२७ साउन २०७७
गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पा रुन्टीगढी गाउँपालिका-७ घर भएका ४५ वर्षीय कृष्ण बहादुर बोहोराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका(१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका-७ घर भएकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले पक्राउ गरेको छ ।


उनलाई महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
टोखा नगरपालिका(१० गोंगबु नवज्योती मार्गमा आइतबार बिहान सुटकेशभित्र टाउको बिनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरलाई तत्कालै परिचालन गरी खोजी गर्ने क्रममा सोही ठाउँस्थित ३ सय मिटर टाढा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उक्त घटनामा संलग्न कल्पनालाई चितवन कालिका नगरपालिका ९ शक्तिखोरस्थित माइतिघरबाट पक्राउ गरेको हो ।
घटनास्थलबाट धारिलो हतियार, ह्रयामर, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडाहरु, स्लिपीङ ट्याब्लेटको खोल र मोबाइल सेटहरु प्रहरीले बरामद गरेको छ ।

अनुसन्धानको क्रममा मृतक बोहोरा विगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएको, मृतक र अभियुक्त कल्पनाबीच करिब ४ वर्षदेखि फेसबुक मार्फत चिनचान भई सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको वताईएको छ ।
मृतकले कल्पनाको फोटो राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफू अनुकूल चलाउनको लागि दबाब दिने गरेको, मृतक घटनाको दिन होटेलबाट बा.७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा आएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकोमा दहीमा ५ वटा निन्द्राको औषधि समेत मिसाई दिएको उक्त खानेकुरा खाएपछि कृष्ण बहादुर लठ्ठ परी सुतेको मौकामा फलामको ह्रयामरले प्रहार गरेको, सलले घाँटी कसेको र मरेको यकीन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई झोलामा राखेर उक्त स्थानहरुमा आँफैले फालेको खुल्न आएको छ ।
हत्या पश्चात बिरामी लिएर काठमाडौं आई चितवनतर्फ फर्कन लागेको एम्बुलेन्समा आइतबार बेलुका कल्पना चितवनतर्फ गएको खुल्न आएको छ । साथै कृष्ण बहादुरको शव व्यवस्थापनमा संलग्न रहेको खुल्न आएपछि उनकै १५ वर्षीया छोरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको उक्त अवसरमा जानकारी दिइयो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर