एजेन्सी,

अफगानिस्तानमा अस्ट्रेलियाका विशेष सैन्य बलका सैनिकहरूले गरेको युद्धअपराधका विषयमा भएको ब्रेरेटन छानबिनको प्रतिवेदन सार्वजनिक भएपछि मानवअधिकारकर्मीहरू स्तब्ध तथा आक्रोशित भएका छन् ।

बिहीवार छानबिन समितिको प्रतिवेदन बाहिर आएपछि अस्ट्रेलियाको चौतर्फी आलोचना भइरहेको छ । पूर्वप्रधानमन्त्री केभिन रडले सैनिकहरूको व्यवहार देखेर घृणा लागेको बर्ता । पूर्व रक्षामन्त्री डेभिड हर्लीले यी अक्षम्य ज्यादतीहरू भएको बताए ।

मेजर जनरल जस्टिस पल ब्रेरेटनले सन् २००५ देखि २०१६ सम्म अफगानिस्तानमा विशेष बलहरूले देखाएको व्यवहारका विषयमा विगत चार वर्षदेखि समीक्षा गर्ने समितिको नेतृत्व गरेका थिए । पच्चीसजना पीडकहरूले ३९ जना अफगानी नागरिकको गैरकानूनी हत्या गरेको प्रमाण फेला परेको छ । तीमध्ये अधिकांश बन्दी थिए र कोही पनि युद्धका क्रममा मारिएका थिएनन् ।

ती हत्याहरू गश्ती कमान्डरको आदेशमा गरिएको प्रमाण पनि फेला परेको छ । जवान सैनिकहरूलाई कैदीको हत्या गरेर काम थाल्न उनीहरूले आदेश दिएको पाइएको छ । पीडितहरू कोही पनि लडाकू थिएनन् र विशेष सैन्य बलका सैनिकहरूको उद्देश्य स्पष्ट थियो, प्रतिवेदनमा लेखिएको छ ।

यसअघि सैन्य समाजशास्त्री समान्था क्रोम्पभोट्सले खुलासा गरेअनुसार, दुईजना अफगान किशोरलाई स्पेसल एयर सर्भिसका सैनिकहरूले घाँटी रेटेर हत्या गरेका थिए अनि कसले सबभन्दा बढी मान्छे मार्ने भनी प्रतिस्पर्धा गरेका थिए । गाउँमा हेलिकप्टर पुग्दा भाग्ने गाउँलेहरूलाई जथाभावी गोली हानेर मार्ने काम पनि गरिएको थियो ।

अफगानिस्तान मानवअधिकार तथा लोकतन्त्र संगठनका कार्यकारी निर्देशक हादी मारिफातले ब्रेरेटनका खुलासाहरूको सूचना पीडित परिवारलाई दिने तयारी भइरहेको बताए ।

‘हामी अस्ट्रेलिया र अस्ट्रेलियाली सशस्त्र बलबाट राम्रो व्यवहारको अपेक्षा गरिरहेका थियौं,’ उनले भने । ‘म स्पष्ट हुन्छु, अस्ट्रेलिया र अस्ट्रेलियाली बलप्रति अफगानीहरूको धारणा सकारात्मक छ किनकि उनीहरूले हाम्रा लागि थुप्रा राम्रो काम गरेका छन् ।’

अस्ट्रेलियाका रक्षा बलप्रमुख एंगस क्याम्पबेलले पीडित र तिनका परिवारसँग बिहीवार माफी मागे । क्षतिपूर्ति दिनका लागि संयन्त्र बनाइरहेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर