१७ भाद्र २०७७, बुधवार

एनआरएनले नेपालको मौलिक सम्पदाको संरक्षणको क्षेत्रमा योगदान गर्ने चासो देखाएको छ ।

संस्थाको नेपाली भाषा, साहित्य, संस्कृति तथा संरक्षण प्रवर्द्धन समितिमार्फत् एनआरएनले नेपालको मौलिक सम्पदा संरक्षणमा क्रियाशील संरक्षणविद् रबिन्द्र पुरीसंग अन्तरक्रिया गरी यस्तो चासो देखाएको हो ।

समितिको साप्ताहिक अनलाइन कार्यक्रम ’प्रवासी प्रवाह’ को आइतवारको १६ औं शृंखलामा संरक्षणविद् पुरीसंग संरक्षण सम्बर्द्धन र प्रवर्द्धनको क्षेत्रमा उनले गरेको योगदान र एनआरएनले खेल्नुपर्ने भूमिकाका बारे चर्चा गरिएको थियो । १५ औं शृंखलासम्म भाषा, साहित्यमा बढी केन्द्रीत रहेको प्रवासी प्रवाहको आइतवारको शृंखला सम्पदा विशेषमा केन्द्रीत रहेको थियो ।

समितिका अध्यक्ष हिक्मत थापाका अनुसार कार्यक्रममा एनआरएनले के कसरी मातृभूमिको मौलिक सम्पदा संरक्षणमा योगदान गर्न सक्छ भन्ने बारे पुरीसंगको अन्तरक्रिया केन्द्रीत थियो । पुरी विगत दुई दशकभन्दा पहिलेदेखि सम्पदा संरक्षणको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेका छन्।

एउटा पागलको सपनामा सम्पदा संरक्षण
जुन बेला रबिन्द्र पुरी जर्मन प्राविधिक सहयोग संस्था जीटीजेडको छँदाखाँदाको आकर्षक जागिर छाडेर भत्कन लागेको भक्तपुरको एक पुरानो घर,जहाँ कुखुरापालन गरिएको थियो,त्यसलाई संरक्षण गर्नुपर्छ र भत्कन दिनु हुँदैन भन्दै सम्पदा संरक्षणका लागि आफुलाई समर्पित गरेर लागिपरे । त्यो बेला उनलाई चिनेजानेका कतिपयले रबिन्द्र पागल भएछ भन्थे ।

उनले त्यो आलोचनाको कुनै परवाह गरेनन् बरु त्यसलाई पनि सकारात्मक रुपमा ग्रहण गरे र पागल नै सही तर मौलिक सम्पदा संरक्षणका लागि म आफूलाई समर्पित गरिरहन्छु भन्दै अघि बढे । ऐतिहासिक र सयौं वर्ष पुराना मौलिक कलाकृति र वास्तुकलाले सज्जित घरहरु भत्कन लागेको, विनाश हुन लागेको देख्दा त्यसलाई उनले मैले यसको संरक्षण गर्न पहल गर्नुपर्छ भन्ने निर्क्यौल गरे र त्यही विनाश देख्न नसकेर उनी यो अभियानमा जोडिए । जसले पागल रबिन्द्रको परिचय दूई दशकभन्दा लामो अवधिपछि आज एक संरक्षणविदको रुपमा परिवर्तन गरिदिएको छ र उनलाई पागल भन्नेहरु पनि उनको सम्मान गर्न थालेका छन् ।

यो बीचमा उनले बन्दीपुर, भक्तपुरलगायतका कैयौं स्थानमा मौलिक सम्पदा संरक्षणको क्षेत्रमा काम गरिसकेका छन् भने कतिपय जिल्लामा विद्यालय भवन पनि सोही अनुसार निर्माण गरेका छन् । उनको योजना छ मुलुकका ७७ वटै जिल्लामा मौलिक सम्पदा संरक्षण गर्ने गरी एक एकवटा विद्यालय वा सामुदायिक भवन निर्माण गर्ने । यसैगरी पुरानो शहर पनौतीलाई संरक्षण सम्बर्द्धनको नमुना शहरको रुपमा विकास गर्ने । उनले आफ्ना योजनाहरु र आफूले गरेका कार्यहरुको झलकसहितको छोटो भिडियो प्रस्तुती पनि कार्यक्रममा देखाएका थिए ।

सम्पदाको विषयमा एनआरएनले गरेको यो पहिलो कार्यक्रम भएको एनआरएनका पूर्व कोषाध्यक्ष समेत रहेका एनआरएन नेपाली भाषा, साहित्य, संस्कृति तथा संरक्षण प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।  कार्यक्रम समितिकी सदस्य सचिव भगवती बस्नेत र समितिका मिडिया कोअर्डिनेटर गौतम दाहालले संयुक्त रुपमा संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर