो । यी छोरीहरूको चिन्ताले सतायो । समाज त यस्तै न छ, कुनबेला, के हुने हो भन्नै नसकिने । त्यसैले दक्षिणकाली घटना भएको ठाउँबाट तुरुन्तै ल्याउन चाहें । आमा निरोगी भयो भने बच्चाहरुको उचित रेखदेख संरक्षण हुन्छ । त्यसैले प्रायः घटनाहरुमा आमा र बालबच्चाको तुरुन्तै उद्दार होस् भन्ने चाहन्छु म । यसमा बाल अधिकार परिषद्ले अलि ध्यान दिओस् भन्ने आग्रह पनि गर्छु । सबैका छोराछोरीले पढ्न पाउन्, खान पाउन्, अभिभावकको उचित आश्रय पाउन्, हामीलाई अरु केही चाहिएको छैन ।’

यो अभिव्यक्ति केही हप्ता अगाडि बालुवाटारमा आयोजित एक सानो समारोहमा अभिभावकबिहीन ३ जना छोरीहरुको अभिभावकत्व ग्रहण गर्दै एसओएस बालाग्राममा ती छोरीहरूको लालनपालन तथा पठनपाठनका लागि औपचारिक रूपमा जिम्मेवारी दिइएको बखतमा आमा राधिकाको हो ।

केही महिना अघि दक्षिणकालीमा श्रीमान श्रीमतीको घरेलु झगडाले श्रीमतीको ज्यान गयो, श्रीमान जेल परे ।

ती दम्पत्तिका तीन छोरीहरू अभिभावक बिहीन भए । जेनतेन ज्यालामजदुरी गरेर बालबच्चा पालनपोषण गरिरहेका यो परिवारमा एकैपटक यति गहिरो चोट र बज्रपात भएपछि राधिका आमा आफैले बागमती प्रदेशका सांसद दिपक निरौलाको समन्वयमा बालग्रामको भ्रमण, अवलोकन र त्यहाँको व्यवस्थापनको विषयमा प्रत्यक्ष जानकारी लिनुभएको थियो ।

त्यसपछि बालग्रामका निर्देशक ईश्वरी प्रसाद शर्मा, राष्ट्रिय बाल अधिकार परिषद्का निर्देशक मिलनराज धरेलको उपस्थितिमा ३ जना छोरीहरू १५ वर्षिय अनिषा, ८ वषिया अनुस्का र ४ वर्षिया आयुस्मालाई एसओएस बालग्रामलाई संरक्षण, सम्बद्र्धन, पठनपाठन समेतको जिम्मेवारी दिई छोरीहरूको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

उहाँको सामाजिक सक्रियतामा पद र शक्तिप्रतिको आशक्ति विपरितका सरल जीवनशैलीले महत्वपूर्ण छाप छोड्दैछ ।

पद र प्राप्तिप्रति आशक्ति नभएकै कारणले स्वार्थी मनोदशाबाट गुज्रनु नपरेपछि, बनावटी, छलछामका नक्कली कामकुराको झेलन पनि व्यहोर्नुनपरेपछि सच्चाईको जिन्दगीबाट निस्कने अभिव्यक्तिको बान्की साँच्चिकै सरल र लोभलाग्दो हुन्छ । यो आदर्श आमा राधिकामा पाइन्छ र बारम्बार भन्नुहुन्छ- ‘हामी दम्पत्तिलाई केही चाहिँदैन, हामीलाई केही चाहिँदैन ।’

यही आदर्शका कारण हुनुपर्छ सम्माननीय प्रधानमन्त्रीले हामीलाई भन्नुभयो- ‘बेइमानको आर्जनबाट सन्तुष्टि होइन, बेचैनी मात्रै मिल्दछ । चैनको जिन्दगीका लागि परोपकारी काम गर्ने र परिस्थितिमा परिवर्तन ल्याउने काम गर्नुपर्छ, । म राधिकाको यस्तो कामबाट अत्यन्तै खुशी छु ।’

हो । उहाँले भनेजस्तै छ आमा राधिकाको बाटो पनि । यो यात्राले निरन्तरता पाइरहोस् ।

२०७७ भाद्र ६

खुल्लानेपाल डटकमवाट

तस्वीरहरु- राजन काफ्ले / प्रधानमन्त्रीको नीजि सचिवालय

 

 

प्रतिक्रिया

सम्बन्धित खवर