
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–५ जोगीमारामा गए राति तोडफोड तथा लुटपाटको प्रयास भएको छ। जोगिमाराको एउटा घर र एउटा पसलमा अज्ञात समूहले लुटपाटको उद्देश्यले तोडफोड गरेको छ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–५ का पूर्व वडा अध्यक्ष स्व.विष्णु बहादुर क्षेत्रीकाे घरमा तोडफोड भएको छ। ढोका भत्काएर, हँसिया जस्ता धारिलो हतियार प्रयोग गरेर दराज र बाकस फुटाएर लुटपाटको प्रयास भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार घरबाट कुनै मूल्यवान सामग्री चोरी नभएको पुष्टि भएको छ।
सोही राति, नजिकै रहेको किराना पसलमा पनि तोडफोड भएको छ। घटनापछि पिडीखोला प्रहरी बिटको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। स्थानीयवासीसँग समन्वय गर्दै संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै दोषीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ। साथै, यस्ता घटनाहरूको पुनरावृत्ति रोक्नका लागि सुरक्षाका थप कडा प्रबन्ध गर्नेका लागी स्थानीय सरकार र प्रहरी प्रशासनले बेलैमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। स्थानीयले सुरक्षाको लागि थप सशक्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।