कोरोना भाइरस (कोभिड–१९) को अनुसन्धान र अन्वेषण गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को १० सदस्यीय टोली बिहीबार चीनको

वुहान सहर पुगेको छ । वुहानबाटै कोरोना भाइरस संसारभरि फैलिएको मानिँदै आएको छ । वुहानको विभिन्न स्थान तथा ल्याबमा

डब्लुएचओले आफ्नो अनुसन्धान कार्य थालनी गर्ने बिबिसीले जनाएको छ ।

डब्लुएचओको टोली वुहान प्रवेश पाउन लामै प्रतीक्षा गर्नुपर्‍यो । चीन सरकारसँग एक महिनासम्मको वार्तापछि डब्लुएचओले अनुसन्धान

गर्न अनुमति पाएको हो । टोलीमा रहेका १० जना सदस्य डब्लुएचओका अनुभवी वैज्ञानिक मानिएका छन् । तत्कालै उनीहरूले वुहानमा

आफ्नो काम अगाडि बढाउन मिल्दैन ।

वुहान प्रशासनले विदेशबाट आएका व्यक्तिलाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । त्यसपछि

उनीहरूको पिसिआर परीक्षण हुन्छ । रिपोर्ट नेगेटिभ आएपछि मात्र टोलीले अनुसन्धान गर्नेछ । डब्लुएचओको टोलीलाई चिनियाँ

अधिकारीहरूले कोभिड–१९ सँग सम्बन्धित प्रमाण तथा नमुना उपलब्ध गराउने विश्वास छ ।

टोली नेता वेन इम्बारेकले एपिएफ समाचार संस्थासँग कुराकानी गर्दै लामो यात्रापछि वुहानमा पाइला टेक्न अवसर पाएको बताएका

छन् । ‘कोरोनाको उद्गमथलोमा आउन धेरै मिहिनेत तथा वार्ता गर्नुपरेको थियो, यसकारण हामीले यसलाई लामो यात्राका रूपमा लिएका

छौँ,’ डब्लुएचओका सिनियर वैज्ञानिकसमेत रहेका वेनले भने, ‘हेरौँ अब यहाँ कस्तो काम हुनेछ ।’

वेनले तत्कालै केही उत्तर पाउन नसकिने स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘मलाई लाग्दैन कि हामीले तत्कालै एक वर्षदेखि खोजी गरेको

प्रश्नका उत्तर पाउँछौँ । हामी एउटा अनुसन्धानको बाटोमा हिँडिरहेका छौँ, त्यही बाटोबाटै रहस्यमयी बनेको कोरोना भाइरसको समाधान

निस्किनेछ ।’

गत महिना डब्लुएचओले वुहानमा कोभिडको अनुसन्धान गर्ने अनुमति माग्दा चीनले त्यसलाई स्वीकृति दिएको थिएन । त्यसवेला

डब्लुएचओका दुई सदस्यलाई वुहानबाट फर्काइएको थियो । दुईमध्ये एकजनालाई ट्रान्जिटमा चिनियाँ अधिकारीले समस्यामा पारेका

थिए ।

बेइजिङले सुरक्षा अधिकारी र अनुसन्धानकर्ताबीच असमझदारी भएका कारण समस्या आएको बताएको छ । बिहीबार वुहान पुगेको

टोलीले बजार, अस्पताल तथा ल्याबमा क्रमिक रूपमा अनुसन्धान गर्नेछ । यद्यपि चीनको दक्षिण प्रान्तमा नयाँ भाइरस देखिए पनि

डब्लुएचओले त्यसलाई पछि मात्र अध्ययन गर्ने बताइएको छ । डब्लुएचओका टोलीनेता वेनले प्रारम्भिक चरणमा जनावरबाट कार्य सुरु

गर्ने जनाएका छन् । कोभिड भाइरस जनावरबाट सरेको मानिएको छ ।

चीनले एक वर्षदेखि नै भाइरस आफ्नो देशबाट नफैलेको दाबी गरिरहेको छ । तर, अन्य देशले विश्वव्यापी भाइरसको पहिचान चीनले

गराएको दाबी गरेका छन् । वुहानबाट नभएर पश्चिमेली राष्ट्रबाटै कोरोना भाइरस २०१९ को डिसेम्बरमै देखिएको चिनियाँ अधिकारीले

दाबी गर्दै आइरहेका छन् । तर, अमेरिका तथा युरोपले भने वुहानमै कोरोना भाइरसको पहिलो केस देखिएको मान्छन् ।

डब्लुएचओको टोली वुहानमै रहेका वेला बिहीबार चीनमा कोभिड संक्रमितको संख्या बढेको छ । गत अगस्टपछि एकैदिन सयभन्दा बढी

संक्रमित चीनमा देखिएको यो नै पहिलोपटक हो । चीनको विभिन्न एक सय सात स्थानमा एक सय १५ व्यक्ति संक्रमित भएको

डब्लुएचओले जनाएको छ । हुवेई प्रान्तमा सर्वाधिक ९० जना संक्रमित भएका छन् । तर, चीनले परीक्षणको दायरा भने निकै बढाएकाले

संक्रमण फैलिन दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर