राजनीतिमा लाग्नु भनेको सबैभन्दा सजिलोसँग सबैले भन्दा धेरै कमाउनु हो भन्ने कुरा कांग्रेस–कम्युनिस्ट मिलेर विगत तीन दशकमा स्थापित गरेकै छन् । कांग्रेसले राजनीतिको यो विकृत रूपलाई चिर्न बौद्धिक हस्तक्षेपबाट मात्र सम्भव छ ।
एउटा लोकतान्त्रिक आन्दोलनका रूपमा कांग्रेसलाई जोगाइराख्ने हो भने उक्त पार्टीलाई सर्वप्रथम पार्टीभित्रकै धेरै नेताबाट जोगाउनु जरुरी छ ।
काठमाडौँ — राजनीतिक दलको महाधिवेशनमा कानुनी योग्यता पुगेको सदस्य, सामान्यतया जो पनि, नेतृत्वका लागि उम्मेदवार हुन पाइहाल्छ । तसर्थ नेपाली कांग्रेसको आगामी महाधिवेशनमार्फत नेतृत्वमा आउन धेरैको दाबी हुनु स्वाभाविक हो । तर विसर्जन हुन नदिई एउटा लोकतान्त्रिक आन्दोलनका रूपमा कांग्रेसलाई जोगाइराख्ने हो भने उक्त पार्टीलाई सर्वप्रथम पार्टीभित्रकै धेरै नेताबाट जोगाउनु जरुरी छ ।कांग्रेसको अस्तित्वलाई कतिपय नेतृत्वमा रहिसकेका कांग्रेसी स्वयंबाट जति खतरा अन्त कतैबाट छैन । कांग्रेसलाई ‘म अब जोगाउँछु’ भन्नेमध्ये धेरैबाट जोगाउनु नै यस पार्टीका सदस्यहरूको अहिलेको प्रमुख कार्यभार हो ।

कांग्रेस किन कमजोर भयो भन्नेबारे केही वर्षदेखि भइआएका धेरै विश्लेषणप्रति पंक्तिकारको सहमति छैन । शेरबहादुर देउवालाई फेर्‍यो भने कांग्रेस सुध्रन्छ, सुशील कोइरालाकै पालाबाट कमजोर भएको हो भन्नेजस्ता चर्चा आंशिक रूपमा सत्य होलान् तर यो पार्टीको समस्या अर्कै गहिराइको छ, जसलाई धेरै वर्षदेखि यसको नेतृत्वदायी तहमा भएका धेरैले ठाडै अस्वीकार गर्छन् । त्यो के हो भने, कांग्रेसको नेतृत्वबाट बौद्धिकता हराएको वर्षौं भइसक्यो । बौद्धिकतासँग जोडिने एक–दुईवटा अरू कारण पनि छन् तर उसको असफलता प्रमुख रूपमा यहीँबाट सुरु भएको हो । ‘बौद्धिकता’ भन्नेबित्तिकै अलिकति अमूर्त र ‘ठूलो’ कुराजस्तो लाग्ला । त्यसैले यो प्रसंगलाई थोरै व्याख्या गरेर अगाडि बढौं ।

कांग्रेस स्थापनाकालदेखि पछिल्ला केही वर्षसम्म एउटा लोकतान्त्रिक ‘आन्दोलन’ को बौद्धिक नेतृत्व गर्न सकेका कारण जीवन्त रहन सकेको हो । लोकतन्त्र त एउटा राजनीतिक फ्रेमवर्क मात्रै न थियो । त्यो ‘फ्रेम’ भित्र समाजका अरू महत्त्वपूर्ण मुद्दामा बौद्धिक अगुवाइ, व्याख्या र मान्यता आफ्नो नेतृत्वले दिने क्षमता राखेका कारण कांग्रेस धेरै समयसम्म कांग्रेस भैराखेको थियो । सरल भाषामा भन्नुपर्दा, नेतृत्वको बौद्धिकता भन्नाले के बुझ्नुपर्छ भने, उसले आफ्नो पार्टी नेपालमा किन आवश्यक छ भन्ने आधारभूत प्रश्नमा साधारण तर सबैले बुझ्ने गरी प्रस्ट बौद्धिक व्याख्या दिन सक्नुपर्छ । बौद्धिक नेतृत्व कुनै पनि प्रश्नबाट भाग्न जान्दैन ।

अहिले कांग्रेस नेतृत्वले ‘कांग्रेस नभए लोकतन्त्र रहँदैन’ भन्न जानेको छ, तर लोकतन्त्र नभएर के बिग्रन्छ त भनेर कसैले उपप्रश्न गर्‍यो भने ऊ त्यत्तिमै अलमलिन्छ । यसलाई अझ यसरी प्रस्ट पारौं : अहिलेको विश्वसन्दर्भमा कम्युनिस्ट हुनु भनेको के हो, मान्छे किन कम्युनिस्ट हुनु हुन्छ/हुँदैन, नेपालका लागि वामपन्थ किन राम्रो वैचारिकी होइन वा नेपालका वामपन्थीले कुन विषयमा कस्तो दृष्टिकोण बनाउनु ठीक वा बेठीक छ भनेर एउटा लोकतान्त्रिक पार्टीले धेरैले बुझ्ने भाषामा नबताएको कति वर्ष भयो ?

अहिलेको नेपालमा कांग्रेस र कम्युनिस्ट जे भए पनि सबै दलाल पुँजीवादकै पुर्जा हुन् भन्ने सबैले बुझिसकेका छन् । तर, यदि पार्टीलाई पुनर्जीवित गर्ने हो भने पहिले त कांग्रेस र कम्युनिस्ट के कुरामा कसरी फरक हुन्छन् वा हुनुपर्छ भनेर थाल्नुपर्ने होइन ? अठार वर्ष पुगेको कुनै शिक्षित युवाले, अहिलेको विश्वमा कम्युनिस्ट हुनु भनेको के हो वा लोकतान्त्रिक हुनु भनेको के हो भनेर पहिले बुझ्यो भने नै त्यसपछि आफू कुन पार्टीको समर्थक हुने भनेर सोच्थ्यो होला । अनि बल्ल, कुन पार्टीको शिक्षानीति कस्तो हुने रहेछ, कसको अर्थनीति कता ढल्केको होला भन्ने आधारमा समाजमा सकारात्मक ध्रुवीकरण हुन्थ्यो । तर अहिलेको नेतृत्वको बौद्धिक ‘ब्यांकरप्सी’ का कारण ऊ आफैं कम्युनिस्ट र कांग्रेसमा फरक छुट्याउन नसक्ने मनोदशामा पुगेको छ ।

माथिको विषय त आधारभूत भए पनि अलिक ठूलो भयो होला । केही समकालीन मुद्दाकै कुरा गरौं । नेकपा एमाले र माओवादी मिलेर नेकपा भन्ने पार्टी बनाएका छन् । यो पार्टी कति एक हो, कहिलेसम्म यो टिक्ला, त्यो आफ्नै ठाउँमा छ । तर दुइटा वामपन्थी दल एउटा हुँदै गर्दा, उसले बनाउन खोजेका कतिपय वैचारिक विषयमा कांग्रेस नेतृत्वले बौद्धिक टिप्पणी गर्ने हैसियत नै राख्दैन । नेपालको लोकतन्त्र संस्थागत गर्न, नयाँ संविधान लागू गर्न ती दुई पार्टी एक हुनु राम्रो हो कि कस्तो हो भनेर कांग्रेस नेतृत्वले वैचारिक व्याख्या गर्ने सामर्थ्य नराख्ने मात्रै होइन, त्यसमा आफ्ना शुभचिन्तक र बाँकी विश्वका लागि भए पनि टिप्पणी गर्नुपर्छ भन्ने उसलाई जानकारीसम्म छैन । संविधान लागू गर्न खोजेको पाँच वर्ष भइसक्यो, अहिले संघीयताको हालत के छ, संविधान जारी हुँदादेखिकै असन्तुष्टिप्रति कांग्रेसको धारणा के हुनुपर्छ भन्नेबारे कतै केही सुनिँदैन ।

हो, बोल्न त माथिका सबै विषयमा कतिपय ‘नेता’ हरू बोलेका होलान्, तर तिनको आवाज किन सुनिँदैन ? किनकि त्यसमा सुनिनलायक गाम्भीर्य र वैधता नै छैन । र, त्यस्तो किन भइरहेको छ भने, कांग्रेसको नेतृत्वको दृष्टिकोण जुन बौद्धिकताले बन्थ्यो, त्यो हराएको वर्षौं भइसक्यो । अहिलेको कांग्रेस लेनदेनमुखी छ । एमाले र माओवादी मिले भने मैले सत्ता कति गुमाउनुपर्ने हो भनेर हेर्ने । उनीहरू फुटे भने आफू फेरि सरकारमा आउन पाउने भएँ भनेर हेर्ने । अर्थात्, कांग्रेस अहिले शेरबहादुर देउवा भएको छ । तसर्थ, समकालीन नेपालमा कम्युनिस्ट पार्टी फुट्दा वा जुट्दा देशको लोकतान्त्रिक प्रक्रियालाई के असर हुन्छ भनेर जनतालाई आफ्ना कुरा भन्न सक्ने कांग्रेस विगतमा थियो, अहिले छैन । जब नेतृत्व नेतृत्वमा रहनुको एक मात्र कारण नै थप एकपटक प्रधानमन्त्री वा मन्त्री हुनका लागि हुन्छ, समकालीन समाजका तमाम मुद्दामा उसको बौद्धिक दृष्टिकोण हुने कुरै भएन ।

यस आलेखमा ‘बौद्धिक’ शब्दलाई किन जोड दिइएको हो भने, प्रत्येक आदर्श, त्याग र राजनीतिक आस्थाको स्रोत बौद्धिकता हो । मान्छे कम्युनिस्ट हुने कि कांग्रेस (भलै अहिले ती दुवै उस्तै छन्) भन्ने विषय बौद्धिक हो । सबै मान्छे असल/नैतिकतावान् हुँदैनन् । मान्छे असल किन हुनुपर्छ भन्ने विषय बौद्धिकताबाट आउने हो । नैतिकतावान् हुनुपर्छ भनेर त सबैले सधैं भन्छन् । तर मान्छे किन नैतिक हुँदैन भन्ने विषय बौद्धिक हो । जब नेतृत्वले त्यो बौद्धिक ऊर्जा र व्याख्या दिन सक्दैन, तब कार्यकर्ताले भ्रष्ट किन नहुने भन्ने सोच्न थाल्छ । किन भ्रष्ट नहुनु भ्रष्ट हुनुभन्दा बढी शक्तिशाली हुनु हो भन्ने विषय सुन्दा साधारण लाग्ला, तर पार्टीमा यस्ता विषयमा कुनै बौद्धिक चर्चा हुन्छ ? हुँदैन । त्यसो भएपछि, जसरी नेकपाका एउटा अध्यक्ष र प्रधानमन्त्री ‘यति’ नामक व्यापारिक समूहको अभिभावक छन् र उसका अर्का अध्यक्षले बदनाम ठेकेदारको घरमा डेरा जमाएर समाजको विवेकलाई ठाडै चुनौती दिएका छन्, देउवा त्योभन्दा फरक हुने अपेक्षा कसरी गर्ने ?

सबै पार्टीले सधैं बीपी कोइराला पाउँदैनन् । तर माथिका जस्ता प्रश्नमा घोत्लिँदै, विमर्श गर्दै एउटा व्याख्या दिँदै जाने पार्टीले अहिलेको युवालाई अपिल गर्न सक्थ्यो । यस्तो कुराको प्रयाससम्म नगरी वा उक्त विषयलाई आत्मसात् नगरी कांग्रेस पुनः एउटा आन्दोलनका रूपमा जागृत होला भन्ने देखिँदैन । ठीक छ, नेकपा फुट्यो भने ऊ फेरि पनि ठूलो पार्टी बन्ला, तर पार्टी ठूलो हुनु नै उपलब्धि हो भने त अहिले नै नेकपा छँदै छ नि । ठूलो मात्र पार्टीले देशलाई कति अगाडि बढाउन सक्दो रहेछ भन्ने हेर्न अझै बाँकी छ र ?

बौद्धिकतासँगै आउने अरू विषय पनि छन् । जस्तो, नेतृत्वको जीवनशैली । जसरी कोही व्यक्ति कवि वा दार्शनिक हुनेबित्तिकै दाह्री पालेर, सधैं विरक्त भावमा देखिनुपर्छ भन्ने छैन, त्यसरी नै नेता हुनेबित्तिकै गरिब नै हुनुपर्छ भन्ने छैन । यो विषयलाई हामीले पश्चिमा वा अन्य धनी देशका उदाहरणमार्फत हेर्नु हुँदैन । नेपालजस्तो देशका लागि नेतृत्वको जीवनशैली, त्याग र समर्पणले विशेष अर्थ राख्छ । यदि अख्तियार, न्यायालयजस्ता संस्था पूरै विवादरहित र सक्षम हुन्थे भने अर्कै कुरा । त्यस्तो छैन । तसर्थ नेतृत्वको जीवनशैलीमा सादगी र त्याग भेटियो भने त्यसले नैतिक शक्ति दिन्छ । अहिलेका धेरै नेता शक्तिमा छन् तर तिनीहरूको राजनीतिक वैधता नभएको विषय यता जोडिन्छ । कम्तीमा राजनीतिमा लाग्नु भनेको सबैभन्दा सजिलोसँग सबैले भन्दा धेरै कमाउनु हो भन्ने कुरा कांग्रेस–कम्युनिस्ट मिलेर विगत तीन दशकमा स्थापित गरेकै छन् । कांग्रेसले राजनीतिको यो विकृत रूपलाई चिर्न सम्भव छ भने त्यो पनि बौद्धिक हस्तक्षेपबाट मात्र ।

माथिका कुरा कांग्रेसलाई बौद्धिक पुनर्जागरण गर्न के–के गर्नुपर्ला भन्ने केही उदाहरण हुन् । तर कांग्रेसको नेतृत्वको सम्भावनाको यथार्थ के छ भन्ने कुरा महत्त्वपूर्ण त हुने नै भयो । अहिले उपलब्ध विकल्पबाट माथिका मुद्दालाई एक जनाले मात्र प्रतिनिधित्व गर्न कठिन छ । त्यसका लागि सानो समूह बन्न सक्छ । त्यसको नेतृत्व गर्न आदर्श पात्र कोही पनि बाँकी नरहेका हुन सक्छन् । तर त्यहीँभित्रको सम्भावना हेर्दा फेरि पनि देखिने भनेको गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरूकै हो । त्योभन्दा बाँकी, अघिल्लो पुस्ताका केही अभिभावक बनाउनका लागि राम्रा होलान् । जस्तो, प्रदीप गिरि कांग्रेस परम्पराको बौद्धिकताका लागि, रामचन्द्र पौडेल अघिल्लो पुस्ताको सापेक्षिक रूपमा नीति र निष्ठाको राजनीति गर्ने प्रतिनिधिका लागि र शेखर कोइराला पछिल्लो पार्टीको जनाधार र ‘कोइराला’ परम्पराको प्रतिनिधित्वका लागि । त्यस्तो हुन सके जीवन्त देखिने एउटा पार्टी देशको लोकतन्त्र र सुशासनका लागि मात्र होइन, राजनीतिक टिप्पणी गर्ने विषयका रूपमा पनि रोचक हुन्थ्यो ।

(शुक्रबार प्रकाशित कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रतिक्रिया

सम्बन्धित खवर