सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पूर्जी जारी भएका गितेन्द्रबाबु राई ( जीबी)सहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो ।
अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।
सुरुमा पक्राउ पुर्जी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।
प्रहरीले शूर्यदर्शन सहकारीका वचतकर्ताको रकम हिनामिनाका विषयमा लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले असोज १९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, फेरि जाहेरी परेकाले अभियोजन पेश गर्न लागिएको न्यायाधिवक्ता काफ्लेले बताइन् ।
अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सूर्यदर्शनबाट जीबी राइ समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निश्कर्ष छ ।
जीबी समूहले २०६५ सालमा पोखरामा खोलेको सूर्यदर्शन सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको प्रतिवेदनमा छ ।