रिमा घर्तीमगरबाट

सूर्यबहादुर जि टी को खास नाम नन्दबहादुर जि टी हो । उहाँको घर स्याङ्जा जिल्लाको आधिँखोला गाउँपालिका बडा नं ६ फाफरथुममा पर्दछ ।
सूर्यबहादुरको उमेर अहिले चालिस वर्ष मात्र पुगेको छ । चालिस वर्षको उमेर हुँदासम्म निकै हण्डर ठक्कर खाएको कारण आफू अहिले निखारिएको ठान्नुहुन्छ ।
सूर्यबहादुर परिवारको सबैभन्दा कान्छो सदस्य हुनुहुन्छ । उहाँको एक जना दाजु र तीन जना दिदी हुनुहुन्छ आफू सात वर्षको उमेर हुँदा बुबाको मृत्यु भएको कारण बुवाको माया र ममता कस्तो हुन्छ भन्ने समेत उहाँले थाहा पाउनु भएन । सूर्यबहादुरको बुवा भारतमा नोकरी गर्नुहुन्थ्यो । नोकरीबाट विदामा घर आएको बेला बुवाको मृत्यु भएको भनेर आमाले भनेको सुन्न बाहेक अरु बुवाको बारेमा केहि पनि थाहा पाउनु भएन बुवाको कृया गर्न समेत उमेरको कारण आफूले नपाएको उहाँले हामीसँगको भेटमा सुनाउनु भयो ।
आफ्नो उमेर सानै हँुदा बुवाको मृत्यु भएको कारण उहाँले पढ्न समेत पाउनु भएन । जसोतसो दश कक्षासम्म गाउँकै स्कुलबाट पढेको भएपनि उच्च शिक्षा भने आर्थिक अवस्थाको कारण बिचमै रोकियो । पढन् इच्छा हुँदाहुँदै पनि आर्थिक अवस्था कमजोर भएको कारण पढन् नपाएकोमा अहिले पनि उहाँलाई निकै दुःख लाग्छ । आफूले पढन् नपाएपनि छोराछोरीहरुलाई उनीहरुको चाहना बमोजिम पढाउने धोको रहेको छ ।
छोराछोरीहरुलाई हुर्काउनको लागि सूर्यबहादुरको आमाले निकै दुःख गर्नुपरेको थियो । कोरेर खानलाई प्रशस्त जमिन पनि थिएन । आमाले अर्काको निमेक गरेर ल्याएको धन पैसाले परिवार पाल्नु भएको र निकै दुःखका साथ आफूहरु हुर्किएको हामी सँगको कुराकानीमा सूर्यबहादुरले बताउनु भयो ।
सूर्यबहादुरले करीव चार वर्ष नेपाली सेनामा जागिर पनि खानुभएको थियो । उहाँले जागिर खानेबेलामा नेपालमा युद्ध चर्किएको थियो । आमा र श्रीमतीले बरु हलो जोतेर भएपनि खाने तर जागिर नगरौँ भनेपछि उहाँले सेनाको जागिर छाडिदिनुभएको थियो ।
सेनाको जागिर छाडेपछि सूर्यबहादुर कमाउनको लागि करिव डेढ लाख रुपैयाँ ऋणधन गरेर दुबईमा सेक्युरिटी भिषामा जानुभयो । तर दुवईमा उहाँले भनेको जस्तो काम पाउनु भएन । सप्लाई कम्पनीमा पर्नुभयो । घरपरिवारको दुःख संझेर र करीव ६ वर्षसम्म काम गर्नुभयो । उता कमाई कम हुने यता घरमा आमा र श्रीमती विरामी हुने भएको कारण सोचेजस्तो भएन ।
कमाएको पैसा जति उपचारमै खर्चभयो । अहिले पनि आमाले महिनाको सात हजार जतिको औषधि खानुपर्दछ भने श्रीमतीको पनि उपचारमा करीव छ लाख रुपैया जति खर्चभयो ।
दुबईबाट फर्केपछि सूर्यबहादुरले गाउँमै सिकर्मी,डकर्मीको काम गरिरहनु भएको छ । गाउँमा अहिले यस्तो काम गर्नेहरू निकै कम भएको कारण पनि उहाँलाई कामको कुनै खाँचो छैन वरु गाउँलेहरुले भनेको बेलामा काम गर्न जान फुर्सद नभएको अवस्था बताउनु हुन्छ ।
सूर्यबहादुरलाई अहिले विदेश भन्दा स्वदेशको कमाईनै प्यारो लाग्न थालेको छ । अहिले पनि दैनिक नौ सय रुपैयाँमा सिकर्मी र डकर्मीको काम गरिरहनु भएको छ । घरमै बसेर काम गर्ने भएकाले दुइवटा लैना भैसी समेत पाल्नु भएको छ भने करीब दशबटा जति बाख्रा पनि पाल्न भ्याउनु भएको छ । दुध बेचेर दैनिक आम्दानी भित्रयाउनु भएको छ भने बेला बेलामा खसीबोका समेत बेचर कमाईगरिरहनु भएको छ ।
केही समय अगाडि देखि सूर्यबहादुरले गाँउमै एउटा किराना पसल पनि खोल्नु भएको छ । पसल राख्ने घर बनाउन पचास हजार र बिक्री गर्नको लागि सामान करीव एक लाख जति गरेर डेढ लाख लगानीमा पसल खोल्नु भएको हो ।
गाउँघरमा घरायसी सामानहरु पाईने भएकाले पनि होला पसल पनि रामै्र चलेको छ । सूर्यबहादुरले विहान बेलुका पसल र गाइवस्तु हेर्ने भएपनि दिउँसो भने पसललाई श्रीमतीले चलाईरहनु भएको छ । पसलबाट घरखर्च गर्नलाई पुगेको हामीसँगको कुराकानीमा उहाँले बताउनुभयो ।
मानिस सधै दुःखी हुनुहँुदैन पैसा त हातको मयल हो भन्ने ठान्नुहुने सूर्यबहादुरले शिक्षालाई निकै महत्व दिने गर्नुहुन्छ । जसको कारण उहाँले जेठो छोरालाई सिविल इन्जिनियर पढाउन सफल हुनुभएको छ भने कान्छो छोराले गाउँकै स्कुलमा पढिरहेका छन् । डकर्मी नै भएर भएपनि छोरालाई इन्जिनियर बनाउछु भन्ने अठोट आफुले लिएको हामीसँगको कुराकानीमा सूर्यबहादुरले बताउनुभयो उहाँले भन्नुभयो मेरो एउटा सपना छ, म आर्थिक अभावको कारण पढ्न पाईन तर छोराहरुलाई उनीहरुको चाहना अनुसार जसरी पनि पढाउने छु
आर्थिक अवस्था भएन भनेर मन खुच्याएर बस्नेहरु र केही पनि गर्न सकिँदैन भन्नेहरुको लागि सूर्यबहादुर एक उदाहरणीय पात्र बन्नुभएको छ । उहाँको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर