१२ भाद्र २०७८, शनिवार

विनोदकुमार सुवेदी क्यानाडामा शिक्षण पेशामा आवद्ध छन्। प्राथमिक तहमा नेपालीमूलका शिक्षकहरु केहि भए पनि क्यानाडामा माध्यमिक तहमा अंग्रेजी विषय पढाउने सम्भवत: उनी एक मात्र नेपाली हुन्। रेजाइनामा बसोबास भएका उनी सास्काच्वेन स्कुल बोर्डअन्तर्गत कार्यरत छन्। बर्दियामा जन्मिएका उनी २०१० मा क्यानाडा आएका हुन्। १७ वर्षकै उमेरदेखि अध्यापनको अनुभव बटुलेका उनले अध्ययनका क्रममा अनेक अप्ठ्यारा पार गर्नुपर्यो।

अध्ययनका लागि परिवारले १२ वर्षको उमेरमा उनलाई काठमाडौं पठायो। त्यहीँबाट उनले एसएलसी पास गरे। पाटन क्याम्पसमा आइएसी अध्ययन गर्दैगर्दा आमाको निधन भएपछि उनको पढाई रोकियो। तर उनी सम्हालिए। पिपुल्स क्याम्पसमा प्रवीणता प्रमाणपत्रमा भर्ना भए। स्नातक तह पनि त्यहीँबाट पुरा गरे।

एसएसलीेपछि नै विद्यालयमा शिक्षकका रुपमा काम गर्न थालेका थिए। पढाउने कामलाई निरन्तरता दिंदै उनले मानविकी संकायबाट प्रविणतादेखि स्नातकोत्तर तहसम्म अंग्रेजी विषयमा पुरा गरे। एपफिल तहको अध्ययन जारी थियो, त्यो भने पुरा नगरी उनी क्यानाडा आए।

पव्लिक रिलेसन्सको डिग्री समेत भएका उनको पढ्ने क्रम अहिले पनि जारी छ। गैरअंग्रेजीभाषीलाई अंग्रेजी शिक्षण गर्ने ‘टेसल’ कोर्स पनि गर्दैछन्। त्यसबाहेक युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियामा ‘पोष्ट बाकालरेट डिप्लो’मा कार्यक्रममा भर्ना भएका छन्।

सामान्यतया नेपाली क्यानाडामा शिक्षक बन्ने सपना देख्दैनन्। तपाईं तीभन्दा अलग हुनुहुन्छ। क्यानाडामा शिक्षक बन्न कत्तिको साह्रो रहेछ?

म नेपालमा हुँदै एउटा कुरामा के स्पष्ट थिएँ भने क्यानाडामा गएर कि उच्च शिक्षा लिने हो कि त शिक्षक नै बन्ने हो। त्यसैले गर्दा, क्यानाडा बसाइँ आएदेखि नै म कुनै अरु कामधन्दा तिर लागिन।आफ्नो लक्ष्य छाडिन। आउनासाथ विश्वविद्यालयहरुको चक्कर लगाउन थालें।

सानै उमेरदेखि शिक्षण गरेका कारण क्यानाडामा गएपछि पनि कसरी शिक्षक बन्न सकिन्छ भन्ने मेरो ध्याउन्न थियो। रेजाइनाको एउटा विश्वविद्यालयमा अंग्रेजी विषयमा स्नातकोत्तर कक्षामा भर्ना भएँ। शिक्षक बन्ने बाटो पहिल्याउन त्यो सहयोगी भयो।

तपाईंले त्यो पढाई पुरा गर्नु भएन। के कुराले तपाईंलाई अर्कै बाटो समात्न प्रेरित गर्यो?

स्नातकोत्तरमा भर्ना भएको थिएँ। त्यहाँका एकजना प्रोफेसरसँग कुराकानीका क्रममा मैले आफ्नो उद्देश्य शिक्षक बन्ने रहेको बताएँ। विश्वविद्यालय पुग्नुको पनि बेग्लै कथा छ। यता आउनेबित्तिकै अंग्रेजी भाषाको तालिममा भर्ना भएको थिएँ। उनीहरुको काम तालिम सकिनेहरुलाई रोजगारी खोज्न सघाउनु पनि थियो। मैले उनीहरुलाई मलाई तिमीहरुले जागिर खोजिदिनु पर्दैन। मलाई विश्वविद्यालयमा सम्पर्क गराइदेओ।

उनीहरुले दर्शन विषयका दुईजना प्राध्यापकसँग भेट गराइदिए। उनीहरुले भर्ना हुने तरिकाबारे जानकारी दिए। भर्ना भएँ। विश्व विध्यालयमा एकजना प्रोफेसरले विद्यालय शिक्षक बन्न तिम्रो शैक्षिक योग्यता पुग्छ, स्नातकोत्तर तहको अध्ययन गर्नु जरुरी छैन भन्ने जानकारी दिए। त्यो थाहा पाउनासाथ मैले पढाइ चटक्कै छाडेर शिक्षक हुने बाटो समातें।

अरु सबै मापदण्ड पुग्ने तर, शिक्षणसम्बन्धी केही कोर्स पुरा गरेपछि शिक्षण लाइसेन्सका लागि आवेदन दिने योग्यता पुग्ने कुरा थाहा भयो। प्रोफेसरले युनिभर्सिटीको शिक्षा संकायमा सम्पर्क गर्न सल्लाह दिए। क्यानाडा आउने कति नयाँ मानिसहरु सही सूचनाको अभावमा आफ्नो योग्यताअनुसारको काम गर्नबाट वञ्चित छन् होलान् भन्ने कुरा मेरो मनमा आयो।

कति समय लाग्यो शिक्षण लाइसेन्स लिन?

मेरो शैक्षिक योग्यता पुगिसकेको थियो। डेढ वर्षको पढाई र ६ महिनाको इन्टर्नशीप गरेपछि २०१६ मा लाइसेन्स निकाल्न सफल भएँ। क्यानाडामा जन्मे, हुर्केको र अध्ययन गरेको मानिसले पनि शिक्षक बन्न त्यो तालिम लिनै पर्छ।

क्यानाडामा अंग्रेजी विषय पढाउने तपाईं जस्तो मातृभाषा अंग्रेजी नभएको शिक्षकप्रति विद्यार्थीको प्रतिक्रिया कस्तो पाउनु भएको छ?

जुन विद्यालयमा जान्छु, पहिलो अनुमान के हुन्छ भने यो पक्का पनि विज्ञान अथवा गणित विषयको शिक्षक होला। जब अंग्रेजी शिक्षक भन्ने थाहा पाउँछन्, उनीहरुको आँखामा अविश्वास देखिन्छ। विद्यार्थीहरु अचम्ममा पर्छन् नै, शिक्षक र त्यहाँको समुदाय पनि अचम्ममा पर्छ।

वातावरण सहज बनाउन पहिलो पटक कुनै कक्षामा जाँदा मैले भन्ने गरेको पहिलो वाक्य के हो भने– म अरु अंग्रेजी शिक्षकजस्तो देखिन्न र सुनिन्न होला। तिमीहरुका लागि म एउटा अनौठो मानिस लाग्दो हुँ। त्यो म हुँ नै।

उनीहरुले मलाई अंग्रेजी शिक्षकका रुपमा त्यति सजिलै स्वीकार चाहिँ गर्दैनन्। विषयबस्तुका बारेमा भने जानकार रहेछ भनेर मैले प्रमाणित गरेर देखाउनु पर्छ। सायद अरु शिक्षकहरुले पनि त्यो प्रमाणित गर्नु पर्छ। ६ वर्षदेखि माध्यमिक  र प्राथमिक तहका विभिन्न ५ वटा विद्यालयहरुमा काम गरिसकेको छु।

एउटा शिक्षकको विद्यार्थीसँगको सम्बन्ध कस्तो हुन्छ?

नेपालमा शिक्षक भन्नासाथ आदेश दिने, हप्काउने दप्काउने भन्ने बुझिन्छ। तर, यहाँ शिक्षक हुनेबित्तिकै सम्मान आफसेआफ आउँदैन। उनीहरुले आदर नगर्न सक्छन्। अंग्रेजीमा एउटा शब्द छ, डिस्रेस्पेक्ट, मन परेन भने जोसुकै होस् उसलाई नमान्ने। विद्यार्थीले शिक्षकलाई पनि नमान्न सक्छ।  शिक्षकले विद्यार्थीबाट इज्जत आफैं कमाउनु पर्छ। शिक्षकले पहिला विद्यार्थीका रुपमा उनीहरुलाई सम्मान गर्नुपर्यो। जानेको छैन भने सिक्नुपर्यो। त्यसपछि मात्र शिक्षकले पनि सम्मान पाउन सक्छ। म नेपालमा हुँदा पनि विद्यार्थीलाई दण्ड दिने शिक्षक थिइनँ। शिक्षक नै सर्वेसर्वा भन्नेमा मलाई विश्वास पनि छैन। यो बानीले पनि मलाई यहाँ धेरै सहयोग पुगेको महसुस भएको छ।   विद्यार्थीलाई कसरी सम्मान गर्ने भन्ने कुरा यहाँ शैक्षिक तालिम केन्द्रमा पनि सिकाउँछन्। प्रशिक्षार्थी त्यस्ता कुराहरुमा तयार हुन सकेनन् भने कक्षा दोहोर्याउन लगाउँछन् र तयार नहुञ्जेल तालिम सकिँदैन र प्रमाणपत्र पाइँदैन।

शिक्षकहरुसँगको सम्बन्ध कस्तो हुन्छ?

शुरुमा शिक्षकहरुले पनि अविश्वास नै गर्छन्। यहाँ शिक्षकहरुको छनौट सामान्यतया प्रिन्सिपलले गर्छन्। यदि उसलाई योग्यता र अनुभव आदि पुगेको भए पनि कोही मानिस मन परेन भने नियुक्ति नै दिँदैनन्। आप्रवासी मन नपराउने प्रिन्सिपल रहेछ भने अन्तर्वार्तामै बोलाउँदैनन्। बोलाइहाले पनि पास गर्दैनन्।

समावेशी सिद्धान्तका कारण कतिपय अवस्थामा मन नपरे पनि नियुक्त दिनै पर्ने अवस्था पनि हुन सक्छ। तर, मन परेर नियुक्ति गरेपछि प्रिन्सिपलले शिक्षकको प्रतिरक्षा गर्छ। उसैले शिक्षकहरुबाट, समाज तथा विद्यार्थीहरुबाट बचाव गर्छ।

तपाईंले भनेको कुरा विद्यार्थीले नबुझेर प्रतिप्रश्न गरेको अवस्था आएको छ कि छैन?

यहीँ जन्मे हुर्केका गोरा अथवा अरु शिक्षकले अंग्रेजी भाषाको जानकारी छ भन्ने कुरा प्रमाणित गरिरहनु पर्दैन। तर, हामी जस्तो पहिलो पुस्ताको आप्रवासी त्यसमा पनि यहाँका मानिसले भन्दा बेग्लै किसिमले अंग्रेजी बोल्छ भने र उ अंग्रेजी शिक्षक हो भने उसले म पढाउन सक्छु भनेर प्रमाणित गर्नै पर्छ। मैले गरेको छु। तर, विद्यार्थीले मैले पढाएको बुझिन अथवा बोलेको बुझिन भनेको अनुभव छैन। हालसम्म कुनै समस्या आइपरेको छैन।

कस्तो बेलाचाहिँ तपाईंलाई अफ्ठ्यारो महसुस हुन्छ?

अंग्रेजी शिक्षकका रुपमा मैले लैङ्गिक मुद्दादेखि गोराहरु सर्वश्रेष्ठ (ह्वाइट सुप्रिमेसी) सम्मका कुराहरु गर्नुपर्छ। खैरो छाला भएर गोराहरुका विषयमा यस्तो कुरा गर्ने भने जस्तो असहज अवस्था हुन्छ। कतिपय अवस्थामा अभिभावकहरुसँगका ‘स्विट मोमेन्ट’ (आफूलाई प्रमाणित गर्न उनीहरुसँग गर्नु पर्ने छलफल) हरु पनि हुन्छन्।

शिक्षा मन्त्रालयले निर्धारण गरेको पाठ्यक्रममा ती कुराहरु समावेश छन्। मैले फलो गर्ने भनेको त्यही पाठ्यक्रम हो, म त्यहाँ भएअनुसारकै विषयबस्तु पढाइरहेको छु भनेर अभिभावकलाई भन्छु।

अभिभावकहरुको चासो के कुरामा हुन्छ?

आप्रवासीहरुको बसोबास र काम गर्न पनि शहरी क्षेत्रलाई नै रोज्छन्। ग्रामीण क्षेत्रमा अवस्था अझै पनि केही समस्या छन्। ग्रामीण क्षेत्रमा हामी जस्तो युरोप बाहिरको मानिसलाई स्वीकार गर्न अझै पनि गाह्रो मान्छन्। उनीहरुलाई के पनि लाग्छ भने, आप्रवासीहरुले ‘हाम्रा मान्छे’ले गर्ने रोजगारी खोसिदिएका छन्।

पश्चिमका देशहरुमा युनिभर्सिटीहरुमा नेपाली प्राध्यापकहरु धेरै छन्। तर, विद्यालय शिक्षकको संख्या अत्यन्तै न्युन छ। यस्तो किन भएको होला?

म नेपालबाट सिधै रेजाइना आएको हो। मलाई त्यसबेला क्यानाडाका अन्य ठाउँबारे खासै जानकारी थिएन। यहाँका नेपाली साथीभाइलाई कसरी शिक्षक बन्ने होला भनेर सोध्दा उनीहरुले विश्वास गरेनन्। हाँसे। उनीहरुलाई सकिन्छ भन्ने लागेन होला, प्रयास गरेनन् होला। तर, मलाई यहाँ शिक्षक हुन एकदमै गाह्रो काम हो जस्तो लाग्दैन। माध्यम भाषा अंग्रेजी भएकाले त्यो भाषाले रोकेन भने शिक्षक बन्ने बाटो खुल्यो।

लाइसेन्स लिएका शिक्षकले जागिर पाउन चाहिँ कत्तिको सजिलो छ?

विभिन्न देश र ठाउँबाट मानिसहरु आउँछन्। मानिस कस्तो छ भनेर बुझ्न कागज पत्र हेरेर नपुग्ने रहेछ। कसै न कसैले भनिदिनु पर्ने रहेछ, फनालो मानिस राम्रो छ भनेर। त्यही भएर क्यानाडामा नेटवर्किङलाई महत्वपूर्ण मानिन्छ। नयाँ मानिसलाई जागिर दिने भनेकै यस्तै नेटवर्किङ र रोजगार मेलाहरुले हो। यस्ता ठाउँमा सम्भावित रोजगारदातासँग भेट र कुराकानी गर्न पाइन्छ।

तर, विभिन्न व्यक्तिगत र व्यावसायिक अन्तर्क्रियाहरुमा मैले यहाँ भनिने नेटवर्किङलाई नातावाद भनेको छु। नेपालमा यस्तो कुरालाई भ्रष्टाचारमा गणना गरिन्छ भनेको छु। तर, शिक्षकको लाइसेन्स लिएकै मानिस भए पनि एउटा मानिसलाई कक्षा कोठामा छिराउन मिल्छ कि मिल्दैन भनेर भनिदिने कोही न कोही चाहिन्छ भन्ने यहाँ आम विश्वास गरिन्छ। अन्य जागिरमा पनि त्यस्तै अवस्था छ।

यहाँ कक्षा कोठाको सर्वेसर्वा शिक्षक नै हो। शिक्षकको अनुमति बिना प्रिन्सिपल पनि कक्षा कोठामा पस्न पाउँदैनन्। के पढाउने, कसरी पढाउने, प्रश्न कस्तो बनाउने, कस्तो रिजल्ट निकाल्ने सबै शिक्षकको हातमा हुन्छ। शिक्षकले बनाएको रिजल्टका विषयमा प्रिन्सिपलले समेत सोध्दैनन्।

अभिभावकहरुसंग डिल गर्ने पनि शिक्षकले नै हो। अभिभावकले प्रिन्सिपललाई भेट्नै पर्दैन, धेरैले चिनेकै हुँदैन। बोल्न नसक्ने कलिला बच्चाहरु दिनभरी एउटा शिक्षकको जिम्मामा हुन्छन्। तसर्थ, कसलाई कक्षा जिम्मा दिने भन्ने विषय असाध्यै संवेदनशील कुरा पनि हो।

यस्तै गहन जिम्मेवारीका कारण पनि धेरै मानिसहरु शिक्षक हुन नखोजेका हुन् कि?

शिक्षक हुन ज्ञान त चाहिन्छ नै। त्योभन्दा धेरै धैर्य चाहिन्छ। ठूलो कक्षाहरुको भन्दा पनि साना कक्षाहरुका शिक्षकमा सहन सक्ने क्षमता धेरै चाहिन्छ। ती गुण नहुने मानिसलाई त कक्षा सम्हाल्न गाह्रै पर्छ। मैले लाइसेन्स लिँदा यस ठाउँमा कोही नेपाली शिक्षक थिएनन्। लाइसेन्सको प्रक्रियाबारे बुझ्न नै झण्डै २ वर्ष लाग्यो। सूचनाको कमी छ हामीसँग। यिनै कारण होलान् नेपालीहरु शिक्षक हुन नखोजेका।

क्यानाडाको शैक्षिक प्रणालीबाट नेपालले के सिक्न सक्छ?

समाज परिवर्तन गर्न विद्यालयबाटै शुरु गर्नु पर्छ। किन्डरगार्टेनबाट शुरु गर्नु पर्छ। यहाँका विद्यालयमा विषयबस्तु हैन सानै कक्षादेखि करुणा (काइन्डनेस) र सम्मान (रेस्पेक्ट) सिकाउँछन्। यी कुरा सिकाउन शैक्षिक कार्यक्रम र शैक्षिक पाठ्यक्रम पनि त्यहीअनुरुप बनाएका हुन्छन्। कक्षा कोठामा त्यस्तै विषयका क्रियाकलाप गराइन्छ र सिकाइन्छ। पाठ्यक्रमले यसको परिणाम यस्तो हुनु पर्छ भनेर निर्धारण गरेको हुन्छ, एउटा शिक्षकले आफ्नो कक्षामा त्यही आधारमा पढाउँछ।

नेपालमा पाठ्यक्रम विद्यार्थीहरुलाई विदेश पठाउन प्रेरित गर्ने किसिमको छ। पाठ्यक्रम नै त्यस्तो भएकाले अहिलेको पुस्ताको ध्यय नै कसरी विदेश जाने भन्ने छ। यो नै सवैभन्दा ठूलो समस्या हो।

यहाँका गाउँमा पढाउने एउटा शिक्षकले त्यहीँ पाइने सामग्रीहरु प्रयोग गरेर पढाउँछ। उपलव्ध छैन भने मात्र वाहिरको सामग्री पढाउँने हो। यहाँको पढाइ ‘आइडिया’ र ‘कन्सेप्ट बेस’ हुन्छ।

क्यानाडाका विद्यार्थीलाई चाहिँ यो देश छाडेर अन्य देशमा जान पाए हुन्थ्यो भन्ने लाग्छ कि लाग्दैन?

त्यस्तो लाग्दैन। घुम्न जाने चाहना हुन्छ। उनीहरुलाई आफ्नो देशप्रति गर्व गर्न सिकाइन्छ। यो देशमा धेरै प्राकृतिक सम्पदा छ त्यसको उपयोग गर्न तिमीले के योगदान गर्न सक्छौ, देशलाई कसरी योगदान दिन्छौ भनेर सोच्न लगाइन्छ। जे जति सेवा र सुविधा पाएका छौ त्यसलाई ‘टेक फर ग्रान्टेट’ नलिन भनिन्छ। अन्य देशहरुसँग तुलना गरेर देखाइन्छ र बुझाइन्छ। तिमीहरुलाई अति सामान्य लाग्ने कुरा अन्य देशमा खोजेर पनि पाइँदैन भनेर बताइन्छ। नहुनेहरुलाई कसरी सहयोग गर्न सकिन्छ र तिम्रो के भूमिका हुन्छ भनेर सिकाइन्छ। नेपालका विद्यार्थीहरु लामो समयसम्म परिवारप्रति आश्रित हुन्छन्। यहाँका विद्यार्थीहरुमा आत्मनिर्भर हुन सानै उमेरदेखि सिकाइन्छ।

माध्यमिक तह पुरा गरेको विद्यार्थीमा आत्मश्विास कतिको हुन्छ?

मैले लाइफ साइन्स भन्ने एउटा विषय पढाएँ। त्यस विषयमा जीवन कसरी चलाउँछौं?, परिवारसँगको सम्बन्ध कस्तो हुनु पर्छ?, जीवनको लक्ष्य के हो?, विवाह कहिले गर्छौ? बालबच्चा कति जना जन्माउँछौ? यस्तै यस्तै कुराहरु पढाएँ। कक्षा कोठामा नै जीवनसँग प्रत्यक्ष जोडिएका विषय पढाएका कारण माध्यमिक तहको पढाइ सक्दा उनीहरु परिपक्व भइसकेका हुन्छन्।

 

उनीहरुलाई जीवनमा चाहिने धेरै सीपहरु १२ कक्षाभित्रै सिकाइन्छ। ड्राइभ गर्न जान्दछन्। १२ कक्षाको पढाइ सकेपछि ट्रेड (वा ननएकेडेमिक)मा जाने कि एकेडेमिकमा जाने उनीहरुले तय गरिसकेका हुन्छन्। कक्षा ११ मा नै उनीहरुको रुचि तय गर्न लगाइन्छ। फोर्स नै गरिन्छ। मैले शिक्षण गरेका गाउँतिर २० जनामा २ जनाले मात्र युनिभर्सिटी जाने भन्छन्, बाँकी ट्रेडतिर जान्छन्। कुनै काम सिक्छन्, काम गर्न थाल्छन् र कमाउन थाल्छन्। कमाउन थालेपछि उनीहरु परिवारभन्दा स्वतन्त्र हिसावले बस्न थाल्छन्। यो यहाँको आम प्रचलन हो।

विद्यार्थीलाई बढी नै स्वतन्त्रता दिएको आरोप लगाउने पनि धेरै छन्। के भन्नु हुन्छ?

नयाँ आप्रवासी अभिभावकले आफ्ना सन्तानहरुलाई पढ् कि पढ् भनेर कर गरेको पाइन्छ। सन्तानको रुचिका विषयमा खासै ध्यान दिएको देख्दिन म। यहाँ कक्षा ४ सम्म ‘न्युमेरेसी’ र ‘लिटरेसी’मा ध्यान दिइन्छ। विषयबस्तु केन्द्रित पढाई हुँदैन। तसर्थ, सानो कक्षाका विद्यार्थीलाई स्वतन्त्रता धेरै दिइयो भन्ने बुझाई गलत हो।

यहाँ पढाउने तरिका फरक हो। यहाँ समूहमा काम गर्न लगाइन्छ, एकआपसमा राम्रो सम्वन्ध बनाउन सिकाइन्छ। मिलेर काम गर्न सिकाइन्छ। कलिला वालवालिकालाई नेपालमा यस्ता कुरा सिकाइँदैन। त्यसकै प्रभाव होला, बयस्कहरुसँग असहमति प्रकट गर्ने तरिका थाहा छैन, फरक विचारलाई महत्व दिँदैनौ र ठूला पदमा बसेका मानिसहरु पनि असहमति प्रकट गर्दा कुर्सी हानाहान गर्छन्।

प्राथमिक कक्षामा सिकाएको कुरा र माविको विषयवस्तुबीच ठूलो खाडल छ भनिन्छ। त्यस्तै हो?

त्यो कुराचाहिँ मलाई पनि खड्किन्छ। क्यानाडामा ५ देखि ८ कक्षासम्मका विद्यार्थीलाई पढाएको ‘कन्टेन्ट’ कमी हो कि भन्ने लागेको छ। मैले काम गर्ने प्रोभिन्स सास्काचेवानमा कक्षा ९ सम्म नै एउटै शिक्षक हुन्छन्। ती शिक्षकहरु सबै विषयमा उत्तिकै पोख्त नहुन सक्छन्। आफू राम्रो भएको विषयमा उनीहरुले फोकस गर्छन्। अरु विषय ‘आउटकम हिट’ गर्ने गरी मात्र पढाउँछन्। यो कुरा नीतिगत कमजोरी हो।

त्यहि भएर माध्यमिक तहमा जाने विद्यार्थी शुरुमा अल्मलिन्छ। गाह्रो अनुभव गर्छन्। यही कारणले कक्षा ९ लाई ट्रान्जिसनल कक्षा मानेर हाइस्कुलको ग्रेडमा कक्षा १०, ११ र १२ लाइ मात्र गणना गरिन्छ।

नेपालमा शिक्षकको प्रतिष्ठा घट्दै गएको देखिन्छ। क्यानाडामा जस्तो प्रतिष्ठा कायमै राख्न के गर्नुपर्छ?

यसका लागि पहिलो नम्बरमा परीक्षा प्रणाली नै खारेज गर्नु पर्छ। पढाउँछ एउटाले, प्रश्नपत्र बनाउँछ अर्कैले, उत्तर पुस्तिका परीक्षण गर्छ अर्कैले। तर, क्यानाडामा ती सबै काम कक्षा शिक्षकले गर्छन्। शिक्षकलाई ‘आउटकम’ दिइएको हुन्छ। के पढाउँदा त्यो पूरा हुन्छ शिक्षकले नै निर्णय गर्छन्। उसले पढाउँछ, प्रश्नपत्र बनाउँछ र नम्बर पनि दिन्छ। आफ्नो कक्षाका विद्यार्थीबारे शिक्षकले बाहेक अरुले जान्ने कुरै हुँदैन।

तपाईंले शिक्षकको भूमिका बढाउनु पर्छ भन्ने कुरा गर्नु भयो। नेपालमा परीक्षाको मर्यादा कायम रहला त?

शिक्षण पेशा ‘रेगुलेटेड’ हुनुपर्छ। नियमविपरीत छिसिक्क दायाँबायाँ गर्नेलाई कारबाही गर्नुपर्छ। गल्ती गर्नेविरुद्ध सजिलै उजुरी दिन पाउने व्यवस्था गर्नुपर्छ। उजुरी परेको खण्डमा छानबिन हुने र लाइसेन्स नै खारेजसम्मको व्यवस्था गर्नु पर्छ। क्यानाडामा जस्तै नेपालमा पनि शिक्षकलाई राम्रो तलब दिनुपर्छ। राम्रो तलव सुविधा पाएपछि राम्रा मानिसहरु पेशाप्रति आकर्षित हुन्छन्। अनि, कक्षा कोठाको पूर्ण जिम्मेवारी पनि शिक्षकलाई दिनु पर्छ। पुरै जिम्मेवारी पाएपछि शिक्षक वाध्य भएर आफ्नो कर्तव्यमा लाग्छन्। अर्को कुरा, शिक्षण लाइसेन्स दिँदा गुणस्तर कायम राख्न कडाई गर्नुपर्छ। अनि युनिभर्सिटीदेखि नै विद्यार्थीले आफुलाई राम्ररी तयारी गर्न थाल्छन्।

कति भयो भने एउटा शिक्षकको तलब मर्यादित हुन्छ?

क्यानाडामा एउटा प्रख्यात वकिल र डाक्टर बाहेक अरु प्रायः पेशाकर्मी र शिक्षकको तलब उस्तैउस्तै हुन्छ। एउटा इञ्जिनियर होस् वा स्नातक गरेर कुनै सरकारी अधिकृतका तलबमान उस्तै हो। क्यानाडामा जस्तै नेपालमा पनि शिक्षकलाई राम्रो तलब दिनुपर्छ। राम्रो तलव सुविधा पाएपछि राम्रा मानिसहरु पेशाप्रति आकर्षित हुन्छन्। वर्षायाममा दुई महिना छुट्टी हुने भएकाले क्यानाडामा शिक्षकले १० महिनामात्र काम गर्छन्। अरुले १२ महिना नै काम गरेको कारण उनीहरु तलब थोरै बढी देखिएको मात्र हो। तर, अनुभव बढ्दै गएपछि तलब पनि बढ्दै जान्छ।

क्यानाडामा कोही शिक्षक बन्न चाहे के गर्नुपर्छ?

सबैभन्दा पहिला युनिभर्सिटीको शिक्षा विभागको एजुकेनलन सल्लाहकारसँग भेट्नुस्। उनीहरुले मार्ग निर्देशन गर्छन्। आवेदनपछि कागजात माग्छन्। शिक्षण लाइसेन्स प्राथमिक वा माध्यमिक तहको लागि हो त्यो प्रष्ट पार्नुपर्छ। मावि तहका लागि कुन विषयको लाइसेन्सका लागि आवेदन गरेको हो त्यो खुलाएपछि सो विषयका प्रमाणपत्र माग्छन्। त्यसपछि तालिमका लागि पठाउँछन्।

यो भन्दा अर्को पनि तरिका छ। सिधै सम्बन्धित प्रोभिन्सको शिक्षा मन्त्रालयमा आवेदन दिने। त्यहाँ आवेदनको अध्ययनपछि कागजात नपुगेको अवस्थामा पुर्याउन भन्छन् र नियामक निकायमा पठाउँछन्। कागजात नपुगेको अवस्थामा उनीहरुले पनि पुर्याउन भन्छन्। र, फलानो युनिभर्सिटीमा सम्पर्क गर्नु भन्छन्। पहिला जहाँ गए पनि शिक्षक तालिम लिने ठाउँ विश्वविद्यालय नै हो। अंग्रेजी भाषाको राम्रो ज्ञान भने अनिवार्य सर्त हो।

हाइस्कुलका विद्यार्थीहरुलाई राजनीतिमा कत्तिको चासो हुन्छ?

उनीहरुले चासो मात्र हैन व्यावहारिक ज्ञान नै लिएका हुन्छन्। भोटिङ नै गर्छन्। यो सबै कुरा समाजिक विषय शिक्षकको जिम्मामा हुन्छ। क्यानाडाका प्रमुख पार्टीहरु के के हुन्?  उनीहरुको आइडियोलोजी के हो? नेता को को हुन्? आदि बारे कक्षा कोठामा नै जानेका हुन्छन्। कक्षा कोठामा शारीरिक वा मानसिक समस्या भएका विद्यार्थी पनि हुन्छन्, उनीहरुलाई पनि समेट्नु पर्छ। त्यसले गर्दा पनि कन्टेन्टमा फोकस गर्न गाह्रो भएको हो। विद्यार्थीहरुको अलग-अलग समुह बनाएर उनीहरुलाई एउटा एउटा राजनीतिक पार्टी रोज्न लगाइन्छ। चुनाव हुँदैछ, आफ्नो पार्टीका एजेण्डाका बारेमा प्रेजेन्टेसन गर र मतदातासँग भोट माग भनिन्छ। उनीहरुका सम्भावित भोटरहरु सोही विद्यालयका विद्यार्थीहरु हुन्छन्। मतदानमा सिंगो स्कुलले भाग लिन्छ। उनीहरुले आफ्नो छनोटको नेतालाई भोट गर्छन्। विद्यार्थीलाई आफ्नो अधिकार र कर्तव्य के हो भन्ने कुरा थाहा हुन्छ।

नेपालको शिक्षा प्रणालीका राम्रा पक्ष के छन्, जुन क्यानाडामा लागू गर्दा राम्रो हुन्छ?

क्यानाडामा ‘कन्टेन्ट टिचिङ’ हाइस्कुलदेखि मात्रै शुरु हुन्छ। तर, कक्षा ६ देखि ८ कक्षामा पनि कन्टेन्ट टिचिङ गराउँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ। जस्तो कन्टेन्ट टिचिङ भएका कारण नेपालका ६ देखि ८ कक्षाका विद्यार्थीले क्यानाडाका विद्यार्थीलाई गणित, विज्ञान जस्ता विषयमा सजिलै जित्छन्। यस विषयमा मैले धेरै पटकपटक आवाज पनि उठाएको छु।

बुझ्नु पर्ने कुरा के हो भने, क्यानाडाका कक्षा ‘इन्क्लुसिभ’ हुन्छ। जान्ने विद्यार्थीलाई मात्र हैन, कमजोर विद्यार्थीलाई पनि उत्तिकै ध्यान दिएर क्रियाकलापमा सहभागी गराउनु पर्छ। उनीहरु सबैलाई मिल्ने क्रियाकलाप तयार पार्नु पर्छ। कक्षा कोठामा शारीरिक वा मानसिक समस्या भएका विद्यार्थी पनि हुन्छन्, उनीहरुलाई पनि समेट्नु पर्छ। त्यसले गर्दा पनि कन्टेन्टमा फोकस गर्न गाह्रो भएको हो।

(यो अन्तरवार्ता हामिले नेपालटचवाट लिएका हौ ।)

प्रतिक्रिया

सम्बन्धित खवर